राजनिति

ज्ञानेन्द्र शाहीमाथि आक्रमण: बाबुरामदेखि गगन थापासम्मको विरोध

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणलाई लिएर सामाजिक सञ्जालमा विरोध भइराखेको छ।नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुरस्थित चौबिसकोठीमा आयोजना गरेको कार्यक्रममा भाग लिन शनिबार पुगेका शाहीमाथि ढुंगामुढा प्रयोग गरी आक्रमण भएको थियो। शाही सवार माइक्रो पनि तोडफोड भएको छ भने आक्रमणबाट शाहीको टाउकोमा चोट लागेको छ।

चितवन मेडिकल कलेजमा उपचार गराएर थप उपचारका लागि शाहीलाई काठमाडौं ल्याइएको छ। शाहीमाथि भएको आक्रमणलाई लिएर सामाजिक सञ्जालमा नेताहरूले विरोध गरेका छन् भने दोषी पहिचान गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले शाहीमाथिको आक्रमण प्रजातन्त्रविरूद्धको प्रहार हो भनेका छन्। ट्वीट गर्दै थापाले भनेका छन्, ‘भ्रष्टाचारविरूद्धका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको सांघातिक आक्रमणको भत्सर्ना गर्दछु। यो आक्रमण प्रजातान्त्रिक अधिकारविरूद्ध प्रहार हो। कानुनी राज्यको उपहास हो। दोषीहरू लाई अविलम्ब कानुन अनुसार कारबाही गरियोस्।’सत्तारूढ समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले पनि लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न नमिल्ने उल्लेख गरेका छन्।

‘हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन। लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ,’ भट्टराईले ट्वीट गरेका छन्, ‘निरंकुशता/फाँसीवाद र लोकतन्त्रबीच मुख्य अन्तर यही हो। के हाम्रा कमरेडहरू सामाजिक फाँसीवादतिर उन्मुख भएकै हुन्?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कायरहरूले शाहीमाथि आक्रमण गरेको बताएका छन्।‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायरहरूबारे के टिप्पणी गर्नु। यो कायरताका लागि उक्साउनेहरू दोषी हुन्। अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ,’ थापाले ट्वीट गरेका छन्।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शाहीमाथि भएको आक्रमणको सरकारले छानविन गर्नुपर्ने उल्लेख गरेका छन्। ‘चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ,’ पार्टीकोसमेत धारणा राख्दै मिश्रले ट्वीट गरेका छन्, ‘सत्ताधारी दलका कार्यकर्ताको गैरकानुनी र उदण्ड व्यवहारलाई बैलैमा नियन्त्रण गर्न सरकारलाई सचेत गराउँछौं।’

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि स्वतन्त्र विचार राख्ने अधिकार हनन् गर्न नपाइने बताएका छन्। पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘चाहे जुनसुकै बाहनामा होस् कसैले कसैको पनि स्वतन्त्र रूपमा विचार राख्न पाउने अधिकारलाई हनन् गर्न सक्दैन। ज्ञानेन्द्र शाहीको विचारसँग असहमत हुन पाइन्छ तर उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न पाइँदैन। कुटेर आवाज बन्द गर्न सकिँदैन, अरिंगालहरूलाई ख्याल होस्।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि शान्तिपूर्ण विरोध सहन नसक्ने प्रवत्तिमार्फत पञ्चायत र कम्युनिष्ट शासनमा फरक छैन भन्ने पुष्टि गर्न खोजिएकोमा विरोध गरेका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘लोकतन्त्रका लागि मण्डले विचार र मण्डले चरित्र कुन घातक? रगत-पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताको निधारमा मण्डलेकरणको कालो पोत्ने कर्म किन गराइँदैछ? शान्तिपूर्ण विरोध सहन नसक्ने प्रवृत्तिमार्फत पञ्चायत र कम्युनिष्ट शासनमा फरक छैन भन्ने पुष्टि किन गर्न खोजिँदैछ प्रधानमन्त्रीज्यू?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *