प्रमुख समाचार

चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्षः बेइजिङ्गमा हुँदैछ सबैभन्दा ठूलो परेड

बेइजिङ्ग । चीनले मंगलबार बेइजिङ्गमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ । अक्टोबर १ का दिन चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० औं वर्ष पुग्दैछ । यस अवसरमा चीनले यसपालि विशेष हिसाबले वार्षिकोत्सव मनाउन लागेको हो । सो अवसरमा चीनले आफूले बनाएका हतियारको पनि प्रदर्शन गर्ने भएको छ ।

भोलिको वार्षिकोत्सव कार्यक्रम तियानमेन स्क्वायरमा गर्न लागिएको छ । कार्यक्रममा विभिन्न ९७ मुलुकका १८८ मिलिटरी एट्याचीको पनि सहभागिता हुने जनाइएको छ ।चीनको रक्षा मन्त्रालयका प्रवक्ताले हालैको एक पत्रकार सम्मेलनमा चीनलाई आफ्नो मसलको प्रदर्शन गर्नु जरुरी नभएको तर शान्तिप्रेमी र जवाफदेही चीन प्रदर्शनमा देखाइएने जनाएका थिए । रक्षा मन्त्रालयका अनुसार भोलिको परेडमा १५हजार सेनाले भाग लिनेछन् । यसैगरी सो अवसरमा १६० वटा जहाज आकाशमा उडाइनेछ । यसपालि पहिलो पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकपनि भाग लिने जनाइएको छ ।

८० मिनेट लामो मंगलबारको कार्यक्रममा चीनको ७० वर्षको प्रगतिको झल्को दिन खोजेको छ । मेजर जनरल तथा मिलिटरी परेड ज्वाइन्ट कमाण्ड अफिसका उपनिर्देशक तान मिनले हालै एक प्रेस ब्रिफिङ्गका क्रममा प्रदर्शन गरिने हतियार चीनमै बनेका हुने जनाएका थिए । चीनमा सन् १९४९मा माओले चीनमा जनगणतन्त्रको स्थापना गरेका हुन् । १९६६ देखि ७६ सम्म साँस्कृतिका क्रान्ति चलेको थियो । १९७७मा देङ्ग सियायोपिङ्गले चीनको अर्थतन्त्रमा मुख्य सुधारको पहल गरेका थिए ।

सेनाले सन् १९८९मा तियानमेन स्क्वायरमा लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि दमन गरेको थियो । सन् २०१०मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भयो । सन् २०१८मा अहिलेका राष्ट्रपति सी जिनपिङ्गले आफू सधैका लागि चीनको राष्ट्रपति हुन सक्ने व्यवस्था गरेका हुन् ।

चीनको अहिले सम्मको विकासलाई लिएर विश्वले नै आश्चर्य मान्दै आएको छ । तर, मानवअधिकार र स्वतन्त्रताको कुरालाई लिएर उत्तिकै प्रश्नपनि उठिरहेका छन् । अहिले विश्वमा एउटा ध्रुवको नेतृत्व अमेरिकाले र अर्को ध्रुवको नेतृत्व चीनले गर्ने अवस्था उत्पन्न भइरहेको बेलामा चीनले विशेष कार्यक्रम गर्न लागेको हो ।यसैगरी हङकङका कार्यकारी प्रमुख केरी लेम पनि आज सोमबार २०० मानिस लिएर बेइजिङ्ग पुग्ने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *