प्रमुख समाचार

मलेसियासँगको श्रम समझदारी कार्यान्वयनमा, एक साताभित्र कामदार जाने

काठमाडौं। लामो समयको प्रयासपछि बल्ल नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा दुवै देशको प्राविधिक समितिका प्रतिनिधि सहभागी बिहीबारको बैठकमा नयाँ समझदारीअनुसार नेपाल कामदार आपूर्ति गर्नेसम्बन्धी सहमति भएको हो । नेपाल र मलेसिया सरकारबीच गत १२ कात्तिकमा श्रम समझदारी भएको थियो ।

यसअघि धेरैपटक भएको वार्ता र छलफलको आधारमा नयाँ समझदारीअनुसार कामदार लैजाने विषयमा मलेसियासँग सहमति भएको हो। नेपालको तर्फबाट सो बैठकको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरेले यस नयाँ समझदारी कार्यान्वयन भएको बारे जानकारी गराएका हुन् । उनले अहिलेदेखि औपचारिक रूपमा श्रम समझदारी कार्यान्वयनको प्रक्रिया अघि बढेको बताए ।मन्त्रालयका अनुसार नयाँ श्रम समझदारीका प्रावधान प्रभावकारी कार्यान्वयन गर्न मलेसिया तयार भएसँगै अब आगामी एक साताभित्र नेपाली कामदार यस नयाँ समझदारीको नयाँ प्रावधानअनुसार मेलेसिया जाने छन् ।

मलेसिया जाने कामदारले अब कुनै पनि शुल्क तिर्नुपर्ने छैन । मलेसियासँगको समझदारीले रोजगारदाताले नै सम्पूर्ण लागत बेहोर्ने विषयलाई स्पष्टसँग सम्बोधन गरेको छ । समझदारी कार्यान्वयन गर्ने सिलसिलामा यसअघि मलेसियन सरकार पक्षले विभिन्न बखेडा झिकेपछि अझैसम्म सो समझदारी पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको थिएन ।मलेसियाले प्राविधिक कमिटीको बैठक बोलाउन निकै आलटाल गर्दै आएको थियो । पहिलो प्राविधिक कमिटीको बैठक समझदारी लगत्तै काठमाडौंमा बसेको थियो । श्रम समझदारी भएको ११ महिना बितिसक्न लाग्दासमेत सो समझदारीको भावनाअनुसार कामदार मलेसिया जान सकेका थिएनन् ।

मलेसिया जाने कामदारले अब कुनै पनि शुल्क तिर्नुपर्ने छैन । मलेसियास“गको समझदारीले रोजगारदाताले नै सम्पूर्ण लागत बेहोर्ने विषयलाई स्पष्टस“ग सम्बोधन गरेको छस्वास्थ्य परीक्षण गर्ने सीमित संस्थालाई नै मलेसियाले मान्यता दिन खोजेपछि मलेसिया रोजगार थप जटिल बनेको थियो । मलेसियाले निकै ढिला मात्र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड पठाएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले पठाएको मापदण्डअनुसार १२२ वटा स्वास्थ्य संस्था सूचीकृत गरी पठाइसकेको छ ।

यसअघि नेपालले नयाँ स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई मान्यता दिन पटकपटक आग्रह गरे पनि मलेसियाले बेवास्ता गर्दै आएको थियो । प्राविधिक कमिटीको बैठकमा नयाँ थप भएका स्वास्थ्य संस्थाको ‘अडिट’ गर्न आगामी नोभेम्बरको पहिलो साता मलेसियन टोली नेपाल आउने सहमतिसमेत भएको छ । मलेसियाले गर्ने ‘अडिट’ पास भएपछि ती संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् ।अहिले नेपालले भने ती स्वास्थ्य संस्था स्वयं मलेसिया सरकारले दिएको मापदण्डभित्र परिसकेकाले सबैलाई स्वास्थ परीक्षणको अनुमति दिनुपर्ने अडान राखेको छ । सो बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल र मलेसियाको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका नीति महाशाखका प्रमुख बेट्टी हसन नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

यस्तो छ समझदारीमा

नेपाल र मलेसियाबीच भएको नयाँ समझदारीअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्ने छन् । विगतमा नेपाली कामदारसँग लिइँदै आएको अतिरिक्त शुल्क समझदारीपछि नलाग्ने स्पष्ट व्यवस्था गरिएको छ ।मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटम् सदस्य बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने प्रावधान समावेश गरिएको छ ।

यसैगरी, कार्यस्थलमा हुने कामदारको दुर्घटना बिमा र स्वास्थ्य बिमालाई मलेसियाको कानुनले कामदारको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा समेत लागू हुनेछ । वैदेशिक रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ । नेपाली कामदारलाई मलेसियाको श्रम कानुनबमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइएसरहको संरक्षण मलेसिया सरकारले प्रदान गर्ने यस समझदारीपत्रमा उल्लेख छ । नयाँ समझदारीले कामदारको करार अवधि दुई वर्ष तोकेको छ ।

यसअघि कामदारको करार अवधि तीन वर्ष थियो । कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ तारिखभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । मलेसिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चित हुनुका साथै अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवासुविधा प्राप्त हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *