राजनिति

मुक्तहलिया पुनर्स्थापनमा सरकार चुकेको स्वीकार

कञ्चनपुर  खानेपानीमन्त्री बीना मगरले मुक्त हलिया पुनःस्थापनको काम सरकारले अझै पुरा गर्न नसकेको बताएकी छन्।कञ्चनपुरको पुनर्वास नगरपालिका‍-९ ‘ख’ गाँउमा निर्माणाधीन मुक्तहलिया आवासको एक कार्यक्रमबीच बिहीबार शिलान्यास गर्दै मन्त्री मगरले मुक्तिको घोषणापछि हलिया परिवारले कष्टकर जीवन बिताएको उल्लेख गरिन्। उनले पुनस्थापनलाई प्रभावकारी बनाउन हलिया अगुवासँग पटकपटक छलफल भएको बताइन्।

मुक्तहलिया परिवारको आवासमा पहुँच, शिक्षा, स्वास्थ्य, तालिम र रोजगारीबारे जिल्लाबाट फर्केपछि सम्बन्धित मन्त्रालयमा गम्भीरर छलफल गरेर समस्या समाधान गर्ने उनले बताइन्।’पुनःस्थापन जटिल विषय हो’ उनले भनिन् ‘मुक्तहलिया परिवारलाई पुनस्थापन गर्न आवश्यक कदम चाल्न तयार छु। यसमा हलिया अगुवालेसमेत साथ दिनुपर्‍यो।’ जिल्लाको दक्षिणी क्षेत्रको समग्र विसकासका लागि कटिवद्ध रहेको मन्त्री मगरले बताइन्।

मुक्त हलिया अगुवा एवम् पूर्वसांसद हरि श्रीपाइलीले हलिया मुक्ति घोषणा गरेको लामो समय बिते पनि पुन स्थापन कछुवा गतिमा अगाडि बढेकोमा असन्तुष्टि व्यक्त गरे। ‘आवाससहित रोजगारीको ग्यारेन्टी हुनु परर्‍यो। मुक्त हलियाका बालबालिकालाई शिक्षा रोजगार, छात्रवृत्ति र सीप विकासको व्यवस्था गरिनुपर्छ,’ उनले भने।

पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन राज थापाले काम पाए खान पाउने, काम नपाए खान नपाउने हलिया समुदायको कहाँ बसौँ भन्‍ने समस्या समाधान भएको बताए। ४२ परिवारको एउटै ठाउमा गाउँका रूपमा आवास बनेकोमा उनले सन्तुष्टि व्यक्त गरे।राष्ट्रिय मुक्त हलिया महासंघ नेपालका अध्यक्ष इश्वर सुनारले आवास निर्माण, जग्गा खरिद र घर मर्मतको रकमको दोश्रो किस्ताको रकम रोकिएकाले पुन स्थापनको कार्यमा बाधा परेको बताए।

पुनर्वास नगरपालिका ९ ‘ख’ गाँउमा ४२ परिवारका लागि आवास निर्माणको कार्य शुरु गरिएको छ। प्रतिपरिवारलाई १२ धुर जग्गा उपलब्ध गराई आवास निर्माण गरिन लागेको छ।दुई कोठा, बरण्डासहितको आवास निर्माणको कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासंघ कञ्चनपुरले मन्त्री मगरलाई सोही कार्यक्रममा छबुँदे मागपत्रसमेत बुझाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *