मनोरंजन

रानु मन्डलको फिल्म बन्ने, राष्ट्रिय अवार्ड विजेता अभिनेत्रीलाई प्रस्ताव

रानु मन्डल अब बलिउडमा नयाँ नाम होइन। केही साथाअघि मात्र बलिउड गायिकाका रूपमा ‘डेब्यू’ गरे पनि उनको चर्चा कुनै ‘सेलेब्रेटी’ भन्दा कम छैन।सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनको स्वरको चर्चा चलिरहेको छ। गायक तथा संगीतका हिमेश रेशमियाले आफ्नो आगामी फिल्ममा रानुलाई गीत गाउने माैका दिँदै ‘तेरी मेरी कहानी’ गीत सार्वजनिक गरिसके। रानुको पहिलो व्यवसायिक गीतले धेरै प्रशंसा पनि पाएको छ।भारतको पश्चिम बंगालस्थित रानाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा चलाउने रानु ‘भिकारी’बाट रातारात बलिउड गायिका बनेकी हुन्। उनको जीवनको फड्को साँच्चै उल्लेखनीय छ।

यही कारणले होला उनको जीवनमा अब फिल्म निर्माताहरूले पनि चासो दिएका छन्। भारतीय सञ्चारमाध्यम ‘आइएनएस’का अनुसार फिल्मनिर्माता ऋषिकेश मन्डलले रानुको जीवनमा आधारित फिल्म बनाउने भएका छन्।यो बायोपिकमा ऋषिकेशले राष्ट्रिय फिल्म अवार्ड विजेता बंगाली अभिनेत्री सुदीप्ता चक्रवर्तीले रानुको भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन्।

ऋषिकेशले एक अन्तर्वार्तामा भनेका छन्, ‘सुदीप्ता चक्रवर्तीलाई यो भूमिकाका लागि प्रस्ताव गरिएको छ। उनले टुंगो नै त दिइसकेकी छैनन्, तर मलाई लाग्छ रानु मन्डलको भूमिका सुदीप्ताले जत्तिको राम्रो कसैले निर्वाह गर्न सक्दैनन्। सुदीप्ता एक प्रतिभाशाली अभिनेत्री हुन्।’अभिनेत्री सुदीप्ताले पनि आफूलाई रानुको बायोपिकको प्रस्ताव आएको स्वीकारेकी छन्। तर निधो भने गरेकी छैनन्।

उनले भनेकी छन्, ‘फिल्मको प्रस्ताव आएको हो तर अहिलेसम्म स्क्रिप्ट पाएकी छुइनँ। त्यसैले पढेरै निर्णय गर्छु।’रानुले रेलवे स्टेशनमा ‘एक प्यारका नग्मा है’ गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी चर्चामा आएकी हुन्। रानु र हिमेश रेशमियाको भेट सोनी टिभीको कार्यक्रम ‘सुपरस्टार सिंगर’ मा भएको थियो। त्यही मञ्चमा रानुको स्वर सुनेर कायल भएका हिमेशले आफ्नो फिल्ममा गाउन उनलाई अनुरोध गरेका थिए।

उनले अहिलेसम्म पाँचछ वटा गीत रेकर्ड गराइसकेको बताएकी छन्। यसमा ‘तेरी मेरी कहानी’ सार्वजनिक भइसकेको छ भने ‘आआआशिकी’को पनि टिजर रिलिज भइसकेको छ।मागेर गुजारा गर्दै आएकी ६० वर्षीया रानुको बदलिएको जीवनका लागि धेरैलाई शुभकामना दिएका छन्। उनलाई ‘रानाघाटकी लता मंगेशकर’ भन्दै प्रशंसकहरूले खुबै सरहाना गरेका छन्।

पछिल्लो समय उनको चर्चासँगै उनका जीवनका पाटाहरू पनि खुल्ने क्रममा छन्। केही समयअघि मात्रै वर्षौंदेखि भेट नभएकी उनकी छोरी एलिजावेद स्वाती भेट्न आएकी थिइन्। रानुका धेरै प्रशंसकले एलिजावेदलाई आमा गरिब हुँदा छाडेको र अहिले चर्चा पाएपछि भेट्न आएको आरोप लगाएका छन्। रानुले यसबारे केही नभने पनि एलिजावेदले विभिन्न सञ्चारमाध्यममा आफ्नो बचाउ गर्दै आएकी छन्।एलिजावेदले रानु धेरै वर्षअघि नै डिप्रेसनको रोगी भएको बताउँदै आएकी छन्। साथै रानु आफ्नो घरमा बस्न नसकेका कारण आफैं हिँडेको उनको भनाइ छ। उनले रानुका दुई बिहे भएको र उनका अरू छोराछोरी रहेको पनि बताउँदै आएकी छन्। तर यसबारे पनि रानुले केही भनेकी छैनन्।

रानुले आफ्ना बारेमा जानकारी दिने क्रममा आफू राम्रै परिवारमा जन्मेको र हजुरआमासँग हुर्केको बताएकी थिइन्। बिहेपछि मुम्बई आएको बताउँदै उनले आफ्ना श्रीमान बलिउड अभिनेता फिरोज खानको घरमा कुक काम गर्थे भनेकी थिइन्। पछि पारिवारिक समस्याका कारण आफ्नो जीवन संघर्षमय भएको उनको भनाइ छ।रानुको व्यक्तिगत जीवनबारे भइरहेका चर्चा र उनको वास्तविक जीवनका कस्ता पाटा उजागर गर्दै फिल्म बन्नेछ भन्ने त फिल्म बनेर रिलिज भएपछि मात्रै थाहा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *