प्रमुख समाचार

दलाई लामाको उत्तराधिकारी छनौटमा तिब्बतीको पक्षमा अमेरिका

चीनले तिब्बतमा आफ्नो प्रभाव तथा दबाब बढाउँदै लगेका बेला अमेरिकी सांसदहरुले तिब्बतीहरुलाई अमेरिकाको साथ तथा समर्थन थप बिस्तार गर्ने विधेयकको तयारी गरेका छन् ।विशेष गरी अहिलेका दलाई लामाको उत्तराधिकारी चयनमा अमेरिकाले आफ्नो साथ र समर्थन तिब्बतीहरुलाई थप बलियो रुपमा दिने गरी विधेयकको तयारी गरेको हो । चीनले आफ्नो इच्छा अनुसार नयाँ दलाई लामा चयन गर्न सक्ने सम्भावना छ । यो सम्भावनाबाट जानकार रहेका हालका दलाई लामाले आफ्नो शेषपछि को उत्तराधिकारी बन्ने भन्ने बारे आफूले नै जानकारी दिने बताइसकेका छन् ।

बाइपार्टिजन तिब्बती नीति तथा सहयोग विधेयक २०१९, यहि सेप्टेम्बर १३ मा अमेरिकाको संसदमा पेश गरिएको हो । अमेरिकी संसदको कंग्रेसनल एग्जिक्युटिभ कमिसन अन चीनका प्रमुख जेम्स म्याकगोवेर्नले सो विधेयक पेश गरेका हुन् । कमिसनका उपप्रमुख सिनेटर मार्का रुबेओले सो विधेयक सिनेटमा प्रस्तुत गर्ने जनाइएको छ ।

तिब्बत नीति विधेयक टिपिए२००२ मार्फत अमेरिकाले आफ्नो कानूनमा तिब्बतलाई साथ दिने नीति अंगिकार गरेको थियो । नयाँ विधेयकले सो कानूनलाई थप परिस्कृत गर्नेछ । अहिले कायम रहेको विधेयकलाई संशोधन गर्ने गरी प्रस्तुत हुन लागेको विधेयक अर्को चरणमा संसदको विदेश नीति सम्बन्धी समिति र न्यायीक समितिमा पेश हुनेछ ।

यो विधेयकले दलाई लामा वा अरु धार्मिक नेताहरुका उत्तराधिकारी वा नयाँ व्यक्तिको छनौटमा तिब्बतका बुद्धिस्ट समुदायको भूमिकालाई केन्द्रमा राख्ने र त्यसलाई नै समर्थन दिने कुरा थप स्पष्ट हुनेछ । यो प्रक्रियामा कुनै पनि चिनियाँ अधिकारीले अवरोध वा आफ्नो प्रभाव कायम गर्न खोजेमा उनीहरु अमेरिकाको प्रतिबन्धको घेरामा आउने विधेयकमा उल्लेख छ ।

यस्तै तिब्बतको राजधानी ल्हासामा अमेरिकाको वाणिज्य दूतावास स्थापना नभएसम्म अमेरिकामा थप या नयाँ चिनियाँ वाणिज्य दूतावास खडा नगरिने पनि उल्लेख छ ।तिब्बतका सम्मानित धर्मगुरु ६० वर्षदेखि निर्वासनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *