अन्तरास्ट्रिय

राष्ट्रसंघ महासभामा इमरानले भने: ८० लाख कश्मिरीलाई जनावरजसरी राखिएको छ

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्ति स्थापनाका लागि आफ्ना तर्फबाट गरिएका प्रयत्नलाई भारतले नकारेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

५० मिनेट लामो सम्बोधनका क्रममा उनले भारत र पाकिस्तानबीच लडाइँ शुरु भएको खण्डमा नतिजा ‘जे पनि हुनसक्ने’ चेतावनी दिए। उनले परमाणु हतियारको प्रयोगतर्फ संकेत गर्दै सानो देशसँग धेरै विकल्प नहुने बताए।उनले भने, ‘पाकिस्तान भारतभन्दा सात गुना सानो छ। जब लडाइँको स्थिति आउँछ, हामीसँग आत्मसमर्पण गर्नु वा अन्तिम श्वास बाँकी रहेसम्म संघर्ष गर्नुबाहेक विकल्प रहँदैन। त्यस्तोमा हामी अन्तिमसम्म लड्नेछौं। यो धम्की होइन, यसलाई स्वभाविक चिन्ताको रुपमा लिइयोस्।‘

इमरानले शान्ति स्थापनाका लागि भारतसँग पाकिस्तानले गरेको कोशिशको फेहरिस्त सुनाए। ‘सबैभन्दा पहिले त हामीले सम्पर्क कायम गर्ने कोशिश गर्‍यौं। मैले मोदीसँग भनें, हाम्रा समस्याहरु उस्तै छन् – गरीबी र जलवायू परिवर्तन। आउनुस्, विश्वासमा आधारित सम्बन्ध विकास गर्दै अघि बढौं,’ उनले भने, ‘तर दुर्भाग्य, मोदीले कुनै सकारात्मक कदम उठाएनन्। मैले सोचें, चुनावको समय भएकाले सम्बन्ध सुधार्न नखोजेका होलान्।’

‘त्यसपछि एउटा २० वर्षको केटोले पुलवामामा आत्मघाती हमला गर्‍यो। केटोको बुबाले भनेका थिए, ऊ कट्टरवादी शक्तिहरुको प्रभावमा थियो। तर भारतले हामीमाथि आरोप लगायो। मैलैं प्रमाण दिन भनें, तर भारतले त्यसो गर्नुको सट्टा हवाइ हमला गर्‍यो। तीमध्ये दुईवटालाई हामीले खसालिदियौं। समातिएका एकजना पाइलटलाई तुरुन्त फिर्ता गर्‍यौं,’ इमरानले अगाडि भने, ’तर पाइलट फिर्ता गर्ने हाम्रो निर्णयलाई शान्तितर्फको पहलकदमी मान्नुको सट्टा मोदीले पाकिस्तानविरुद्ध चुनावी अभियान चलाए।’

गत पाँच अगष्टमा भारतले कश्मीरको विशेष दर्जा खारेज गरेपछि मात्रै मोदीको नियत प्रष्टिएको इमरानको भनाइ थियो। ‘मोदीले सिमला सम्झौता तथा आफ्नै संविधानविरुद्ध कदम चालेका छन्’, उनले भने। ८० लाख कश्मीरीलाई जनावरजसरी राखिएको भन्दै इमरानले कर्फ्यु हट्नेवित्तिकै जनताले सरकारको प्रतिवाद गर्ने बताए।कुनै कश्मीरी युवकले कश्मीरमा केही तलमाथि गरेमा पाकिस्तालाई दोष आउने सम्भावना पनि उत्तिकै रहेको इमरानले बताए। भारत विश्वकै ठूलो बजारमध्येको भएकाले अन्य देशहरु कश्मीर मामिलामा मौन बसेको उनको आरोप थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *