अन्तरास्ट्रिय

फेरि उठ्यो ट्रम्पमाथि महाअभियोग लगाउने आवाज

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियाग लगाउनुपर्ने आवाज पुनः उठेको छ । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग गरेको टेलिफोन कुराकानीलाई आधार बनाएर महाअभियोग लगाउनुपर्ने आवाज उठेको हो ।अमेरिकाको गुप्तचरसम्बन्धी शक्तिशाली समितिका अध्यक्ष एडम सिफले युक्रेनी राष्ट्रपतिसँग ट्रम्पले गरेको टेलिफोन कुराकानीको विषय उनीमाथि महाभियोग लगाउने आधार बन्न सक्ने बताएका छन् ।

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टटिभको गुप्तचरीसम्बन्धी समितिका अध्यक्ष सिफले अमेरिकी टेलिभिजन च्यानल सीएनएनसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीका नेतामाथि हिलो छ्याप्न कुनै विदेशी नेतालाई दबाब दिने प्रयास गरेका हुन् भने महाअभियोग लगाइने बताएका छन् । उनले राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको संवादका विषयवस्तु सार्वजनिक गर्न दबाब दिँदै आएका छन् । तर, ह्वाइट हाउसले हालसम्म त्यसको विवरण सार्वजनिक गरेको छैन ।

ट्रम्पको टेलिफोन कुराकानी बन्न सक्छ आधार

यसअघि ट्रम्पले सो विषयमा आफूविरुद्ध परेको उजुरी राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका थिए। गत जुलाईमा राष्ट्रपति ट्रम्पले फोनमा युक्रेनी राष्ट्रपतिलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको प्रतिस्पर्धाको अग्रपंक्तिमा रहेका जोए बिडेनका छोरा हन्टर बिडेनमाथि पुनः छानबिन गर्न दबाब दिएको समाचारमा जनाइएको थियो ।

उनले बराक ओबामाको सरकारमा आफ्ना बुवा उपराष्ट्रपति रहँदा एउटा ऊर्जा कम्पनीको कामको सिलसिलामा युक्रेनमा केही समय बिताएका थिए । बुबा बिडेनले छोराको कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका त्यहाँका एक अभियोजनकर्तालाई पदमुक्त नगरे युक्रेनलाई अमेरिकाले दिने सहायता रोक्ने चेतावनी दिएका थिए । अभियोजनकर्ता भ्रष्टाचारमा संलग्न भएको आशंका गरिएको थियो । तर, अनुसन्धानले कुनै अनुचित काम भएको प्रमाण फेला पार्न सकेन ।

राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षीसँग गरिएको कुराकानीमा जो बिडेनको नाम लिएको स्वीकार गरेका छन् । ट्रम्पले अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै बिडेनले छानबिन गर्न माग गरेका छन् । अमेरिकी जनताले आफैं खुट्याउन सकून् भनेर फोनवार्ताको लिखित बेहोरा तत्काल सार्वजनिक गर्न उनले राष्ट्रपति ट्रम्पलाई आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *