नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोग/ सहकार्यका लागि मंगलबार समझदारी पत्रमा हस्ताक्षर हुँदैछ।समझदारीपत्रमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गर्ने छन्।नागपोखरी स्थित मेरियट होटलमा उक्त हस्ताक्षर गरिनेछ।
‘पहिला पनि चिनयाँ कम्युनिष्ट पार्टीसँग हाम्रो यस्तो समझदारी हुनेगरेको थियो। माओवादी केन्द्र र एमालेसँग थियो तर पार्टी एकता पछि नयाँ बनेको पार्टीसँग थिएन त्यसैले अहिले समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो,’ नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए।रिजालका अनुसार, उक्त समझदारीपत्रमा दुवै पार्टीबिच सहयोग, सहकार्य, भ्रमण र गोष्ठीहरू गर्ने विषय समेटिने छन्।