प्रमुख समाचार

दोहोरो सुविधा नदिने सरकारी निर्णय फिर्ता लिन सैनिक परिवारको माग

काठमाडौं सैनिक एकल महिला तथा घाईते परिवार संघले दोहोरो सेवा, सुविधा नदिने मन्त्रिपरिषद बैठकको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।संघकी संस्थापक अध्यक्ष लिली थापाले पीडामा परेका सैनिक एकल महिला र घाईते परिवारको हित विपरित मन्त्रिपरिषदबाट निर्णय भएको उल्लेख गर्दै त्यसलाई फिर्ता गर्न सरकारसँग माग गरेकी हुन् ।

आईतबारबाट काठमाडौंमा सुरु भएको संघको राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्दै उनले वीरगती प्राप्त गरेका सैनिकहरुको वीरगाथालाई समेटेर म्युजियम स्थापना गर्न नेपाली सेनाको पनि गम्भीर ध्यानाकर्षण गराइन् । नेपाली सेनाले द्वन्द्वकालमा भोगेका संघर्षहरुको गाथा पनि म्युजियममा राख्न सके नेपाल सरकार र नेपाली सेनाको समेत गौरवको विषय हुने संघको भनाई छ ।संस्थापक अध्यक्ष थापाले नेपाली सेनाको ईज्जत, प्रतिष्ठामाथि आँच आउने गतिविधि संघबाट नहुने पनि पटकपटक दोहोर्‍याइन् ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले प्रक्रिया पुर्‍याएर राखेका कुनै पनि माग पूरा गर्न सरकार तत्पर रहेको बताएका छन् । उनले सैनिक एकल महिला तथा घाईते परिवारलाई सेवा, सुविधा थप गर्ने काममा नेपाल सरकार लागि परेको पनि स्मरण गराए ।उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनामा आबद्ध रहेका पीडितहरुको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । आवश्यक परे मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर कार्यान्वयनमा लैजाने दृढता पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *