अन्तरास्ट्रिय

कतारको विकासमा नेपालीको पसिना परेको छ

‘हामी कतारीको यो पुस्ता अब कामै नगरी बस्दा पनि पुग्ने अवस्थामा छ तर पनि हामी काम गरिरहेका छौं’, कतारी राजाकी बहिनी शेख हिन्दले दि गार्डियनमा भनेको उपयुक्त धारणा स्मरण गर्छन्, नेपालका लागि कतारी राजदूत युसुफ विन महोम्मद अहमेद मोहम्मद अल हैल। कतारमाथिको नाकाबन्दीले मुलुकभरि आत्मनिर्भर र राष्ट्रप्रेमको लहर देखिएको छ। यो लोभलाग्दो र अनुकरणीय छ। कतार विगत दुई वर्षदेखि छिमेकी साउदी अरेबिया, इजिप्ट, युनाइटेड अरब र बहराइनको घोषित नाकाबन्दीमा छ। कतारले आफूलाई झन् खार्‍यो, परनिर्भरता हटाएको छ।

कूटनीतिक करिअर १९९७ मा आउनुअघि फुटबलका राष्ट्रिय खेलाडीसमेत रहेका हैलको मुलुकमा दुई वर्षपछि विश्वकप आयोजना हुँदै छ। नेपालीको प्रशंसा गर्दै नेपाललाई दोस्रो घरको संज्ञा दिने उनै राजदूत हैलसँग नेपाल–कतार सम्बन्ध, कामदारको अवस्था, सहकार्य, नाकाबन्दी, विश्वकपको तयारीलगायतमा अन्नपूर्ण पोस्ट्का चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :

नेपाल र कतारबीच सम्बन्ध स्थापित भएको चार दशक पूरा भइसकेको छ, अहिले सम्बन्ध कुन तहमा छ ?

नेपाल र कतार सम्बन्ध आरम्भदेखि नै सुमधुर छ। कतारको विकासमा नेपालीको ठूलो योगदान छ। हामी नेपालप्रति बढी नै आभारी छौं। जनस्तरले जोडेको सम्बन्ध सरकारीभन्दा बलियो हुन्छ। सम्बन्ध थप मजबुत, प्रगाढ र रचनात्मक हुँदै अघि बढेको छ। लामो द्वन्द्वपछि राजनीतिक स्थायित्व कायम हुँदै यतिबेला नेपाल विकासको गतिमा अघि बढेको देखेको छु। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै संविधान कार्यान्वयनको चरणमा अघि बढेको देख्दा हामी खुसी छौं।

दूतावास स्थापनासँगै सम्बन्ध बलियो हुँदै गएको र उच्चस्तरको भमणले नयाँ आयाम थपेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण र त्यसअघिका अन्य भ्रमण सम्बन्धको अर्को आयाम हो। दुईपक्षीय व्यापार र लगानीमा हामी उत्साहित छौं। अब यसतर्फ उन्मुख हुनुपर्छ। अन्तर्राष्ट्रिय मञ्चमा कतारले नेपालको साथ र नेपालले कतारको साथ पाइरहेको छ।

कतारमा रहेर काम गरिरहेकाप्रति यहाँले शब्दमा व्यक्त गर्नुभएको भाव व्यवहारमा पनि उस्तै छ त ?

व्यवहार नै शब्दमा व्यक्त भएका हुन्। यतिबेला कतारमा पाँच लाख बढी नेपाली हाम्रो विकास कार्य र पैरवीमा सहयात्री छन्। यो स्तरको कार्यले पनि हाम्रो सम्बन्धको महत्त्वलाई झन् माथि उकासेको छ। नेपाली समुदायले कतारमा देखाएको सौहाद्रता, भाइचारा र कल्याणकारी व्यवहारले हामी नेपाल र नेपालीप्रति नतमस्तक छौं। हामीले नेपाली समुदायको इमानदारीको उच्च मूल्याकंन गर्दै आएका छौं। काममा सेवा सुविधा पनि अन्तर्राष्ट्रिय स्तरमै उपलब्ध गराएका छौं।

खाना र बस्न दिएर चार सय डलर महिनाको नेपालीले बुझ्ने गरेका छन्। यो भनेको मासिक हजार डलरभन्दा माथि हो। तर केही नेपाली नबुझी विभिन्न माध्यमबाट त्यहाँ पुग्दा समस्यामा परेका होलान्। समस्यामा परेको थाहा भएमा यसलाई समाधान गर्न हामी चुक्दैनौं। कामप्रतिको लगाव र इमानदारीले कतारमा सबैभन्दा बढी रुचाइएकामा नेपाली पर्छन्। यो पृष्ठभूमिमा नेपाल र कतारबीचको सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउँदै सहकार्यमा जोड दिन आवश्यक छ।

कामदार पठाउने विषय र दलालका कारण फन्दामा पर्नेहरूको विषय जानकार हुँदाहुँदै किन सरकार–सरकार स्तरबाट लैजाने व्यवस्था हुँदैन ?

सरकार–सरकारबीचबाट लैजाने व्यवस्था उत्तम नै हो। तर, सबै काम सरकारले मात्र गर्ने होइन। सरकारले निगरानी राख्ने र नीति बनाउने हो। गर्ने त निजी क्षेत्रले नै हो। जाने निजी क्षेत्रमार्फत नै हो। अहिले हामीले सरकारसरकारबीच गरेको सम्झौता पनि त्यही हो। मागलाई सरकारी तवरबाटै तय गर्ने र सबै खर्च कामदार कम्पनीले बेहोर्ने फ्री भिसा, फ्री टिकटमा नै कामका लागि जाने हो। केही रकम लिन्छ भने त्यो कामदार कम्पनीले नै हो। यसमा कोही कामदार पनि द्विविधामा नपरे हुन्छ, कतार जान कुनै कामदारले एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन। निजी क्षेत्रका म्यानपावर कम्पनीले नै पठाउने हो। ती कम्पनीले कामदार पठाएबापत लाग्ने सबै खर्च कतारको कम्पनीले पठाउँछ, बेहोरेको हुन्छ।

टिकट, बिमा, स्वास्थ्य परीक्षण र भिसा शुल्कसमेतको व्यवस्था गरेको हुन्छ। यहाँ केही कम्पनीले भ्रम सिर्जना गर्छन् त के गर्ने ? केही समय भिसाको विषयसमेत उठाए। त्यो कुनै समस्या नै थिएन। हामीले अन्यले झैं शुल्क लिएर होइन, नेपाली त्यहाँ पुगेर मेडिकलमा असफल भएर फर्कन नपरोस् भनेर केही स्ट्यान्र्डड तोकिएका कम्पनीको सिफारिस मान्ने भनिएको हो। जुन विकसित मुलुकले गरिरहेकै छन्। त्यहाँ पैसा तिरेर गरिरहेका हुन्छन् तर हामी त बिनाशुल्क गरिरहेका छौं। यहाँ आफ्नै नागरिकलाई आफ्नैले अलमल्याउन खोजेको देख्छु। सरकारबीच कुरा नमिलेर जान नपाएबाहेक अन्य समस्या छैन। नेपालीले सन् २०३० सम्म काम गर्न पाउने अवस्था कतारमा छ। त्यसपछि पनि कतारले नयाँ रोजगार सिर्जना गर्ने देखिएको छ। कतारको विकासमा नेपालीको पसिना परेको छ। हामी यहाँ कतार च्यारिटीमार्फत सहयोग पनि गरिरहेको छौं।

नेपाल र कतार दुवै विश्व शान्तिमा पहल गरिरहेका मुलुक भन्नुभयो। विश्व शान्ति, सुरक्षा र विकासका लागि आपसमा मिलेर नेपालले काम गरिरहेको अवस्थामा कतार स्वयं केही समयदेखि नाकाबन्दीको सिकार बनेको छ। यसलाई कसरी सम्बोधन गर्ने पहल भइरहेको छ ?

नेपाल र कतारले विश्व शान्तिका लागि काम गरिरहेका छन्। एकै स्थानमा रहेर एकै खालको काम नगरेको भए पनि शान्तिका लागि फरक फरक स्थानबाट काम गरिरहेका छन्। कतारले खासगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ काम गर्दै आएको छ। कतारले सुडानको डार्फर क्षेत्रमा शान्ति स्थापनाका लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गरेको थियो भने त्यहाँ नेपालले शान्ति स्थापनार्थ शान्ति सेना नै राष्ट्रसंघमार्फत खटाउँदै आएको छ। यसबाट पनि नेपाल र कतारको शान्तिप्रतिको अन्तर्राष्ट्रिय लगाव उस्तै भएको देखिन्छ। हामी रहनसहनमा पनि उस्तै छौं। कतारले छिटो आफूलाई आयस्रोतमा माथि उठाएको छ भने नेपाल उठाउन प्रयासरत छ। हामी फरक विन्दुबाट काम गरे पनि एउटै उद्देश्यसहित अघि बढेका छौं।

नेपाल र कतार यतिबेला राष्ट्रसंघको मानव अधिकार परिषद्मा सदस्यका रूपमा सँगै काम गरिरहेका छन्। नेपालले पनि त्यस्तो घटना व्यहोरेको छ। नेपालमा छोटो रहे पनि हामीले लामो समयदेखि भोगिरहेका छौं। तर हामीले नाकाबन्दी छ भनेर भुलिसकेका छौं। यसलाई ‘सिर्जनात्मक इख’ का रूपमा लिएका छौं। इखले कतार अहिले झन् उकासिएको छ। मानवता नै हराए झंै भएको यस्तो नाकाबन्दीले कतारलाई ठूलो पाठ सिकायो। कतार आत्मनिर्भरताको क्षमता बढाएर अघि बढ्यो। प्रगतिमा डाहा गरेर यस्तो नाकाबन्दी भएको विश्वले बुभेको छ। यसमै हामी ढुक्क छौं। हामी अन्तर्राष्ट्रिय स्तरमा काम गर्न र अघि बढ्न चाहन्छौं। लोकतान्त्रिक विधि र अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई हामीले पछ्याएका छौं। दूध, चीज उत्पादन गरेर अन्य मुलुक निर्यात गर्न थालेका छौं। कृषिमा अग्रसर छौं।

नाकाबन्दी गरेका मुलुकमा आफन्त नै बस्छन् र नेतृत्व तहमा रहेका पनि नातेदार नै छन् होइन र ?

पक्कै, सबै अरबिक मुलुकमा हाम्रा नातेदार हुन्छन्। एकअर्कामा अन्तरनिहित पनि। कतिपय व्यवसायसमेत सहकार्यमा छन्। सबै प्रगतिको रिस झैं देखिन्छ। स्वतन्त्र मुलुकले जोसँग पनि सम्बन्ध राख्छ, राख्नुपर्छ। त्यो आफ्नो मुलुकको हित हेरेर अर्कोलाई असर नगर्ने गरी सहकार्यमा अन्यले टाउको दुखाउनु हुँदैन। अहिले त्यही भइरहेको छ। आफ्नो मुलुकको उन्नति र जनताका काममा भन्दा अन्य विषयमा बढी केन्द्रित हुने तर छिमेकको प्रगतिमा रिस गर्ने बानीले समस्या देखाएको हो। आरम्भमा निकै असहज महसुस गरेका थियौं, तर अहिले कतारले नाकाबन्दी भुलिसकेको छ। नाकाबन्दी छ या छैन, जनतालाई वास्तै छैन। जनतालाई त्यो अनुभूत हुन दिएनौं। २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा हामी हतासमा थियौं। तर, देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएनौं। कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर छ।

असजिलो पर्दा नै मित्र चिनिने हो भने झैं यहाँहरूले विश्व समुदायको सदासयता कस्तो पाउनुभयो त ?

हामीले त नाकाबन्दी बिर्सिसके पनि त्यो कठोर निर्णय किन भन्दै अन्तर्राष्ट्रिय मञ्चमा उठाउन छाडेका छैनौं। राष्ट्रसंघदेखि धेरै ठाउँमा यो विषय उठाएका छौं। अधिक मित्रहरूले हाम्रो साथ दिँदै भन्ने गरेका छन्—कतारको प्रगति देखेर यस्तो अवस्था उत्पन्न गरेका हुन्। हामीले पनि त्यो महसुस गरेका छौं। तर चिर्दै अघि बढेका छौं। सन् २०२२ मा फिफा विश्वकपका लागि अग्रसर कतारले कुनै काम रोकेको छैन।

कतार अहिले भौतिक संरचना निर्माणमा वैदेशिक लगानीका लागि सुरक्षित वातावरण दिन जुटेको छ। हवाई उडान घटाएका छैनौं। ठूला पानीजहाज नआउने ठाउँमा साना पोर्ट बनाएर पनि अघि बढेका छौं। यात्रा जारी छ, रोकिने अवस्था छैन। दुई वर्षमा कतारले आफूलाई अझ बलियो, सशक्त र परिष्कृत गरेको छ। अर्को भन्नैपर्ने विषय भनेको मानवता हो। मित्रहरूले मानवता भुले बाँच्न पाउने अधिकार कुण्ठित गर्ने निर्णय लिनु आफंैमा दुर्भाग्यपूर्ण छ।

यहाँले यसो भनिरहँदा, उनीहरूले कतारलाई दोष दिँदै आएका छन् भने अन्तर्राष्ट्रिय समुदायले किन ती मुलकलाई दबाब दिन सकेनन् त ?राष्ट्रसंघको दुई महासम्मेलनमा समेत नाकाबन्दीको चर्चा चल्यो तर कसैले पनि नाकाबन्दी लगाउने मुलुकलाई केही भन्न सकेनन्। महासभामा अहिले पनि उठ्छ। कतार वार्तामा बस्न तयार हुँदा उनीहरूले बेवास्ता गरे। अमेरिका र कुबेतको मध्यस्थता खेर गए। धर्ममा समेत बन्देज झैं छौं। पवित्र मक्का–मदिना त साउदीमै छ। त्यहाँ जानसमेत रोक छ। यस्तो मानवता हराउने कार्य दुःखद् हो।

तपाईं नेपालमा रहनुभएको पनि लामो समय भयो, हामी विकासमा कहाँनेर चुकेको हौं ?

नेपालमा काम गर्न थालेको तीन वर्ष बितेको पत्तै भएन। यति धेरै साथी भएछन् कि मेरो त यो दोस्रो घर झंै भएको छ। नेपालको राजदूत (२०१६ सेप्टेम्बर) भएर आउँदादेखि अहिलेसम्म मैले यहाँको विकासको प्रक्रिया मोडल नियालिरहेको छु। म बिजनेस व्यवस्थापन नै पढेकाले पनि यसमा चासो राख्छु। नेपाल आफैंमा मनमोहक मुलुक छ। तर, यहाँ विकासका लागि ठूला योजना अघि बढाइनुपर्छ, ससाना होटल र व्यवसाय होइन। ठूलो र सबै प्रकारका सुविधा आवश्यक छन्। यहाँको बसाइ, खाना, यातायात निकै महँगो छ। कूटनीतिक परिवार काठमाडौंबाट पोखरा गएर एक साता बिताउनुभन्दा थाइल्यान्ड गएर एक साता बिताउन सस्तो पर्नेछ। यस्तो विषयमा ध्यान दिन आवश्यक छ। हवाई भाडा निकै महँगो छ। नागरिक र पर्यटकलाई फरक गरिन्छ।

हामी कूटनीतिज्ञलाई पनि असहज लाग्ने हवाई भाडा होस् या होटलमा शुल्कले मनै कँुडिएर आउँछ। यस्ता विषयमा ध्यान जान सकेको छैन। यस्ता विषय हेर्दा मसिना भए पनि तर गम्भीर हुन्। भिसा सहजीकरण मात्र पर्यटकलाई सहज हुने होइन, अन्य धेरै थोकले प्रभाव पार्छ। विमानस्थल आउनेबित्तिकै पर्यटकलाई पर्ने छाप अर्को चासोको विषय हो। स्मार्ट र हँसिला युवा अध्यागमन काउन्टरमा हुँदा र लगेज लिन जाँदा शान्त र सहज हुँदाको अवस्थाले धेरै पर्यटक तान्छ। पर्यटकमा कुनै आशंका भए छुट्टै निगरानी गर्ने हो। सबैलाई खराब झैं व्यवहारले असहजता ल्याउँछ। स्थानीय क्षेत्रमा पुग्दा पर्यटकलाई जुन ऊर्जा मिल्छ, त्यो विमानस्थलमै दिन सक्नुपर्छ। विमानस्थलबाट बाहिर निस्कँदा देखिने अस्तव्यस्तता र बाहिर पानीमा रुझ्दै टर्मिनलबाट निकै तल रहेको पार्किङ स्थल पुग्नुपर्ने अवस्थाको व्यवस्थापन देख्दा मन खिन्न हुन्छ। लगेज सुरक्षा र जतन अर्को चुनौती छ।

आर्थिक विकासका विभिन्न कार्य, पर्यटन, कृषिलगायतमा सहकार्य गर्ने कुनै सोच बनेको छ कि ?

सुरक्षा तथा कृषि क्षेत्रमा मिलेर अघि बढ्ने समझदारीमा हस्ताक्षर भइसकेको छ। कृषि उत्पादनसँगै त्यहाँ पर्यटकीय नगरीका रूपमा विस्तार गर्दै त्यसलाई बृहत् बनाउनुपर्छ। पर्यटकलाई बस्ने, खेल्ने र राति अबेरसम्म खुला हिँड्ने वातावरण हुनुपर्छ। १२ बजे नै चकमन्न हुन्छ भने त्यहाँ पर्यटक के गर्छन् ? यो राज्यले सोच्ने विषय हो। सुन्दर छ भनेर हेर्न मात्र पर्यटक आउँदैन। त्यसलाई प्रस्तुत गर्न सक्नुपर्छ। रमाइलो र आराम गर्न पनि पर्यटक आउँछन्। नत्र केही सीमित हिमाल हेर्ने, लुम्बिनी जाने, नेपाल कलाकौशल हेर्ने प्रकारको निश्चित दायराका पर्यटक मात्र आउँछन्। यही विषयमा मिलेर काम गर्न हामीले पनि खोजेका छौं। दुवै मुलुकबीच अधिकतम विषयमा समझदारी गर्ने गरी हामीले काम गर्दै आएका छौं। राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भ्रमणमा हामीबीच केही हदसम्म समझदारी भएर काम अघि बढेको छ। दुवै देशमा उच्च तहका भ्रमण गराउन र आपसी समझदारी बढाउँदै सम्बन्ध विस्तारसँगै विकासका काममा पनि अघि बढ्ने हाम्रो कोसिस रहनेछ।

नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको तर उपयोग गर्न नसकेको यहाँको धारणाबारे थप पुष्टि गरिदिनुहुन्छ कि ?

नेपालमा प्रकृतिले दिएका अनुपम उपहार छन्। पर्यटनबाटै नेपालले अथाह काम गर्न सक्छ। म आफंै पनि नेपाल भ्रमण वर्ष २०२० लाई खुलेर सहयोग गर्छु। २० लाख पर्यटकको लक्ष्यलाई सहयोग गर्न कतार तयार छ। पर्यटनलाई पनि धेरै कुराले असर गर्छ। राजनीतिक स्थिरता महत्त्वपूर्ण छ जुन नेपालले प्राप्त गरेको छ।

यसबाहेक नेपाल सरकारले भौतिक पूर्वाधारमा जोड दिएकाले पक्कै पनि लक्ष्य पूरा गर्न यसले सरकारलाई सहयोग गर्नेछ। पर्यटकलाई समान व्यवहार पनि उत्तिकै महत्त्वपूर्ण छ। पर्यटकलाई विकल्प दिन सक्नुपर्छ। एक जान आउने पर्यटकले नेपालबारे चारजनालाई सहमत गराउन सकोस् भन्ने वातावरण बनाउनुपर्छ। भ्रमण वर्ष भनिरहँदा पहिले आएकाले भन्दा नयाँ के पाउने त्यो सरकारले स्पष्ट बनाउनुपर्छ।

नेपाल–कतारबीचको दुईदेशीय मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउन कतार सरकारको नीति तथा योजना के छ ?

नेपाल र कतारबीचको सम्बन्ध असाध्यै गहिरो छ। दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, खानी तथा ऊर्जालगायतका क्षेत्रमा हामी खुला छलफल गरी उद्देश्य प्राप्त गर्न सहकार्य गर्न सक्छौं। नेपालका ठूला क्षेत्रमा लागनी गर्न कतार तयार छ। यसका लागि वातावरण बनाउने नेपालले नै हो। कतारले पनि केही गरेर माथि पुगेको हो। हामी समृद्ध हुँदै छौं। हाम्रो पुस्तालाई काम नगरी खान पुग्ने अवस्था छ। तर, काम गर्न छोडेका छैनौं।

यसको योगदान राष्ट्रपिता शेख जासिम विनमोहम्मद अलथानीलाई जान्छ। उहाँ नै कतारका राष्ट्रनिर्माता हुन्। जसले १८७८ मा कतारलाई अहिलेको कतारको रूपमा देख्नुभयो। थुप्रै चुनौती हुँदाहुँदै किशोर अवस्थामा कतारको नेतृत्व सम्हाल्दै स्वतन्त्र तथा अग्रणी राज्यमा परिणत गर्न भूमिका निर्वाह गर्नुभयो। त्यही आधारमा हामी नेपालसहित विश्व समुदायसँग सहकार्य गरिरहेका छौं। नेपालमा लगानी गर्ने र यहाँको उत्पादन कतार लैजाने विश्व बजारमा पठाउने काम गर्न सकिन्छ। तर, त्यसको वातावरण नेपालले तय गर्ने हो।१२. नेपालको व्यापार कतारसँग सन्तुलित छ त ? नेपाल र कतारबीच आर्थिक सम्बन्ध सुधार गर्दै लैजानुपर्ने र व्यापारिक सम्बन्ध सुधारबारे के छ यहाँको धारणा ?

नेपालसँग प्रचुर आर्थिक समृद्धिको सम्भावना छ। कृषि तथा शुद्ध खानेपानीको स्रोत, नेपालकै विश्वप्रसिद्ध कपडा उद्योग र कार्पेट उत्पादनले नै नेपाललाई विश्वमै धनी देशमा दराउन सक्छ। समुद्रसँग नजोडिएका कैयन् मुलुक धनी भएका छैनन् र ? यस्ता विषयाम अडेर हामी अघि बढ्न आवश्यक छ। कतार र नेपालबीच व्यापार विस्तारबारे सहमति भएको छ। व्यापार विस्तारका लागि बजारको अवश्यक अध्ययन भइरहेको छ। मेरै प्रयासमा पनि काम अघि बढेका छन्। मैले बारम्बार भनिरहेको छु कि नेपालको उत्पादनको बजार विस्तारका लागि कतारमा प्रदर्शनी गर्न आवश्यक छ। नेपालको उत्पादन तथा बजार विस्तारका लागि कतारबाट व्यावसायिक व्यक्तिहरूलाई नेपालमा स्वागत गर्न म हरदम तयार हुनेछु। अहिले वैदेशिक रोजगारमा जानेबाहेक दुईपक्षीय व्यवसाय खासै उल्लेख्य छैन। तर तरकारी, पानी, हस्तकला नेपालबाट कतार जान थालेको छ।

कतार विश्वकपको तयारीमा छ। तर, अझै पनि अनेक विषयमा बहानाबाजी भइरहेको छ, यसलाई यहाँले कसरी हेर्नुभएको छ ?

हो, हामी यतिबेला २०२२ को फिफा विश्वकपको तयारीमा छौं। अधिक तयारी पूरा भएको छ। हामीलाई यही महत्त्वपूर्ण काम गर्दा खाडी मुलुकले आफ्नो क्षेत्रमा विश्वकप हुन लागेकोमा पैरवी गर्नुपर्नेमा रिस गरेरै नाकाबन्दी लगायो। पश्चिमा केही मुलुकले हामीबाट खोसेर आफ्नोमा विश्वकपको पहल गर्‍यो। अझै दुःख दिने काम गरिरहेको छ। हामी अब विश्वकप गर्न सफल हुनेमा दुईमत छैन। म नेपाल र नेपालीलाई धन्यवाद दिन चाहन्छु, जसले कतारमा पसिना बगाएर हाम्रो उन्नतिको सारथि बनेका छन्। नेपालीको साथ र समर्थन हामीमा छ। गर्व गर्दै अघि बढ्ने छौं। दुवै देशका खेलकुदका संस्था कतार र नेपालका फुटबल एसोसिएसनबीच पनि सहकार्य सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *