मनोरंजन

‘बिरामीको सेवा गर्दा पाइने आशिर्वाद पैसाभन्दा धेरै ठूलो छ’

पोडियमबाट उद्घोषकले नाम घोषणा गरे, ‘यो वर्षको उत्कृष्ट चिकित्सकको अवार्ड जित्नुभएको छ, गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्या।हल तालीमा गुन्जियो।दर्शक दीर्घाबाट उठेर स्टेजमा जाँदै गर्दा मन खुशीले विशाल भयो। जति पाइला लम्कँदै गए, उति मनमा कुरा खेल्न थाले, कामको ‘रिकल’ हुन थाल्यो र सोच्न बाध्य बनायो, ‘मैले सम्मान नै पाउने काम गरेँ त?’

स्कूल कलेजमा प्राप्त अतिरिक्त क्रियाकलापमा प्राप्त गरेभन्दा फरक थियो यो। त्यतिबेला अवार्ड अथवा पुरस्कार पाउँदा सीमित सर्कलमा चर्चा हुन्थ्यो। अहिले देशविदेशमा खबर पुग्छ। काममा अझै गम्भीर बनाउँछ। सामाजिक सञ्जालले परिधिलाई असीमित बनाइदिएको छ।

मञ्चमा तालीको गडगडाहटबीच अवार्ड थाप्दा डा. उत्तम पच्याको टाउको गह्रौँ भयो, ‘जिम्मेवारी बढेको अनुभव भयो। तर खुशी थिए, मेरो काम एउटा पत्रिकाले भए पनि चिनेछ।’ यस्तो कामले प्रोत्साहन थप्छ पनि।पच्याले २०७५ साउन १४ गते नेपाल सरकारको स्थायी जागिरको नियुक्ति पाए। भदौ ४ बाट काम सुरु गरे गुल्मी अस्पतालमा। त्यहाँ उनको काम चिकित्सकले गर्ने मात्र थिएन, व्यवस्थापन सम्हाल्ने पनि थियो। ‘मैले अस्पतालमा म्यानेजरको पनि काम गरे, त्यही भएर यो अवस्था आइपुग्यो होला।’

स्थायी नियुक्ति लिएपछि उनले अपस्तालको अवस्था केलाए, के के सुविधा छन्, के–के थप्न सकिन्छ भन्ने कामले पहिलो प्राथमिकतामा पर्‍यो। भएका सेवाहरुलाई प्रभावकारी कसरी बनाउने योजना गर्दा पुरानो राम्रो कामहरुमध्ये १५ वटा कार्यक्रमलाई निरन्तरता दिने र १२ वटा नयाँ स्वास्थ्य कार्यक्रम ल्याउने निर्णय भयो। थाइराइड जाँच गर्ने, फार्मेसी सेवालाई २४ घण्टा खुल्ला गर्ने, सामाजिक सुरक्षाको व्यवस्था लगायतका सेवाहरु सुचारु छन्।

यहाँ लक्षित समूहलाई ५० प्रतिशतसम्म राहतको व्यवस्था छ। चिकित्सकलाई आवासको व्यवस्था अनि पोस्टमार्टम वार्डमा लाश व्यवस्थापन गर्न अनुदानसहित दुई तले भवन निर्माण भयो। प्रदेश सरकारले पनि उनको टोलीको यो प्रयासलाई आत्मसाथ गरेको छ। त्यही भएर डिजिटल एक्सरे मेसिन ल्याउन सके।

त्यहाँका फाँट प्रमुख र व्यवस्थापन समितिले पनि उनलाई साथ दिए। एक वर्षमा नै अस्पतालमा उल्लेखनीय परिवर्तनहरु आए। यहाँ भिजन उनको थियो, सहयोग सबैको। पाटन अस्पतालसँगको सहकार्यमा विद्यार्थीलाई प्रयोगात्मक शिक्षा पनि प्रदान गर्न थालिएको हुनाले अस्पताल ‘ग्रामीण शिक्षण अस्पताल’ को रुपमा परिचित भइरहेको छ।पच्यालाई काम गर्न सबैले हौसाए, साथ दिए। सबैभन्दा ठूलो फाइदा उनको लागि उनी ‘स्थानीय हुनु’ भयो। संघसस्थासँगै नागरिकले पनि साथ दिए र सहयोग गरे। जे जे पच्याले आँटे, त्यसमा हातेमालो हुँदै गयो।

‘सबैभन्दा ठूलो कुरा सेल्फ मोटिभेट हुन जरुरी छ। इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ, काम गर्न सकियो भने त्यहाँको जनसमुदायको मनमा ठाउँ बनाउन सकिन्छ। त्यसले सहयोग गर्छ।’ पच्या अनुभव सुनाउँछन्। भन्नुको मतलब काम गर्न सजिलो वातावरण थियो भन्ने होइन्, ‘पस्केर राखेको भात खाएजस्तो।’ पच्या भन्छन्, ‘कहाँ गल्ती गर्छ भनेर अवलोकन गरिरहेका हुन्छन्। त्यतिबेला म राम्रो काम गरेर देखाउँछु भन्ने अठोट लिनुपर्छ। म यसलाई सकारात्मक रुपमा लिन्छु। समस्या आफैँ ओझेलमा पर्छन्।’

उनी अलि भिन्न छन्, काम गर्न उनलाई गाउँ नै मन पर्छ। सन् २००७ सालमा ग्य्राजुयट भएका पच्या कामको लागि मुस्किलले एक वर्ष मात्र काठमाडौँ बसे होलान्, ‘अरु पनि गाउँमा गएर काम गर्नुुहुन्छ, एमबिबिएसपछि गाउँमा दुई वर्ष काम गरे एमडी पढ्न पाइन्छ।’ तर पच्या गाउँमा हुर्किएका डाक्टर, काम गर्न पनि गाउँ नै रोजे। ‘मेरो आफ्नो इच्छा नै गाउँमा गएर काम गर्ने रह्यो। यसरी काम गर्दा देशको नाडी पनि छाम्न पाइयो।’गाउँमा काम गर्‍यो भने धेरै आशिर्वाद पनि पाइन्छ,’ उनी आफूलाई लोभी भन्छन्, ‘एमडी पछि डाक्टरलाई कहाँ बसेर काम गर्ने भन्ने छुट छ, लगानी गरेर पढेको हुन्छ। आफ्नै वृद्धि विकास पनि आवश्यक छ। म पनि केही काम र अनुभव बटुलेर शहर फिर्छु होला तर अहिले आफ्नो जन्मस्थानको ऋण चुकाउँदै छु।’

भावनात्मक कारण देखाए पच्याले । जन्म दिएको ठाउँ, एउटा पहिचान दिलाएको हुनाले जन्मभूमिको भारा तिर्नै पर्‍यो। यहाँ सेवा गरेबापत पाइने आशिर्वाद पैसाभन्दा कयौँ गुणा ठूलो छ।फेरि उनी भयंकर सम्पन्न परिवारका भने होइनन्। निम्न मध्यम परिवारका जेठा छोरा हुन्। सामान्य परिवारमा हुर्केका उनले जनविकास प्रावि गुल्मीबाट कक्षा ५ सम्म अध्ययन गरेका हुन्। त्यसपछि अर्जुन आवासीय विद्यालयमा १० कक्षासम्म अध्ययन गरे। अनि अमृत साइन्स कलेजमा प्रविणता प्रमाणपत्र तह।

त्यसपछि उनले शिक्षण अस्पतालमा अध्ययनका लागि परीक्षा दिए तर सफल हुन सकेनन्। डाक्टर हुन्न कि क्या हो जस्तो लाग्यो र इन्जिनियर बन्ने सोचे। बायोलोजीको विद्यार्थी भए पनि गणित पढेका थिए, उनले इन्जिनियरिङ पढ्न पाउने थिए। तयारीमा एक वर्ष बित्यो। उता शिक्षा मन्त्रालयले प्रदान गरेको छात्रवृत्ति कार्यक्रममा नाम निस्किसकेछ। भैरहवाको कलेजमा चिकित्साशास्त्र पढ्न पाउँथे तर भदौतिर चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालमा नाम निस्कियो, सबै योजना परिवर्तन भए। ‘शिक्षण अस्पतालमा पढ्न पाउनु त सपना हुन्थ्यो, एक हिसाबले भाग्यमानी भएँ।’

पढाइपछि उनी धादिङको सामुदायिक अस्पतालमा काम गर्न थाले, दुई वर्ष उतै रमाए। काठमाडौँमा ७ महिनाजति काम गरिसकेपछि उनको मन यहाँ बसेन। त्यहि बेला विश्व स्वास्थ्य संगठनको ‘इम्युनाइजेसन प्रिभेन्टेबल डिजिज प्रोगाम’ आयो। उनले यस अन्तर्गत रही दादुरा, पोलियो, इन्सेफलाइटिस जस्ता रोगको बारेमा अनुसन्धान गर्ने मौका पाए। यो समयमा उनी सुर्खेत, दैलेख, कालिकोट, मुगु लगायतका ठाउँमा पुग्न पाए।

त्यसपछि निकसाइमन्स इन्सिच्यूटले खोपको माइक्रो प्रोजेक्टका लागि ११ जना छान्दा उनी पनि परे र ताप्लेजुङमा दुई वर्ष सेवाका लागि खटिए। त्यतिबेला ताप्लेजुङको गल्ली-गल्ली उनीसँग परिचित भयो। त्यहाँको स्वास्थ्य क्षेत्रमा उनले एक किसिमको व्यवस्था बसालिदिए। ससाना समस्याका शल्यक्रिया गर्न पनि आफ्नो जिल्ला छोड्नुपर्ने बाध्यता हट्यो।

त्यसपछि मात्र लोक सेवा आयोगको परीक्षामा नाम निस्किएपछि पच्या नियुक्ति लिएर गुल्मी गएका हुन्। यति बीचमा उनको एमडी पनि सकिइसकेको छ। बिहे भयो। परिवार पनि व्यवस्थित छ। उनका तीन भाइहरु विदेशमा ‘कुक’ छन्। पच्या भन्छन्, ‘भाइहरुले मेरो सिको गरेनन्। शायद म इम्प्रेसिभ भइन।’ आफ्नो लुक्समा धेरैको कमेन्ट आउने पच्याले सुनाए।हुन पनि उनी हामीले धेरैजसो साक्षात्कार गर्ने डाक्टरभन्दा भिन्न देखिन्छन्, सरल। ‘यूएनमा काम गर्दा ड्राइभरहरुको ड्रेस कोड हुन्थ्यो, म त्यति कपडामा ख्याल नराख्ने मान्छे, एक दिन खाजा खान गएको पसलमा मलाई–डाक्टरसाबलाई कहाँ पुर्‍याएर आउनुभयो भनेर सोधे।’

हुन त डाक्टर बन्ने न पच्याले सोचेका थिए, न उनको बुवा आमाले। ‘हाम्रो आर्थिक हैसियत नै थिएन त्यो बेलामा डाक्टर बन्ने। सन् २००० मा पहिलो वर्ष नाम लेखाउँदाखेरि २८ हजार रुपैयाँ जम्मा गर्नु पर्ने थियो, परिवारलाई धेरै नै गाह्रो भयो।’ उनको पढाइप्रतिको लगनशीलता देखेर दशैँमा टिका लगाउँदा चाहिँ आशिर्वाद आउँथ्यो, ‘डाक्टर भएस्।’

व्यक्तिगत अनुभवमा उनले तीनपल्ट डाक्टर हुने बताए, ‘पहिलोपल्ट पढ्नलाई नाम निकाल्दा, दोस्रो परीक्षामा पास भएपछि र अन्तिममा काममा पहिलोपल्ट हिँड्दा।’ डाक्टर पढ्न नाम निस्किएपछि त गाउँमा नामै अर्को भयो, शान नै अर्को।तर उनलाई काममा पहिलोपल्ट जाँदामात्र डाक्टर भएको महशुस भयो, ‘नामको अगाडि डा. लेख्दा कस्तो-कस्तो लाग्यो मलाई।’ अहिले त्यही नाम लेख्न असहज भएको पेशाले उनलाई सम्मान दिलायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *