मनोरंजन

इन्द्रजात्रा मनाइँदै: विदेशबाट पनि विशेष पाहुनाहरु सहभागी हुने

काठमाण्डाै काठमाण्डाै उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ ।भाद्र शुक्ल चतुर्दशीका दिन काठमाण्डौ उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरमा मुख्यगरी मनाइने यो पर्व धुलिखेल, दोलखा लगायत ठाउँमा पनि मनाइन्छ ।भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको किंवदन्ती छ । इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकामा रहेकाे गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएकाे छ ।

इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न शहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाण्डौ महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको थियाे ।

इन्द्रजात्रालाई पनि नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन पहिलो पटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई पनि सहभागि गराउने योजना तय गरिएको मेयर विद्यासुन्दर शाक्यकाे भनाइ छ ।

नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष२०२०’ लाई सघाउ पुर्‍याउन पनि उनीहरुलाई इन्द्रजात्रामा पनि सहभागी हुन निमन्त्रणा गरिएको उहाँले बताउनु भयो ।आज विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराइ काठमाण्डौ उपत्यकाको सम्पदाहरुको पनि अवलोकन गराउने काठमाण्डौ महानगरपालिकाको योजना छ ।सम्बन्धित समाचारयस वर्षकाे इन्द्रजात्रामा विभिन्न देशका ५ मेयरसहित विदेशी पाहुना सहभागी हुने

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रजात्राकाे अवसरमा काठमाण्डौको दहचोकमा रहेको इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । इन्द्रजात्राको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उहाँले प्राचीन महत्वका मौलिक विशेषता भएका पर्वहरू बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्ने भएकाले त्यसलाई आत्मसात् गरेर अघि बढ्न आग्रह गर्नुभएको हो ।सरकारले काठमाण्डौ उपत्यकामा प्रत्येक वर्ष मनाउने इन्द्रजात्रा पर्वको सञ्चालन र व्यवस्थापनकाल लागि ५ करोडको ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *