काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।अध्यक्ष प्रचण्डले पार्टीले थप सफलता हासिल गर्न पनि आन्तरिक एकता थप सदृढ हुनुपर्ने पनि स्पष्ट पारेका हुन्। उनले भने, ‘कम्युनिस्ट पार्टीको बहुमत देख्न नसक्ने छन्।
तिललाई पहाड बनाएर सानो कुरालाई पनि भयंकर भयो भनेर प्रचार गरिन्छ। कसैले दया गरेर हामी यो ठाउँमा आएका होइनौँ। आगामी दिनमा आउने चुनौती पनि पार गर्न तयार छौँ।’ यसका लागि पार्टीको आन्तरिक एकता बलियो हुनुपर्ने प्रचण्डको भनाइ थियो।
नेकपाको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा बिहीबार उनले पार्टीको नीति र योजनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अभियानको रूपमा संचालन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरूले पार्टीभित्रको सानो कमजोरीलाई पनि उछालेर बदनाम गराउने कोसिस भइरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका थिए।
कार्यक्रममा बोल्दै पार्टीका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने खेल विश्वका प्रतिक्रियावादीहरूले गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नेगरी पार्टीको वैदेशिक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
मुलुकको राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता नै पार्टीको पनि वैदेशिक नीति तय गर्ने मुख्य आधार भएको पनि नेता नेपालको भनाई थियो।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरेर पार्टीलाई गतिशील ढंगले अघि बढाउन लागिएको बताएका थिए।