काठमाडौं, २ असोज । नेपाली सेनाको सहायक रथीमा तत्कालीन माओवादी लडाकूका डिभिजन कमान्डर यमबहादुर अधिकारी बढुवा भएका छन् । उनलाई सरकारले विशेष पद सिर्जना गरेर राखेको हो । चार वर्षका लागि उनी सहायक रथीमा बढुवा गराइएको छ ।
बिहीबार सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरेको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएका हुन् । उनी यस अघि महासेनानी थिए । महासेनानी अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सञ्चारमन्त्री वास्कोटाले जानकारी दिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि अधिकारी इलामको चुलाचुली शिविरका कमान्डर थिए । उनलाई उपसेनानी दर्जा दिएर सेनामा समायोजन गराइएको थियो । उपसेनानीबाट, सेनानी, सहायक सेनानी, महासेनानी हुँदै उनी सहायक रथी बनेका हुन् । माओवादीबाट समायोजन भएका पूर्वलडाकुले पाएको यो नै सर्वोच्च पद हो । अधिकारी माओवादीका एक हजार चार सय लडाकुको नेतृत्व गर्दै नेपाली सेनामा समायोजन भएका थिए।
अधिकारीकाे विगत
उत्तरी धादिङको मार्पाकमा बाबु बोरसिंह अधिकारी र आमा खड्ककुमारीको कान्छो छोराका रुपमा ०२९ असार १ गते जन्मिएका अधिकारीले ०४६ सालमा द्वित्तीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । अधिकारी ०४६ सालको जनआन्दोलनपछि क्याम्पस पढ्न काठमाडाैँ आए । काठमाडाैँं आउनुअघि नै उनी तत्कालिन अखिल छैठौंको धादिङ जिल्ला सदस्य थिए ।
प्रवीणता प्रमाणपत्र तहको पढाइ पूरा गरेपछि विद्यार्थी संगठनको धादिङ अध्यक्ष बने । पूर्णकालीन भएदेखि उनले जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका थिए। ०६३ मंसिर ५ को शान्ति सम्झौतापछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनमा सहायक कमाण्डर रहेका अधिकारी माओवादीले कमाण्डर गणेशमान पुनलाई वाइसीएल अध्यक्ष बनाएर काठमाडाैँ ल्याएपछि स्वत कमाण्डर भएका थिए । डिभिजनमा कमाण्डर फेरबदल हुँदा इलामको चुलाचुलीस्थित पहिलो डिभिजनको कमाण्ड सम्हालेका थिए।