राजनिति

‘गुट छाडौँ, पार्टी मानौँ’

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको गुट अनुशासन पार्टीको निम्ति आत्मघाती हुने बताएका छन् । इलाममा सुरु भएको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गुटको अनुशासनलाई तोडर पार्टी अनुशासन स्थापित गर्नुपर्नेमा जोड दिए ।

‘यो गुट, ऊ गुट, तेरो मान्छे, मेरो मान्छे भनियो भने त्यो पार्टीको निम्ति दुर्भाग्य हुन्छ,’ कार्यकतालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब शंका उपशंकामा जेलिने गल्ती गर्नु हुँदैन ।’ उनले पार्टीभित्रको गुट अनुशासनलाई अन्त्य गर्न कार्यकर्तालाई आग्रह गर्दै विधान पालना गर्ने वातावरण बनाउन आग्रह गरे । उनले पार्टी एकता गर्ने संकल्प गरेकै दिनदेखि प्रतिक्रियावादीहरूले अभियान लगाएको आरोप लगाए ।

तानाशाह, सामन्तवादी प्रवृत्ति र प्रतिक्रियावादीहरूले टाउको उठाउन खोजेको भन्दै उनले यसबारे पार्टीको सचिवालय बैठकमा गम्भीर समीक्षा भएको बताए । परिवर्तनको पक्षमा भएका दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो । ‘संविधान निर्माण गर्ने दलहरूसँग सहकार्य बढाउनुपर्छ,’ उनले थपे, ‘प्रधानमन्त्री र मैले पनि पछिल्ला अभिव्यक्तिमा दलहरूसँग यसको अपिल गर्दै आएका छौँ ।’

नेकपाका सचिवालय सदस्य झलनाथ खनालले समाजवादी क्रान्ति पूरा गर्न अझै दशकौँ लाग्न सक्ने बताए । ‘जनवादी क्रान्तिसँगै आर्थिक सामन्तवाद समाप्त भयो । त्यसको केही सूक्ष्म अवशेष हुन सक्छ,’ उनले भने, ‘समाजवादी क्रान्ति बाँकी नै छ ।’ समाजवादको बाटोमा जनकम्युनिस्ट नेतृत्व अनिवार्य रहेको भन्दै खनालले कम्युनिस्ट पार्टीको नेतृत्वविना समाजवाद प्राप्त नहुने बताए । उनले पार्टी कमिटी प्रणाली कमजोर भएको भन्दै नीति र विधानमा चल्ने पार्टी बनाउनुपर्नेमा जोड दिए ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको पालना गर्न पूर्ण प्रतिबद्ध रहेको भन्दै अधिनायकवादतिर अग्रसर भइरहेको भन्ने विपक्षीको आरोप खण्डन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *