अन्तरास्ट्रिय

इरानी राष्ट्रपतिसँग भेटवार्ता हुन सक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता राष्ट्रसंघको महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटवार्ता हुन सक्ने बताएका छन् । राष्ट्रसंघको महासभाको बैठकस्थल न्युयोर्कमा दुवै नेताबीच भेटवार्ता हुने सम्भावनाबारे विभिन्न अड्कलबाजी भइरहेका वेला ट्रम्पको सो भनाइ आएको छ । तर, आफूहरूबीचको भेटघाटको औपचारिक कार्यक्रम तय भइनसकेको उनले जानकारी दिए ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्राेले दुवै नेताबीच वार्ता गराउन प्रयास जारी राखेका छन् । साउदी अरेबियाका दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि इरानी र अमेरिकी राष्ट्रपतिबीचको भेटवार्ता लगभग सकिएको कूटनीतिक जगत्मा अनुमान गरिएको छ । अमेरिकाले साउदीमा भएका आक्रमण इरानले गरेको आरोप लगाउँदै आएको छ, तर इरानले भने अमेरिकी आरोप सत्य नभएको दाबी गर्दै आएको छ । राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफूले इरानी नेतालाई भेट्न चाहेको तर समयतालिका तय नभएको बताए ।

सोमबार फ्रान्सेली राष्ट्रपति म्याक्राेले राष्ट्रपति ट्रम्पसँग अनौपचारिक परामर्श गरेपछि त्यही साँझ इरानी नेता रौहानीसँग झन्डै ९० मिनेट वार्ता गरेका थिए । फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा दुवै मुलुकबीच गतिरोध अन्त्य गर्न त्यति सहज नरहेको तर इरानले पनि आफूलाई सुधार गर्न जरुरी रहेको उल्लेख छ । म्याक्राँेले ट्रम्पलाई भेट्ने कार्यक्रम छ । राष्ट्रपति म्याक्राेले भने, ‘इरानी राष्ट्रपति र ट्रम्पबीच भेट गराउने सक्दो प्रयास गर्नेछु ।’ तर, राष्ट्रपति ट्रम्पले भने इरानसँग वार्ता गर्न फ्रान्सको मध्यस्थता जरुरी नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *