प्रमुख समाचार

यूएईमा अलपत्र १ सय २० जनालाई घर फर्काइयो

काठमाडौं। रोजगारदाता कम्पनीका कारण युनाइटेड अरब इमिरेट्स यूएई को आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, त्यहाँका रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा कामदारलाई घर फर्काइएको हो । आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेस एलएलसीमा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका ती कामदारमध्ये १ सय २० लाई स्वदेश फर्काइएको हो ।

बाँकी कामदार फिर्ता पठाउन प्रक्रिया थालिएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ । नेपाली दूतावासका श्रम सहचारी मोतीराम भुसालले पहिलो चरणमा पुरुष कामदारलाई घर फर्काइएको छ र दोस्रो चरणअन्तर्गत महिला कामदारलाई फर्काउने प्रक्रिया थालिएको जानकारी दिए । करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका हुन् । सो कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सयभन्दा धेरै कामदार समस्यामा छन् । गत आइतबारदेखि नेपाली कामदारलाई घर फर्काउन थालिएको हो ।

समस्यामा परेपछि कामदारहरूले तीन महिनाअघि दूतावासलाई जानकारी गराएका थिए। ६९ जनाले लिखित निवेदन दिएर समस्या समाधान गर्न आग्रह गरेका थिए । तर, सुरुवातमा दूतावासले समस्याबारे चासो नदिएपछि पीडित थप समस्यामा परे । आबुधाबीमा अलपत्र परेका कामदारको विषयमा पीडितको दबाबपछि दूतावासले यो विषयलाई चासो दिएको थियो । दूतावासमा ६९ जनाको निवेदन परेको भए पनि अन्य क्षेत्रमा रहेका पीडितहरू सम्पर्कमा आउन थालेका थिए ।

अहिलेसम्म २ सय ५० भन्दा बढी पीडित कामदार सम्पर्कमा आएको दूतावासले जनाएको छ । नेपाली कामदारको समस्या समाधानका लागि दूतावासले श्रम काउन्सुलर भेषबहादुर कार्की, श्रम सहचारी मोतीराम भुसाल र जनसम्पर्क अधिकृत इरफान आलमलाई जिम्मेवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *