प्रमुख समाचार

मन्त्री र अन्य भिभिआइपीहरूले त्रिभुवन विमानस्थलमा जहाजसम्मै गाडी लिन नपाउने

त्रिभुवन विमानस्थलबाट देशका अन्य ठाउँमा जहाजमा जाँदा देशका छ जना उच्चपदस्थ भिभिआइपीले मात्र जहाजसम्मै गाडी लिन पाउने भएका छन्। विमानस्थल कार्यालयले ६ उच्चपदस्थबाहेक अरूले जहाजसम्म गाडी लिन नपाउने जानकारी गराउँदै सार्वजनिक सूचना जारी गरेको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलेमात्र जहाजसम्म गाडी लिन पाउने छन्।

यो सुविधा उनीहरूका विदेशी समकक्षीले पनि पाउने छन्। पुरानै नियम भए पनि यो कार्यान्वयनमा थिएन। यसअघि केही मन्त्रीले समेत गाडी लिएर जहाजसम्म जाने गरेका थिए। अब भिभिआइपीबाहेकका सबै यात्रु समान रूपले जहाज कम्पनीले उपलब्ध गराएको बसमा जहाजसम्म जानुपर्नेछ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलमा भिभिआइपीको नाममा गाडीभित्र छिराउने परम्परा रोक्ने घोषणा गरेका थिए। विमानस्थल कार्यालयले पूर्वप्रधानमन्त्रीहरूका लागि अनुरोध आएमा गाडी लिन दिन सक्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *