राजनिति

महँगीलाई नियन्त्रण गर्न संयुक्त विद्यार्थी संगठनले गर्‍यो सरकार समक्ष माग

काठमाडौं १२ असोज : दसैँ, तिहार र छठलाई लक्षित गरेर खाद्यान्न तथा तरकारीमा भएको महँगीलाई तत्काल नियन्त्रण गर्न सरकारसँग संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् ।

अनेरास्ववियु पाचौंको कार्यालय रातोपुलमा बसेको संयुक्त विद्यार्थी संगठनकाे बैठकले तत्काल दैनिक उपभोग्य बस्तुको मूल्य समायोजन गरेर महँगीलाई नियन्त्रण नगरे कडा आन्दोलनमा उत्रिने सरकारलाई चेतावनीसमेत दिएकाे बैठकमा सहभागी नेपाल विद्यार्थी सङ्घका नेता अनुराग शाहले जानकारी दिए।

दुई घण्टाको लामो छलफलपछि संयुक्त विद्यार्थी संगठनले छ बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।जारी गरिएको संयुक्त प्रेम विज्ञप्तिमा चाडबाडको समय पारेर हुने मिसावट, कालोबजारी, महँगीलाई नियन्त्रण गरी यातायातको असुबिधालाई अन्त्य गर्दै सर्वसुलभ तरिकाले यात्रा गर्ने वातावरण बनाउन र शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ ।

विज्ञप्तिमा मेडिकल कलेजहरूले नियम कानुन भन्दा विद्यार्थीबाट बढी लिएको शुल्क तत्काल ब्याज सहित विद्यार्थीलाई फिर्ता गर्न पनि मेडिकल कलेजलाई आग्रह गरिएको छ, अविलम्ब सो शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिँदै आन्दोलन बाट आउने परिणामको जिम्मेवारी सम्बन्धी पक्ष हुने पनि जिकिर गरिएको छ ।

‘संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय,राष्ट्रिय परीक्षा बोर्ड लगायत शैक्षिक प्रतिष्ठानले दिने छात्रवृत्ति पारदर्शी बनाउन शैक्षिक संस्थाहरूका आफ्ना सूचना बोर्डमा प्रकाशित गर्न र तोकिएको छात्रवृत्ति दिने कुराको कार्यान्वयन गर्न पनि माग गरिएको छ, मागलाई बेवास्ता गरिए परिणाम राम्रो नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

विद्यालय तहमा परम्परागत मौलिक संस्कृति माथि प्रहार गर्दै विदेशी चाडपर्व मनाउन विद्यार्थीबाट शुल्क लिने गरेको कुरा प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यो कार्य तत्काल रोक्न माग गरिएको छ।त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, भौतिक शास्त्र स्नातकोत्तर तह प्रथम सेमेस्टर २०७५ सालको क्वान्टम मेकानिकल फिजिक्स विषयको परीक्षामा शिक्षा दक्षद्वारा पौष २९ गते गठित सिताराम ब्याहुतको छानबिन समितिले अधिकांश प्रश्न पाठ्यक्रम बाहिरबाट भएको निष्कर्ष सहितको प्रतिवेदन दिएकोले पीडित विद्यार्थीहरूलाई तत्काल विशेष परीक्षा गराउन र दोषी उपर कारबाही गर्न माग गरिएको छ।

जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घका पूर्व उपाध्यक्ष ऋषिकेश जङ्ग शाह, अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र,अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल,अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रवीण मिश्र, गोपाल किराँती निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ,राष्ट्रवादी विद्यार्थी सङ्घका अध्यक्ष तारा प्रसाद अर्याल र नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घका अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *