मनोरंजन

न भगवान, न दानव, हामी मानव

म कहिलेकाहीँ सोच्दछु यदि मेरो चोर औंलामा सुदर्शन चक्र हुने हो भने संसारमा भइरहेको हरेक अराजकता र असत्यमाथि सजिलै विजय पाउँथेँ होला।यदि मेरो हातमा दुर्गा माताले बोक्नुभएको जस्तो त्रिशूल हुने हो भने संसारका हरेक बलात्कारीहरू त्यही त्रिशूलले चिराचिरा पारिदिन्थेँ होला अनि कैयौं निर्मलाहरूलाई न्याय दिन्थेँ होला।

यदि मसँग भगवान शिवको जस्तै तेस्रो नेत्र हुन्थ्यो भने देशद्रोही, भ्रष्टाचारी, शोषक र सामन्तीहरूलाई भष्म गरिदिन्थेँ होला। र, उनै भगवान शिवको जस्तो धैर्यता र अथाह सहने शक्ति हुने हो भने जगत भलोको लागि सजिलै कालकुट विष पिइदिन्थेँ होला।यदि भगवान बह्मा र माता सरस्वतीको जस्तो ज्ञान हुने हो भने सारा विश्व ज्ञानमय बनाइदिन्थेँ होला।

यदि माता लक्ष्मीको जस्तो मेरो हातबाट धनको वर्षा हुने हो भने संसारमा कोही गरिब हुन्थेन होला। यदि भगवान बुद्धले जस्तै त्याग गर्ने त्यो अथाह क्षमता भएको भए उहिल्यै बुद्धत्व प्राप्त गरेर यो लोभलालच, घमण्ड र मायमोहको जालझेलबाट टाढै बस्थेँ होला।म यस्तै यस्तै सोच्छु कहिलेकाहीँ। म आँधी बनेर यस्तो सोच्छु। म शान्त बनेर पनि यस्तो सोच्छु। म कसैको भलाइ गर्ने बारेमा सोच्छु। म कसैको विनाश गर्ने बारेमा सोच्छु। म अज्ञानी भएर सोच्छु। म ज्ञानी भएर सोच्छु। म प्रेमले सोच्छु। म घृणाले सोच्छु।

म यसरी नै सोचिरहन्छु किनकी न म भगवान हुँ न म दानव हुँ। म नितान्त मानव हुँ।हो, म नौ रसले निर्मित एक मानव हुँ। म आफूभित्र श्रृङ्गार, हाँस्य, करुणा, रुद्र, वीर, भयानक, विभत्स, अद्भुत र शान्त सबै स्वभाव लिएर जन्मिएको एउटा मानव हुँ।

किताबमा लेखिएको जस्तो र हामीलाई सुनाइएको जस्तो सर्वसम्पन्न गुणले भरिपूर्ण म त्यो भगवान होइन र त्योसँगै भयानक रूपमा प्रस्तुत गरिएका जस्तो दानव पनि होइन। तर यसो भनिरहँदै गर्दा अलिअलि भगवान र अलिअलि दानव मिसिएको म एउटा मानव हुँ।यही मानवको कर्म कहिलेकाहीँ अलि बढी राम्रो हुँदा भगवान् हुन जान्छ भने अलि बढी खराब हुँदा दानव हुन जान्छ।

यदि हामी मानव भगवान भइरहने हो भने हामीबाट कहिले पनि केही गल्ती नहुनु पर्ने हो र यदि दानवै हो भने पनि हाम्रो मनमा कुनै केही चिजप्रति दया नै नहुनुपर्ने हो।हामी मानवबाट हजारौं गल्ती भइरहँदा हजारौं पुण्यको काम पनि भइरहेको छ।

हामीले कति पाप गरेका छौं, कति पुण्य गरेका छौं, त्यसको लेखा जोखा हामी आफैंले गरेका छौं होला। तर पनि हामी पुण्यको काम गरेर जितिरहेका छौं अनि हजार गल्तीहरू गरेर हारी पनि रहेका छौं।हामी हार्दै जितिरहेका छौं। हामी जितेर हारिरहेका छौं। हामी लड्दा लड्दै उठेका छौं अनि उठेर हिँड्दा हिँड्दै लडेका पनि छौं।आजकाल अलि बढी सोसल मिडियामा देख्ने गर्छु। मानवहरूलाई छानीछानी देवत्वकरण गरिरहेका छन् र छानीछानी दानवीकरण पनि गरिरहेका छन्।

भगवान र दानव बनाउने होडबाजीमा तिनीहरू मानव हुन् भनेर बिर्सिरहेका छौं। विडम्बना हामीले असल मानवलाई असल मानवको दर्जा दिनतिर लागिरहेका छैनौं र खराब मानवलाई खराब मानवको संज्ञा दिनतिर लागिरहेका छैनौं। हामीलाई त वस् कि भगवान बनाउँनुछ कि त दानव।एउटा मानवले एकदमै असल काम गर्‍यो भने ऊ एकक्षणमै भगवान भइहाल्छ र त्यही मानवबाट केही गल्ती भयो र केही कमजोरी देख्यो भने उत्तिनै खेर दानव भइहाल्यो।

एउटै व्यक्तिलाई भगवानको सुनको ताज लगाउन हामी तछाडमछाड गर्छौं अनि एकैछिनमा त्यो ताज निकालेर उसलाई बहिष्कार र विरोध गर्न केही क्षण पनि लगाउँदैनौं।हामीले उनीहरूलाई भगवान र दानव बनाउँदा बनाउँदा मानव बन्नै दिँदैनौं। मानवलाई मानव भएर बाँच्नै दिँदैनौं।कहिले हामी मानव भएर आत्मालोचन गर्दै गर्दैनौं। कहिले मानव भएर सबै वस्तुस्थितिलाई बुझ्ने कोशिस नै गर्दैनौं।

यो किन भइरहेछ के कारणले भइरहेछ भनेर सोचेर सम्झेर परिस्थितिको समालोचना गर्ने हाम्रो फुर्सद नै छैन।यसो भनिरहँदा राम्रो गर्नेलाई भगवान भन्न नपाउने भन्ने कुरा आउँला। सम्मान दिने हो। प्रशंसा गर्ने हो। गलत कुरामा खबरदारी गर्ने पनि हो। तर मेरो भनाइ भनेको उनीहरूलाई मानव बनाएर नै उनीहरूको प्रशंसा र विरोध गर्ने हो न कि भगवान र दानव बनाएर।

कोहीले पनि अन्धोभक्त भएर एकपक्षीय रूपमा समर्थनको नाममा समर्थन मात्रै गरिरहने र विरोधको नाममा विरोधमात्रै गर्ने प्रवृत्ति चाहिँ गलत हो।हामीले कसैको विरोध गर्दा कसैको न कसैको पक्ष लिएका नै हुन्छौं। कसैको समर्थन गरिरहँदा कसैको न कसैको विपक्षी भइरहेका हुनछौं। यो स्वभाविक पनि हो। हरेक व्यक्तिहरू केही न केही सिद्धान्तबाट प्रेरित भएका हुन्छन्।

मैले अपनाएको सिद्धान्त चाहिँ सोह्रै आना सही र अरुको अँगालेको सिद्धान्त चाहिँ सोह्रै आना गलत भन्ने परिपाटीको विकास गर्न भएन।हामी सबै आआफ्नो तरिकाबाट आआफ्नो क्षमताबाट विकासको बारेमा सोच्छौं। हामी त्यसैगरी न्याय दिने बारेमा सोच्छौं। हामी परिवर्तनको बारेमा सोच्छौं।

हामी आवाजविहीनहरूको आवाज बन्ने बारेमा सोच्छौं। हामी दृष्टिविहीनहरूको दृष्टि बन्ने बारेमा सोच्छौं। तर यति मात्रै हो कि यो सोच्दासोच्दै कहिलेकाहीँ कोही मावनभित्र दानव प्रवृत्ति धेरै जाँग्छ भने कोही मानवभित्र भगवान प्रवृत्ति बढी। तर सत्य यो हो कि मानवभित्र नै यही सारा घटनाहरू घटेका हुन्छन्।मानवलाई मानवीकरण गरेर प्रशंसा र विरोध गरेको राम्रो देखिन्छ र मानवलाई मानव भएर नै बाँच्न सिकाउनु पनि पर्छ।बहसको विषय भगवान र दानवभन्दा पनि मानवको हुनुपर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *