अन्तरास्ट्रिय

बेलायतमा नेपाली फिल्म पासवर्ड : सिनेवर्ल्डका १ दर्जन सिनेमामा चल्दै

लण्डन । तीन साताअघि प्रदर्शनमा आएको नेपाली चलचित्र पासवर्ड अहिले बेलायतको ए ग्रेडको सिनेमा सिनेवर्ल्डमा प्रदर्शन भइरहेको छ ।लण्डनका इनफिल्ड, वेम्बली, फेल्थाम, ईलफोर्ड, ओटु एरिनादेखि, अल्डर्सट, आसफोर्डसहितका १ दर्जन सिनेवर्ल्ड सिनेमामा शुक्रबारदेखि पासवर्ड चलिरहेको छ ।

सिनेवर्ल्ड बेलायतको प्रतिष्ठित सिनेमा चेनहरुमध्येको एक प्रमुख हो । जहाँ यसअघि केहि नेपाली चलचित्रका एकाध विशेष शोहरु आयोजना गरिएको भएपनि सिनेमाकै तालिकामा परेर नियमित प्रदर्शन भएको भने पासवर्ड नै पहिलो नेपाली चलचित्र हो ।

‘शुक्रबारदेखि हरेक दिन नियमित रुपमा प्रदर्शन भइरहेको छ । शनिबार र आइतबार त दिनको ४ शोसम्म पनि परेका छन्’ , चलचित्रका एक प्रमुख कलाकार विक्रम जोशीले भने, ‘अरु दिनमा पनि दिनको २, ३ सम्म शोहरु पाइरहेकै छ ।’

आउँदो २ सातासम्म चलचित्रले सिनेवर्ल्डमा शोहरु पाइराख्ने अपेक्षा उनको छ । ‘बेलायतको ए ग्रेड सिनेमामा पहिलोपटक चलिरहेको नेपाली चलचित्र बेलायतबासी सम्पुर्ण नेपालीहरुले गएर हेर्नुहुनेछ र हौसला दिनुहुनेछ भन्ने मलाई आशा छ’, जोशीले भने ।पासवर्डको यो प्रदर्शनीले भविष्यमा अरु नेपाली चलचित्रलाई पनि अवसरको ढोका खोलिदिने काम गरेको उनी बताउँछन् ।

शुक्रबारदेखि नै यो चलचित्र इण्डिया, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई लगायतका देशमा पनि स्थानीय सिनेमामा प्रदर्शन गराइएको छ ।

सम्राट बस्नेतको निर्देशन रहेको पासवर्डका निर्माता हिरल जोशी र अमित बस्नेत हुन् । चलचित्रमा विक्रम जोशी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, लिसा सुनार, सनमकुमार वैराग लगायतकाको अभिनय छ । बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स समेत चलचित्रमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *