प्रमुख समाचार

विमान उड्नासाथ टायर पड्कियो, डेढ घण्टासम्म आकाशमै फन्को

ब्रिसबेन, असोज १३ । अस्ट्रेलियाको ब्रिसबेनमा एउटा विमानको आकस्मिक अवतरण गराइएको छ । विमानस्थलबाट उडान भर्नासाथ टायर पड्किएपछि विमानको आकस्मिक अवतरण गराइएको हो ।

अधिकारीहरुका अनुसार क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमान आइतबार ब्रिसबेनबाट उडान भरेको थियो । उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको थियो ।टायर पड्किँदा विमानमा ठूलो आवाज आएपछि यात्रु डराएका थिए । लगत्तै पाइलटले टायर पड्किएको जानकारी दिँदै यात्रुलाई नआत्तिन आग्रह गरेका थिए ।

उनले एयर ट्राफिक कन्ट्रोललाई विमानको अवस्था जानकारी गराउँदै ब्रिसबेन विमानस्थलमै अवतरण गराउन चाहेको बताएका थिए । विमानका ६ मध्ये पाँचवटा टायरका भरमा अवतरण गराउन जोखिम हुने भएपछि करिब डेढ घण्टासम्म विमानस्थलभन्दा केही परको आकाशमा विमानले फन्को मार्दै इन्धन रित्याएको थियो ।अवतरणका लागिमात्र चाहिने इन्धन बाँकी रहेपछि विमानलाई विमानस्थलमा ओरालिएको थियो । विमान सकुशल अवतरण गरेको बताइएको छ ।उक्त विमानमा ७६ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *