एजेन्सी– ला–लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा आइबरले पहिलो जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा आइबरले सेभियालाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको हो।
पहिलो हाफमै २–० को अग्रता जोगाउन नसक्दा सेभियाले हार टार्न सकेन। सेभियाको लागि खेलको १२ औं मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए।३३ औं मिनेटमा ओलिभर टोरेसले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २–० ले पछि परेको आइबरले दास्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो।
आइबरका लागि ६५ औं मिनेटमा ओरेलाना पेनल्टीले गोल गर्दै २–१ को अवस्थामा ल्याएका थिए। ७७ औं मिनेटमा पेड्रो लिओनले गोल गर्दै आइबरलाई २–२ को बराबरीमा ल्याए। ८२ औं मिनेटमा कोटले आइबरका लागि तेस्रो गोल गरे। बाँकी समय दुवैतर्फ कुनै गोल हुन नसकेपछि ला–लिगामा आइबरले पहिलो जित दर्ता गराएको हो।जितसँगै ६ खेलबाट ५ अंक बटुलेको आइबर १६ औं स्थानमा छ। समान खेल खेलेको सेभिया १० अंकसहित ७ औं स्थानमा छ।