राजनिति

राष्ट्र संघमा मोदी र खानको सम्बोधनः तीतो घटेन, झन् बढ्यो

नयाँ दिल्ली । भारत र पाकिस्तानका प्रधानमन्त्रीले गएको शुक्रबार संयुक्त राष्ट्र संघको ७४ महासभालाई सम्बोधन गरेपछि ती दुई देशको तिक्तता अझ बढेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महासभालाई सम्बोधन गरेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना भनाइ विश्व समुदायलाई राखेका थिए । मोदीको भनाई नरम जस्तो देखिए पनि खान भने भारतले काश्मीरको मामिलामा चालेको कदमबारे निकै आक्रामक भएका थिए । पाकिस्तानका प्रधानमन्त्री खानले भारतको राष्ट्रिय स्वयंसेवक संघलाई हिटलर शैलीको संगठन भन्दै त्यसको आजीवन सदस्य भारतको प्रधानमन्त्री मोदी भएकोसमेत जनाएका थिए ।

खानको भनाईलाई लिएर पाकिस्तानमा उनको सह्राहना नै भएको पाइएको छ । उता भारतमा पनि मोदीको सम्बोधनलाई सकारात्मक रुपमै लिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता भारतीयले भने पाकिस्तानका प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाएका छन् । खान व्यक्तिगत रुपमै समेत आलोचनामा उत्रिएको प्रसंगले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनले मोदी गुजरातका मुख्यमन्त्री हुँदा भएका हत्याका कारण उनी अमेरिका जान पनि विगतमा अयोग्य भएको सम्मका सवाल उठाएका थिए ।

भारतका प्रधानमन्त्री मोदीले पाकिस्तानको नाम नलिई विश्व शान्ति र कट्टरपन्थीको विषयमा आफ्नो धारणा राखेका थिए । उनले विश्वका लागि नै भारतले काम गरिरहेको मात्रै बताएनन् भारतले विश्वलाई युद्ध होइन बुद्ध दिएको समेत बताएका थिए ।

उता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने भारतका गतिविधिलाई विश्वको सबैभन्दा ठूलो मञ्चमा धुवाँधार विरोध गरेका थिए । उनले दुवै देशका बीचमा युद्ध भएमा त्यसको असर अन्य मुलुकलाई पनि पर्ने भन्दै सचेत गराएका थिए । मोदीको १५ मिनेट र खानको ५० मिनेटको भाषणले बढाएको तिक्तताले कुन बाटो लिन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।

जवाफमा के भन्यो भारतले ?
भारतले संयुक्त राष्ट्र संघको महासभामा ‘राइट टू रिप्लाई’ अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उठाएको प्रश्नको जवाफ दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रथम सचिव विदिशा मैत्राले इमरान खानको भाषण भड्काउ खालको र झूठो भएको बताएकी थिइन् । इमरानले आफ्नो ५० मिनेट लामो भाषणमा पाकिस्तानले धेरै पटक शान्तिका लागि प्रयास गरेको भए पनि भारतले नमानेको बताएका थिए । उनले आफूहरुको साथ केही प्रश्न रहेको र पाकिस्तानले आफ्नोे दाबी पुष्टी गर्नुअघि त्यसको जवाफ दिनुपर्ने बताएकी थिइन् । उनले प्रश्नको रुपमा निम्न कुराहरु राखेकी थिइन्:

१, पाकिस्तानले संयुक्त राष्ट्र संघको सूचीमा रहेका १३० जना आतंकवादी र २५ आतंकवादी संगठन पाकिस्तानमा छन् भन्ने पुष्टि गर्न सक्छ ?२, के पाकिस्तान विश्वमा आफ्नो सरकार मात्रै त्यस्तो छ जो राष्ट्र संघद्वारा प्रतिबन्धित अल कायदा सम्बन्धी व्यक्तिलाई पेन्सन दिएर राखेको कुरा भन्न तयार छ ?

३, पाकिस्तानले आफ्नो न्यूयोर्कस्थित हबिब बैंक किन बन्द गरेको भन्न सक्छ ? किनकि त्यो बैंकले आतंकवादी गतिविधिका लागि लाखौं डलरको लेनदेन गरिरहेको थियो ।४, के पाकिस्तान फाइनान्सियल एक्सन टास्क फोर्सले २७ मे मा २० भन्दा बढी मानकको उल्लंघन गरेको बारेमा जवाफ दिन सक्छ ?५, के प्रधानमन्त्री इमरान खान न्यूयोर्क शहरको सामुन्ने इन्कार गर्न सक्छन् उनी ओसमा विन लादेनको खुलेआम समर्थन गर्छन् ?उनले खानले त्यसरी भाषण गर्नु अन्तर्राष्ट्रिय मञ्चको दुरुपयोग पनि भएको बताइन् । उनले भनिन्,“कुटनीतिमा शब्दको महत्वपूर्ण भूमिका हुन्छ । एक्काइसौं शताब्दीमा नरसंहार, रक्तपात, नश्लीय श्रेष्ठता, बन्दुक उठाउने कुरा र अन्त्यसम्म लड्ने कुरा गर्नु मध्यकालीन मानसिकता हो ।”मैत्राले इमरान खान क्रिकेटर भएको र पहिला ‘जेन्टलम्यान गेम’मा विश्वास गर्ने गरेकोमा अहिले उनी भाषणले असभ्यताको तल्लो स्तरमा पुगेको आरोप लगाइन् ।

उनले पाकिस्तानले अल्पसंख्यक माथि दमन गरिरहेको जनाउँदै निन्दाको नाममा कानुनको प्रयोग गरिरहेको र जबर्जस्त धर्म परिवर्तन गरेको आरोप लगाएकी थिइन् । त्यसैगरी, भारतका नागरिकको तर्फबाट कसैले पनि बोल्नुपर्ने जरुरी नरहेको बताउँदै इमरानतिर संकेत गरेर भनेकी थिइन्,” कमसेकम उनका लागि त झनै छैन जसले घृणाको विचारधाराबाट आतंकवादको उद्योग बनाएका छन् ।”

फिर्ता हुँदा के भने मोदीले ?
भारतका प्रधानमन्त्री मोदी शनिबार साताब्यापी अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि बिमानस्थलमा सम्बोधन गर्दा पाकिस्तानको प्रसंग ननिकाले पनि २८ सेप्टेम्बरकै दिन तीन वर्ष अघि भारतले गरेको सर्जिकल अट्याकको स्मरण गर्दै सेनाको प्रशंसा गरेका थिए । उनले स्वदेश फर्किएपछि अमेरिकामा रहेका भारतीयको भूमिकाको समेत प्रशसा गरेका थिए । उनले भारतीय नागरिकले त्यहाँ सम्मानजनक काम गरेको भन्दै प्रशंसा गरे ।उनको सम्मानमा ह्युस्टनमा भएको हाउडी मोदी कार्यक्रममा करिब ५० हजार भारतीयका अतिरिक्त अमेरिकी राष्ट्रपति ट्रम्प पनि सहभागी थिए । उनको अमेरिका भ्रमणको क्रममा दुई देशबीच व्यापार सम्बन्धी संझौता हुने अपेक्षा गरिए पनि त्यसो भने हुन सकेन ।

सार्क झन् अल्झिने संकेत
नेपालको पहलमा संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को मन्त्रिस्तरीय बैठक न्यूयोर्कमा गएको विहीबार भए पनि त्यो बैठकले पनि तिक्तता मेट्न सकेन । सो बैठकमा भारत र पाकिस्तान एकै पटक भेट्ने अवस्था समेत रहेन । त्यसले गर्दा लामो समय देखि अवरुद्ध सार्कको १९ औं शिखर सम्मेलन चाँडै होला भनेर अनुमान गर्न झन् गाह्रो भएको छ ।

के भन्छन् विज्ञ ?
अमेरिकाको डेलावेयर विश्वविद्यालयका प्राध्यापक मुक्तदर खानले मोदीको राष्ट्रसंघमा सम्बोधनबारे भनेका छन्, “भारतीय प्रधानमन्त्री मोदीले तीन चारवटा महत्वपूर्ण कुरा उठाए । सबैभन्दा महत्वपूर्ण विषय उनले दुनियाँलाई के याद दिलाए भने भारत विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र हो । हालैको चुनावमा उनी र उनको पार्टीलाई ठूलो जनसमर्थन प्राप्त भयो । उनले आफूलाई विश्वकै सबैभन्दा ठूलो निर्वाचित नेता भएको सन्देश दिन खोजे । साथै उनले यो पनि बताएकी भारत विश्वलाई बाटो देखाउन चाहन्छ कि गरिबीलाई कसरी हटाउने र जलवायु परिवर्तनलाई कसरी रोक्ने ? उनले सरकारका केही नीतिबारेमा भारतले राम्रो गरिरहेको जनाएका थिए । तर, काश्मीरको मुद्दामा भारतको विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा जुन कुरा भनिरहेको छ त्यसबारेमा उनले केही पनि बताएनन् । काश्मीरमा संविधानको धारा ३७० जसरी हटाइयो र हटाएपछि जुन प्रतिबन्ध लगाइयो त्यसबारेमा उनले केही बोलेनन् ।”

“भारतको विरुद्ध उठेका सवालहरुमा उनले केही पनि बोलेनन् । उनले विश्व शान्ति, बन्धुत्व र उग्रवादको विरुद्धमा विश्वका सबै देशलाई एक साथ आउन आग्रह गरे । तर, उनले अल्पसंख्यक रुपमा रहेकाहरुलाई कस्तो व्यवहार गरिरहेका छन् भन्ने बारेमा केही पनि बोलेनन् । यदि विश्वलाई शान्ति र बन्धुत्वको सबक सिकाउनु छ भने सबैभन्दा राम्रो तरिका त्यो हुन्छ कि उनी आफ्नै मुलुकमा यो कुरा लागु गरुन् ।”

उनले थपे, “भारतमा सुस्त हुँदै गएको अर्थतन्त्रका बारेमा पनि उनले केही पनि बताएनन् । उनले यो अवस्थालाई सुधार्नको लागि के नीति ल्याउँछन् भन्ने कुरा पनि गरेनन् । पछिल्ला केही वर्षमा लगानी घट्दै गइरहेको छ । यसबाट भारत मात्रै होइन अन्तर्राष्ट्रिय संस्था पनि चिन्तित छन् । उनले भारतको अर्थतन्त्र फेरि एक पटक सामान्य अवस्थामा आउँछ भनेर विश्वलाई जानकारी गराएको पाइएन । संयुक्त राष्ट्रसंघको महासभामा विश्वले अक्सर फ्रान्स, चीन र रुसका नेताहरुको कुरा सुन्ने गरेको छ । यो अवस्थामा भारतीय प्रधानमन्त्री मोदीले एक प्रयास के गरे भने भारत विश्वका मुद्दामा पनि चासो राख्छ । उनको भाषण हेर्दा उनले अमेरिकी राष्ट्रपतिलाई नक्कल गरेको आभास भइरहेको थियो । उनी आफ्नै प्रशंसा गरिरहेका थिए । चुनावमा मिलेको विशाल जनसमर्थनको कुरा गरिरहेका थिए । उनले आफ्नो सफलतालाई पनि विश्व समक्ष राखे । मोदीसँग एउटा महत्वपूर्ण मौका थियो । उनले भारतलाई एउटा विश्वव्यापी अगुवाको हिसाबले अघि सार्न सक्थे । तर, उनी त्यसमा सफल भएनन् । उनी आफ्नै निर्वाचन क्षेत्रमा सम्बोधन गरेको जस्तो अवस्थामा देखिए ।”

अमेरिकामा भारतका पूर्व राजदूत नबतेज सरनाले बीबीसीँगको कुराकानीमा भनेका छन्,” प्रधानमन्त्री मोदी विकासमा जोडिएका विषयमा केन्द्रीत रहे । आफ्नो कार्यकालको समयमा शुरु भएको सफल योजनालाई विश्व परिवेशमा राख्ने प्रयास गरे । प्रधानमन्त्रीले भारतको विकासमा जनसहभागिताको बारेमा पनि चर्चा गरे । उनले विश्व शान्तिको लागि काम गरिरहेको भन्दै ठूलो संख्यामा शान्ति सेनाले जीवन दिएको चर्चा गरेका थिए । उनले आतंकवादको विरुद्धमा भारत रहेको र त्यसमा साथदिन सम्पूर्ण विश्वलाई आग्रह समेत गरेका थिए । उनले नाम नै लिएर पाकिस्तानलाई आतंकवादको प्रायोजक वा समर्थक भनेनन् । उनको भाषण सटिक थियो ।”

उता पाकिस्तानका पत्रकार हारुन रसिदले खानको मन्तव्यको विश्लेषण गर्दै भनेका छन्,“पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्र संघको महासभामा तीन चारवटा मुद्दामा कुरा उठाएकोमा उनी धेरैजसो काश्मीरको मुद्दामा केन्द्रित थिए । आफ्नो भाषणमा काश्मीरका बारेमा उनले यसअघि देखि नै भन्दै आएका कुरा गरेका थिए । फरक यो थियो कि उनी यसपालि अन्तर्राष्ट्रिय मञ्चमा बोलेका थिए । उनले विश्वलाई भारत र पाकिस्तानबीच युद्ध भएमा दुई देशलाई मात्रै होइन त्यसले विश्वलाई नै प्रभावित पार्ने बताएका थिए । उनको यो भनाइको असर अन्तर्राष्ट्रिय समुदायमा कत्तिको पर्छ त्यो हेर्न बाँकी छ ।”

पत्रकार हारुनको थप भनाइ थियो, “उनले गरेको भाषणको अहिले पाकिस्तानमा प्रशंसा भइरहेको छ । भाषणमा उनले काश्मीरमा भइरहेको कर्फयू अन्त्य गर्न माग गरेका थिए । उनले मन्तव्यमा भारतले १३ हजार काश्मीरी युवालाई हिरासतमा लिएको र उनीहरुलाई मुक्त गर्नुपर्ने बताएका थिए । अन्तर्राष्ट्रिय जगतले यसलाई कसरी लिएको छ भन्ने खुलिसकेको छैन । अमेरिकाको कुरा गर्दा उसले भारत र पाकिस्तान दुवैलाई खुसी पार्न खोजेको पाइएको छ । अमेरिकी राष्ट्रपतिको शैली नै यस्तो भएपछि अरु देशले पनि यो मामिलामा चासो देखाउलान् जस्तो लाग्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *