राजनिति

उपचार गरेर स्वदेश फर्केसँगै प्रधानमन्त्री सक्रिय

काठमाण्डौ  सिंंगापुरमा दुई साता लामो उपचारपछि शुक्रबार स्वदेश फर्किनु भएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि सक्रिय बन्नुभएको छ । स्वदेश फर्केकै दिन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुग्नुभएको थियो ।भेटमा सञ्चो बिसञ्चो मात्रै नभई सरकारको गतिविधि, समसामयिक राजनीतिक अवस्था लगायतकाबारेमा छलफल भयो । यस्तै पार्टी सचिवालय बैठकले गरेको निर्णयका विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । यसैगरी, पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा समेत दुवै अध्यक्षबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे दाहाललाई जानकारी पनि गराउनुभएको थियो । प्रधानमन्त्री ओली उपचार गर्न सिंंगापुर जानुअघि प्रचण्डलाई पार्टीको जिम्मेवारी दिनुभएको थियो ।सिंगापुरमा उपचाररत रहँदा पार्टी एकतापछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेर विभिन्न निर्णय गरिएको थियो । त्यस्तै आन्तरिक सर्कुलर पनि अध्यक्ष प्रचण्डको एकल हस्ताक्षरमा जारी भयो । यसअघि दुवै जनाको हस्ताक्षरमा मात्रै यस्तो सर्कुलर हुने गरेको थियो ।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर रहँदा यता प्रचण्डले दोस्रो पटक सचिवालय बैठक आह्वान गर्नुभयो । तर दोस्रो पटक अध्यक्षता गर्दै बैठक बसाल्ने अवसर प्रचण्डले पाउनुभएन । प्रधानमन्त्री ओली स्वदेश फर्केसँगै अब सरकारको काम र पार्टीको काम दुवैतिर सक्रिय बन्ने देखिएको छ । पूर्व एमालेसम्बद्ध केही नेताहरुसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न भन्दै पार्टीका महासचिव विष्णु पौडेल र प्रस्तावित उपाध्यक्ष वामदेव गौतम सिंगापुर नै पुग्नुभएको थियो । दुवैजना सँगै फर्कनुभएको छ ।प्रधानमन्त्री ओलीको आह्वानमा आइतबार मन्त्रिपरिषद् बैठक बसेको छ । अब प्रधानमन्त्रीले पार्टी सचिवालय बैठक डाक्ने तयारी पनि गर्नुभएको छ ।सिंंगापुरबाट उपचार गरी फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । स्वास्थ्य उपचार गर्न प्रधानमन्त्री ओली सिंगापुर गएपछि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन । तर प्रधानमन्त्री ओलीले टेलिप्रेजेन्समार्फत सिंगापुरबाटै दुई पटक मन्त्रिपरिषद्का सदस्यसँग छलफल गर्नुभएको थियो ।

नेकपाकै नेताहरु पनि सरकार र पार्टीको जिम्मेवारी फरक फरक व्यक्तिले चलाउनु पर्ने आवाज उठाउँदै आएका छन् । माधवकुमार नेपालले त एक व्यक्ति एक पदको व्यवस्था कार्यान्वयन गर्दै सरकार र पार्टी फरक व्यक्तिले चलाउनु पर्ने भन्दै सचिवालय बैठकमा प्रस्ताव नै गर्नुभएको थियो ।नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवाली पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउनुपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताउनुहुन्छ ।

नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरू भैसकेको पनि उहाँले बताउनुभयो । नेकपामा एक व्यक्ति एक पदको कुरा सुरुबाटै उठेको भए पनि अझैसम्म कार्यान्वयनमा भने आइसकेको छैन ।अर्का अध्यक्ष पुष्पकमल दाहालकै अध्यक्षतामा पार्टी बैठक बस्छ वा फेरि पनि प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीकै अध्यक्षतामा बैठक बस्छ त्यो भने आगामी सचिवालय बैठकपछि नै थाहा हुने छ । तर प्रधानमन्त्रीको सकृयता हेर्दा पार्टीको जिम्मेवारी अहिल्यै छोडिहाल्ने देखिँदैन ।

गएको भदौ ५ मा सिंगापुर गएका ओली दुई साता लामो उपचारपछि शुक्रबार स्वदेश फर्किनुभएको हो । मृगौलासम्बन्धी एन्टिबडीको उपचारका लागि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भएको थियो ।स्वदेश फर्केसँगै प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंंह शाहले प्रधानमन्त्री ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *