राजनिति

ज्ञानेन्द्र शाही थप उपचारका लागि काठमाडौं रिफर

चितवन – भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको सांघातिक आक्रमणपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।भरतपुरको चौविसकोठीमा आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो शाहीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरको होटल ग्लोबलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नम्बरको माइक्रो बसमा आक्रमण भएको हो । युवा समूहले ढुंगा, रड, लाठी प्रहार गरी माइक्रो बसभित्र रहेका शाही सहितको समूहमाथि आक्रमण गरेको हो ।प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौं गएका छन् । उनको अवस्था खतरामुक्त रहेको मल्लले बताए ।शाहीले काठमाडौंको अस्पतालमा उपचार गर्न चाहेको बताएपछि अस्पतालले रिफर गरेको हो । उनको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा समस्या भएको छ ।

आक्रमणमा घाइते भएका अन्य २ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए ।प्रहरी उपरीक्षक मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने १ जनालाई पक्राउ गरिएको छ । उनीमाथि आक्रमण भएको खबर पाउनासाथ उद्धार गरिएको प्रहरी उपरीक्षक मल्लले बताए ।

त्यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट युवाहरुले चौविसकोठीमा शाहीले सम्बोधन गर्ने गरी गर्न लागिएको कार्यक्रम बिथोलेका थिए ।झडप हुन सक्ने भन्दै प्रहरीले पनि कार्यक्रम नगर्न आग्रह गरेको प्रहरी उपरीक्षक मल्लले बताए । शाहीमाथि कसले आक्रमण गर्‍यो भन्ने विषयमा बुझ्ने काम भइरहेको उनले बताए । सो क्रममा माइक्रोबस समेत तोडफोड भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *