राजनिति

बालयोगेश्वर महाराजको ‘पाखण्डी’ रुप: नगदजति कुम्ल्याउने, बाँकी आयोजकलाई छोड्ने !

बुटवल– विष्णु प्रपन्नचार्य र बालयोगेश्वर महाराजका उपनामले महायज्ञ सञ्चालन गर्दै आएका गुल्मी बस्तुका विजय भण्डारीले त्यस्ता महायज्ञमा सङ्कलन भएको नगद आफैले बोकेर हिँड्ने गरेको र घोषणा भएको उधारो रकम भने आयोजकलाई छाडेर जाने गरेको पाइएको छ ।

भण्डारीलाई अदालतले ठगी मुद्वामा पक्राउ गर्ने आदेश दिएपनि खुलेयाम महायज्ञ गर्दै र रकम कु्म्ल्याउँदै हिँडेका छन् । अझ रोचक के छ भने मन्त्रीदेखि उच्च तहका कर्मचारीहरु समेत उनी सहभागी कार्यक्रममा कुम जोडेर मञ्चमा सँगै बस्ने गरेका छन् ।

गुल्मीको एक विद्यालयबाट मात्रै ४८ लाख रुपैयाँ कुम्ल्याएको खुलासा भएको छ । गुल्मीदरवार गाउँपालिका वडानम्वर–४ वीरवासस्थित रुन्खदह माध्यामिक विद्यालयमा २०७५ चैत्र २३ गतेदेखि ३० सम्म भण्डारी प्रमुख बाचक रहेर महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञमा दाताहरुले सवा करोडभन्दा बढि रकम घोषणा गरे ।

सङ्कलन भएको नगद रकममध्ये उनले ४८ लाख रुपैयाँ लगेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद शर्माले बताए । ‘५० लाखसम्म मात्रै रकम उठे उनले नलैजाने सहमति भएको थियो’,उनले भने, ‘त्योभन्दा बढि उठे प्रतिशतको आधारमा लैजाने सहमति अनुसार उहाँलाई ४८ लाख रुपैयाँ दिइएको हो ।’फरार अभियुक्तको सत्कारमा सिडियो र एसपी, संरक्षक मन्त्री
त्यस्तै, पलुखा माध्यामिक विद्यालयमा २०७५ असोज ३० सम्म सञ्चालन भएकोे महायज्ञमा उनले ल्याएको टेन्टको ५ लाख, कलाकारहरुका नाममा ९ लाख र उनी स्यवमका लागि २ लाख ७० हजार दिइएको प्रधानाध्यापक बाबुराम कुँवरले बताए ।

त्यस्तै, गुल्मीकै मुसिकोट नगरपालिका १ अरेवास्थित जनज्योति माध्यामिक विद्यालयलयले फागुन पहिलो साता आयोजना गरेको महायज्ञमा योगेश्वर महाराजले नगद सङ्कलन भएको करिव २५ लाख मध्येबाट ११ लाख लगेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र रायमाझीले जानकारी दिए ।

‘चन्दा रकम घोषणा १ करोड २० लाख जति भएको हो’, रायमाझीले भने, ‘त्यसमध्ये करिव २५ लाख नगदै सङकलन भएकोमध्ये ११ लाख रुपैयाँ गुरुले लैजानुभयो । घोषणा भएकोमध्ये ४० प्रतिशत रकम अझै प्राप्त भएको छैन’ रायमाझीको भनाई छ ।

बुटवलमा पनि उस्तै पारा

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा गत बैशाखमा श्रीमद् भागवत शैक्षिक तथा धार्मिक महामहोत्सव चल्यो । बैशाख २१ गतेदखि २९ गते सम्म चलेको महामहोत्सवमा प्रमुख बाचक बनेका भण्डारी त्यसवेला ९ दिन बुटवलमा बसे । बस्ने खाने राम्रो व्यावस्थासँगै जाने बेलामा ११ लाख रुपैयाँ पनि आयोजक संस्थाले हातमा राखिदियो ।

प्रगति निमाविको स्तरउन्नतीका लागि महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ मुल समारोह समितिका संयोजक जितबहादुर मल्लका अनुसार घोषणा भएको १ करोड ९७ लाख रुपैयाँमध्ये ७३ लाख रुपैयाँ उठेको थियो । ‘त्यो ७३ लाख पनि चेक र नगद हो । जसमध्येबाट हामीले गूरुलाई झन्डै ११ लाख दिनु परेको थियो’ मल्लले भने । गुल्मी र बुटवलमा मात्रै होइन उनले स्याङ्गजाको पुतलीबजारको मनकामना माविमा पनि यस्तै गरेका थिए ।

भ्रम छरेर ब्रह्मलुटः सरोकारवाला
नेपाल पञ्चाङ्घ निर्णयक समितिले ‘भदौ २८ गतेदेखि असोज ११ गतेसम्म शुक्रअस्त भएकाले यस अवधिमा कुनै पनि देउकार्य चल्दैन र पितृमोक्ष पनि हुँदैन भ्रममा नपर्नुहोस्’ भनेर विज्ञप्ति निकाले पनि काठमाडौंको गोकर्ण र रिडीको महायज्ञ सञ्चालन गरिएकोप्रति आपत्ति जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले यी दुईवटा धार्मिक कार्यलाई भ्रमको खेती गरेको तथा ब्रह्मलुटको संज्ञा दिए ।

उनले भने, ‘भदौ २८ गतेदेखि असोज ११ गतेसम्म शुक्र अस्ताएका छन् । यो अवधिमा कुनै पनि पुजापाठ गर्नु राम्रो हुदैन । यो बेलामा पितृमोक्ष गरिदिन्छौं भनेर जनतामा भ्रम छरेर व्रम्हालुट गर्न खोजिँदैछ । तिनीहरु हाम्रो धर्म संस्कृति विरोधीहरु हुन् । यस्ता कार्य रोकिनुपर्दछ ।’ उनले यी दुवै स्थानका गुरुहरुलाई पाखण्डीको संज्ञा समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *