मनोरंजन

अमिताभले मागे माफी

चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को ११ औं सिजन सुरू भइसकेको छ। यसै कार्यक्रमका दौरान अभिनेता अमिताभ बच्चनले एक सहभागीसँग माफी मागेका छन्।अमिताभले कार्यक्रमको विशेष शोमा आएका एक चिकित्सकसँग माफी मागेका हुन्। ‘कर्मवीर विशेष शो’नाम दिइएको सो कार्यक्रममा आएका ती चिकित्सकले अमिताभलाई ३५ वर्ष पुरानो किस्सा सुनाउँदा सो कुरा स्पष्ट सम्झन नसकेपछि माफी मागेका हुन्।

अमिताभले माफी मागेका ती चिकित्सकको नाम रमना राव हुन्। उनी भारतका उत्कृष्ट कार्डियोलोजिस्टमा पर्छन्।कार्यक्रममा रावले पुरानो घटना सुनाउँदा अमिताभ आश्चर्यमा परेका थिए। सो किस्सा सुनेपछि अमिताभले रावसँग हात जोडेर माफी मागे।खासमा ३५ वर्ष अगाडि बैङलोरमा सुटिङका क्रममा अमिताभ विरामी परेका थिए र रावले नै मध्यरातमा अस्पताल पुगे अमिताभको उपचार गरेका थिए।रावले सो घटनाको बयान कार्यक्रममा यसरी गरेका छन्।

‘मलाई राती साढे एक बजे एउटा फोन आयो। त्यो फोनमा एक व्यक्तिले मेरो साथीको हालत ठीक छैन, छिट्टो आउनु भने। ती व्यक्तिले यदि तपाईले यी महान व्यक्तिलाई छुनु भयो भने त्यो दिनदेखि तपाईंको जीवन बदलिने बताए। वास्तवमा भयो पनि त्यस्तै, मेरो व्यवसायिक जीवन त्यहीबाट उकालो लाग्यो। जब म बोलाइएको ठाउँ पुगें तब मैले ती विरामी व्यक्ति तपाईं भएको थाहा पाएं। त्यो दिन तपाईंलाई धेरै ज्वरो आइरहेको थियो। तपाईं कामिरहनुभएको थियो। मैले हेरें र औषधी दिएँ। अर्को दिनसम्म तपाईं ठीक भइसक्नुभएको थियो। मलाई थाहा थियो, जब म घर जानेछु र घटना सुनाउनेछु तब कसैले यो घटना पत्याउने छैन। त्यसैले मैल तपाईंसँग अटोग्राफ पनि लिएं।’

रावले यस्तो बताएपछि अमिताभले ‘यो कहिलेको कुरा हो?’ भनेर सोधे।रावले ‘बैङलोरको हुँदाको कुरा हो’ भने।त्यसपछि पनि अमिताभले स्पष्ट रूपमा त्यो पुरानो कुरा सम्झन सकेनन्। अनुमान गाउँदै अमिताभले त्यो सन् १९८४ को घटना हुनुपर्छ भने। यसरी घटना सम्झिन नसकेपछि अमिताभले दुई हात जोड्दै रावसँग माफी मागे।‘म क्षमा चाहन्छु, त्यो समय मैले तपाईंलाई चिन्न सकिन। मेरो तपाईंलाई शुभकामना छ’, अमिताभले रावसँग भने।यो किस्सा सुनेपछि कार्यक्रममा उपस्थित दर्शकहरूले ताली बजाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *