प्रमुख समाचार

अब दुई लाखभन्दा माथिको भुक्तानी तत्कालै पाइने

राष्ट्र बैंकले एकाउन्ट पेयी चेकको रकम खातामा जम्मा हुन ९ देखि १२ घन्टा लाग्ने झन्झटिलो प्रक्रिया अन्त्य गर्दै तुरुन्तै पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले भदौ २५ देखि कार्यान्वयनमा ल्याउने रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस, कारोबार भएको वास्तविक समयमै भुक्तानी हुने प्रणालीअन्तर्गत तुरुन्तै रकम पाइने व्यवस्था गर्न लागेको हो ।

यो प्रणाली कार्यान्वयनमा आएपछि अब कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक काट्नुपर्नेछैन । राष्ट्र बैंकको निर्देशनअनुसार बनाइएको एउटा फाराम भर्नुपर्नेछ । उक्त फाराम चेकको विकल्प हुनेछ । उक्त फाराम बैंकका प्रस्तुत गर्नेबित्तिकै सम्बन्धित खातावालाको नाममा तुरुन्तै जम्मा हुनेछ । त्यस्तो फाराम सम्बन्धित भुक्तानीकर्ताले आफ्नै कार्यालयमा भरेर प्राप्त कर्तालाई समेत दिन सक्नेछ ।

यो प्रणाली २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा मात्र लागू हुनेछ । त्यसभन्दा तलको रकमका लागि भने एकाउन्टे पेयी चेक नै जारी गर्नुपर्नेछ । एकाउन्ट पेयी चेकमार्फत कारोबार गर्दा केही झन्झटिलो मानिन्छ । चेक पाउने व्यक्तिले बैंकमा उक्त चेक बुझाएको ९ देखि १२ घन्टापछि मात्र खातामा रकम पाउनेछन् । एकाउन्टे पेयी चेकको राफसाफ नेपाल क्लियरिङ हाउस एनसिएचएल ले गर्दै आएको छ ।

‘हामीले पहिलो चरणमा वाणिज्य बैंकहरूमार्फत रियल टाइम सेटलमेन्ट गराउँदै छौँ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी विभागका प्रमुख बमबहादुर मिश्रले भने, ‘यो प्रविधिले मुद्राको गति भेलोसिटी अफ मनीअझ चलायमान हुनेछ, चेक जारी गर्ने खर्च घट्नेछ ।’

२० लाखभन्दा माथि एकाउन्ट पेयी चेक जारी गर्न नपाइने
राष्ट्र बैंकले २० लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक जारी गर्नै नपाइने व्यवस्थासमेत गर्न लागेको छ । यस्तो कारोबार आरटिजिएस प्रणालीमार्फत नै हुनुपर्ने व्यवस्था गरिँदै छ । तर, कार्यान्वयन मिति भने तोकिसकेको छैन ।

त्रिपक्षीय निकाय संलग्न हुने
एकाउन्ट पेयी चेकको फस्र्योट गर्दा एनसिएचएलसहित भुक्तानी दिनेको खाता भएको बैंक र भुक्तानी लिनेको खाता भएको बैंकको मात्र सहभागिता हुँदै आएको छ ।

अब भने आरटिजिएस लागू गराउने राष्ट्र बैंकको भुक्तानी विभाग पनि सहभागी हुनेछ । राष्ट्र बैंकमै यसको प्रणाली स्थापना गरिएको छ । पहिलो चरणमा वाणिज्य बैंकमा मात्र यो प्रणाली लागू गरिनेछ । विकास बैंक र वित्त कम्पनीले वाणिज्य बैंकमार्फत यस्तो कारोबार गर्न सक्नेछन् । हाल आरटिएस प्रक्रियाबाट रकम भुक्तानी गर्दा कागजी प्रक्रिया (म्यानुअल) नै अपनाउनुपर्ने भए पनि भविष्यमा अनलाइन कारोबार गर्न सकिने व्यवस्थासमेत हुने राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

२७ बैंक सहभागी
२८ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकबाहेक यो प्रणालीमा अन्य सबै सहभागी हुनेछन् । राष्ट्रिय वाणिज्य बैंकसमेत केही दिनमा सहभागी हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । हाल कतिपय बैंकले यो प्रणालीमा प्रत्यक्ष सामेल (स्ट्रेट थ्रु प्रोसेसिङमार्फत) नभई बेभ सर्भिसमार्फत म्यानुअली काम गर्ने भए पनि पुसबाट सबैले प्रत्यक्ष सामेल हुनुपर्ने व्यवस्था गरिएको छ ।

आरटिएसमार्फत वास्तविक समय (तत्कालै) मै रकम भुक्तानी हुने भएकाले बैंकलाई रकम अभाव हुन नदिन राष्ट्र बैंकले तरलता सुविधासमेत दिने भएको छ । बैंकले वैधानिक तरलता अनुपात कायम गर्न राख्ने रकमको २५ प्रतिशत सम्बन्धित बैंकलाई उपलब्ध गराउनेछ ।

तर, बैंकहरूले राष्ट्र बैंकमा अनिवार्य राख्नुपर्ने रकम (अनिवार्य नगद मौज्दात) घटाएर बाँकी हुने रकमका आधारमा बैंकले तरलता सुविधा पाउनेछन् । वैधानिक तरलता अनुपातका रूपमा वाणिज्य बैंकहरूले कुल निक्षेपको १० प्रतिशत रकम राखेका हुन्छन् । यस्तो रकममा राष्ट्र बैंक अनिवार्य राख्नुपर्ने रकम (अनिवार्य नगद मौज्दात) सहित विभिन्न ऋणपत्र खरिद गरेर कायम गरिएको हुन्छ ।

एउटा राफसाफको २० रुपैयाँसम्म
आरटिएस प्रणालीबाट भुक्तानी राफसाफ गर्दा समयअनुसार शुल्क तिर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले हालको कार्यालय समयलाई तीन भागमा बाँडेर शुल्क निर्धारण गरेको छ । बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म प्रतिकरोबार १० रुपैयाँ लाग्नेछ । त्यस्तै, साढे २ बजेसम्मको कारोबारको २० रुपैयाँ लाग्नेछ । त्यसपछि कारोबार राफसाफ हुनेछैन । यो समयमा अन्तर बैंक हिसाब मिलान हुनेछ । यसका लागि बैंकले प्रतिकारोबार १ सय रुपैयाँ तिर्नुपर्नेछ । एनसिएचएलमार्पmत हुने हरेक दिनको कारोबारको राफसाफसमेत सोही दिनको अन्त्यमा आरटिजिएस प्रणालीबाटै हुनुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *