प्रमुख समाचार

नेपाल-मलेसिया श्रम समझदारी कार्यान्वयनमा सहमति, अब शून्य लागतमा जान पाइने

काठमाण्डौ नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्णतया कार्यान्वयनमा लैजाने गरी बिहीबार सहमति भएको छ ।यो सहमतिपछि नेपाली कामदारहरुले शून्य लागतमा मलेसिया जान पाउनेछन् । यस्तै कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी र आउँदाजाँदा लाग्ने टिकटको खर्च सबै रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ ।

मलेसिया जाँदा नेपालमा मेडिकल परिक्षण गरेको खर्च पनि त्यहाँ काम गर्न थालेको एक महिनाभित्रै कम्पनिले फिर्ता गर्नुपर्ने हुन्छ ।मलेसियास्थित पुत्रांजयमा भइरहेको दुई देशका प्राविधिक टोलीको बैठकले अघिल्लो वर्षको कार्तिक ११ गते भएको दुई देशबीचको श्रम समझदारीमाथि सहमति जनाएको हो ।

भदौ २४ र २५ दुई दिन हुने भनिएको बैठक हिजो टुङ्गो नलागेरै सकिएको थियो । आज फेरि चलेको बैठकले अन्त्यमा उक्त समझदारी कार्यान्वयन गर्ने गरी सहमति जनाएको हो ।मंगलबारदेखि सुरु भएको बैठकमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वको टोली र मलेसियाका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

यो बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्योल अन्त्य गर्ने श्रममन्त्री गोकर्ण विष्टले यसअघि नै बताइसक्नुभएको थियो। दुई देशबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसियाको रोजगारी खुल्न सकेको थिएन । अब त्यही सहमतिअनुसार नेपाली कामदारहरु मलेसिया जान पाउने भएका छन् ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १ सय २२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा हुँदै आएको आर्थिक शोषण अन्त्य गर्न २०७५ जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द भएको थियो ।मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारबाही गरेपछि मलेसियाको रोजगारी बन्द भएको हो । कलिङ भिसा आएका व्यक्तिका लागि भने श्रम स्वीकृति खुला भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *