अन्तरास्ट्रिय

विश्‍वभर आज : कश्मीरमा शक्तिशाली भूकम्प, बेलायती राजनीति कता मोडिएला ?

इन्डोनेसिया : इन्डोनेसियाको दक्षिणी पपुवा क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा २६ जना मारिएका छन् । प्रहरीले आन्दोलन दबाउन गोली प्रहार गर्दा २६ प्रदर्शनकारीको ज्यान जानुका साथै दर्जनौं घाइते भएका छन् ।

राष्ट्रिय प्रहरी प्रवक्ता डेडी प्रासेतोका अनुसार अघिल्लो दिनको झडपमा एक प्रहरी अधिकृतको पनि मृत्यु भएको छ । इन्डोनेसियामा केही सातादेखि सरकारविरोधी आन्दोलन चर्किँदैछ । विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।

अस्पतालमा आगलागी हुँदा ८ बालबालिकाको मृत्यु

अल्जेरिया : अल्जेरियाको एक अस्पतालमा आगलागी हुँदा आठ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार अस्पतालको प्रसूति विभागमा आगलागी भएको हो ।

स्थानीय समय अनुसार बिहान झण्डै ४ बजे आगलागी भएको थियो । जहाँबाट ११ बालबालिका, १ सय ७ महिला र २८ जना अस्पतालका स्टाफलाई सकुशल उद्धार गरिएको बताइएको छ ।राजधानी नसिम बर्नओइबाट ५ सय किलोमिटर दक्षिणपूर्वी ओएड सोफस्थित यस्तो घटना भएको एएफपीले जनाएको छ ।

अमेरिकी दूतावासनजिकै रकेट हमला

बगदाद : इराकको बगदादस्थित अमेरिकी राजदूतावास नजिकै दुईवटा रकेट आक्रमण भएको छ । यस्तो आक्रमण कसले किन गराएको भन्ने खुलेको छैन । अहिलेसम्म कसैले जिम्मेवारी पनि लिएको छैन ।

दूतावास रहेको स्थान ग्रिनजोनमै उक्त हमला भएको हो । सुरक्षा अधिकारीहरुका अनुसार दूतावासको भवनबाट एक माइलभन्दा पनि थोरै दूरीमा रकेट खसालिएको थियो ।

घटनामा कोही पनि घाइते भएका छैनन् । १ सय एमएमका दुई रकेट मध्यरातमा आक्रमण गरिएको हो । इराकमा अमेरिकी दूतावास भएको ठाउँलाई अति उच्च सुरक्षित क्षेत्र मानिन्छ ।

बेलायती प्रधानमन्त्रीको निर्णय संकटमा

लण्डन : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको संसद भंगको निर्णयलाई उच्च अदालतले ‘अवैध’ भन्दै फैसला गरिदिएको छ । मंगलबार अदालतले प्रधानमन्त्रीको विवादास्पद निर्णयलाई अवैध भनिदिएको हो ।

बेलायतको उच्चस्तरका मुद्दामध्ये एक यस घटनामा पध्रानमन्त्रीले कानुनी तरिकाले निर्णय नगरेको जनाएको छ । अदालतको यस्तो फैसलासँगै बेलायतमा राजनीतिक परिस्थिति बदलिने देखिएको छ ।यससँगै जोन्सनलाई थप राजनीतिक दबाव देखिएको छ । ब्रेक्जिट मुद्दालाई सल्टाउने भन्दै प्रधानमन्त्री बनेका उनलाई एकपछि अर्को दबाव परेको हो ।

कश्मीरमा शक्तिशाली भूकम्प गयो

इस्लामाबाद : पाकिस्तान र भारतको सीमाक्षेत्रमा आज ५ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जहाँ ८ जनाको मृत्यु भएको छ भने एक सय भन्दा धेरै घाइते भएका छन् ।

कश्मीर क्षेत्रमा यसको बढी प्रभाव परेको छ । भूकम्पले इस्लामाबाद, अजब, कश्मीर, पेशावर, रावलपिण्डी र लाहोरमा समेत ठूलो धक्का महसुश भएको छ । ८ देखि १० सेकेण्डसम्म हल्लाएको भूकम्पले भारतका समेत केही सहरमा असर पुगेको छ ।

भारतका गुजरात, चित्राल लगायत क्षेत्रमा यसको असर परेको छ । भूकम्पका कारण ठूलो हताहत भएको बताइएको छ । तर क्षतिको यकिन विवरण आइसकेको छैन ।
यद्यपि कतिपय सहरमा ठूला पक्की सडक समेत भत्किएका छन् । अहिले दुबै तर्फका सैनिक तथा सुरक्षाकर्मीहरु प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका छन् ।

मुस्लिमविरोधी गतिविधि गर्ने एक जनालाई ४ वर्षे जेल सजाय

लण्डन : बेलायतमा मुस्लिमविरोधी गतिविधि गरेकोमा एक युवकले चार वर्षको जेल सजाय पाएका छन् । हतियार समातेर मुस्लिम विरोधी तस्बिर तथा सन्देश सामाजिक सञ्जालमा सेयर गरेको भन्दै परेको मुद्दामा अदालतले उनलाई यस्तो सजाय सुनाएको हो ।

३९ वर्षीय जय डेभिसन नाम गरेका व्यक्तिले इन्स्टाग्राम र ह्वाट्सएपमा धार्मिक हिंसा भड्काउने गतिविधि गरेका थिए । डेभिसनले भने आफूले यस्तो गतिविधि गरेको अस्वीकार गर्दैआएका छन् ।एयरपोर्टमा आँप चोर्ने भारतीय कामदारलाई देश निकाला

यूएई : दुबइ एयरपोर्टभित्र आँप चोरी गरेको आरोपमा एक भारतीय कामदारलाई अदालतले देश निकालाको आदेश दिएको छ । साथै उनलाई ५ हजार दिराम जरिवाना गरिएको छ ।

एयरपोर्टभित्र काम गर्ने २७ वर्षीया भारतीय युवकले यात्रुको झोलाबाट दुईवटा आँप झिकेको आरोप लागेको थियो । गत वर्ष उनले यात्रुको लगेजबाट आँप झिकेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो । तर अभियुक्त युवकलाई १५ दिनभित्र आफूविरुद्धको फैसला चित्र नबुझेको खण्डमा पुनरावेदन गर्ने छुट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *