राजनिति

नेकपामा घिसिपिटी तरिका चल्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको कामले अन्तिम रुप लिएसँगै अब पार्टीका गतिविधिले रफ्तार लिने बताएका छन् ।नेकपा सम्पर्क समन्वय कमिटीद्वारा शुक्रवार आयोजित सम्पर्क भेला, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी गतिविधि घिसिपिटी तरिकाबाट होइन, अब फड्केर अगाडि बढ्ने बताए ।

‘छिट्टै केन्द्रीय समितिको बैठक बसेर निश्चित योजना र कार्यक्रमका साथ देशैभरि हामी जनता र कार्यकर्तासँग एउटै मन, विचार बनाउन सम्पूर्ण तागत लगाउँछौं,’ ठूलो संख्यामा रहेका संगठित सदस्य १ वर्षदेखि निस्क्रिय बस्दा पार्टीले निकै ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘हामीलाई के विश्वास छ भने यति ठूलो नेता कार्यकर्ता र लाखौं शुभचिन्तक भएको पार्टी एकपटक एउटै विचार, मन, संकल्प र प्रतिबद्धता गरेर अभियानमा गयो भने जनताका दुश्मन आफैं बढारिएर जानेछन् ।’

जनताले संघर्ष गरेर ल्याएको व्यवस्थाका विरुद्ध षड्यन्त्र गर्नेलाई त्यसै नछाडिने उद्घोष गर्दैै उनले जनताको विपक्षमा गतिविधि नगर्न चेतावनी दिए । ‘हिजो हामीले निकै बलिया भनिएका तत्वलाई पनि तह लगाएर आएका हौं, त्यसकारण हामीले त्यो शक्ति देखाउनुछ, देखाउँछौं,’ उनले भने, ‘तपाईंहरू आआफ्नो ठाउँबाट योगदान गर्ने संकल्प गर्नुहोस् हामी पार्टी नेतृत्वको हैसियतले तागत लगाउँछौं ।’

नेपालको इतिहासमा कम्युनिस्ट आन्दोलनले धेरै ठूलो संघर्षबाट मुलुक वर्तमान अवस्थामा आइपुगेको स्मरण गर्दै अध्यक्ष दाहालले पार्टीको प्रमुख नेतृत्वको साहसिक निर्णयले गर्दा आज देशको राजनीतिक नक्सा नै असाधारण ढंगबाट बदलिएको बताए ।

‘नेपालको कम्युनिस्ट पार्टी लोकप्रिय मतका साथ सत्तामा पुग्छ, मुलुक राजनीतिक स्थायित्वमा प्रवेश गर्छ भन्ने देशभित्र र बाहिरका धेरैले सोचेका थिएनन्,’ उनले भने, ‘अझ बुर्जुवा प्रतिक्रियावादीले त कल्पना पनि गर्न सकेका थिएनन् तर हामीले त्यो कुरा गरेर देखायौं । झण्डै असम्भव लाग्ने कुरालाई सम्भव बनाएको छौं ।’

स्थापनादेखि अहिलेसम्मको यात्रामा कम्युनिस्ट आन्दोलन असाधारण एकतामार्फत राज्यको नेतृत्व गर्ने अवस्था आइपुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनले एक्काइसौं शताब्दीमा विश्वलाई एउटा उदाहरण प्रस्तुत गरेको बताए ।

पार्टी एकतामा भएको ढिलाइका कारण स्वभाविक रुपमा प्रश्न उब्जिएको बताउँदै उनले ढिलै भएपनि एकता एकीकरणले लगभग अन्तिमरुप लिएको जानकारी दिए । अध्यक्ष दाहालले भने, ‘लगभग एकता एकीकरणको काम सकिएको छ । निकै थोरै मात्र बाँकी छ । अब २/४ घण्टाको छलफलपछि एकताका बाँकी काम सम्पन्न हुन्छन् ।’

‘नेतृत्व तहबाट केही जोखिम उठाउँदै, असाधारण पहलकदमी गर्दै आजको परिस्थिति बनेको हो । त्यति सजिलै आजको अवस्था आएको होइन,’ अध्यक्ष दाहालले भने, ‘हामीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीले दयामाया गरेर शक्तिशाली बनाएको होइन, हामी आफ्नै पौरख र मेहनतले, जनतासँगको अपार प्रेम र विश्वासिलो सम्बन्धका कारण एक ठाउँमा आएको हो । हामीलाई उतारचढावको राम्रो ज्ञान छ।’

नेकपाको गतिविधिले अब रफ्तार लिएको उल्लेख गर्दै उनले भने, ‘अब नेकपाको उडान शुरू भएको छ । कुखुराले झै खोस्रिनेसम्म हामीले खोस्रिसक्यौं, कुखुराजस्तै झण्डै एक वर्ष लुटपुटियौं, अब चिलले जस्तो उडान भर्ने समय आएको छ । हेर्नुहोला अबको एक वर्षमा नेकपा सम्पूर्ण जनताको एकमात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ ।’अहिलेको नेतृत्व पंक्तिको जीवन ठूल्ठूला फड्काको बीचबाट अगाडि बढेको सन्दर्भ पेश गर्दै उनले नेतृत्वका बारेमा शंकाउपशंका नगर्न आग्रह गरे ।

एकाथरि मान्छेले २/४ वटा हल्ला गर्दैमा नेकपा चुप लागेर नबस्ने भन्दै उनले नेकपालाई कमजोर ठानिए त्यो उनीहरूको मुर्खता हुने बताए । ‘लाखौं, करोडौं जनताको नेतृत्व गर्ने पार्टी त्यतिकै चुप लागेर बस्छ भन्ने सोचियो भने त्यो उनीहरूको मुर्खता सिवाय केही होइन,’ अध्यक्ष दाहालले भने, ‘हामी आफ्नो बाटोबाट फर्कन सक्दैनौं । हामी आफ्नो गन्तव्यसम्म पुगी छाड्ने छौं । त्यो विश्वास नेतृत्व तहमा हामी पैदा गरिराख्या छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *