राजनिति

अब सडक मानवमुक्त नेपाल घोषणा गर्छौं : प्रधानमन्त्री

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताएका छन् । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए ।

खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’सरकारले २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउने गरी काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।

नेपाल ‘दक्षिण एसियाकै’ पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा
नेपाल सरकारले काठमाडौँमा सोमबार एक भव्य कार्यक्रम गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताए ।कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम र लक्ष्य पुरा भएको बताइन् ।

युएनलगायतका प्रतिनिधिहरुले सरसफाइमा नेपाल सरकारले गरेको तीव्र प्रगतिको सराहाना गरेका थिए ।घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेललगायतले नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा गरेर उदाहरणीय काम गरेको बताएका थिए ।

मन्त्री मगरले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपाल नै खुला दिसामुक्त राष्ट्र हुन पुगेकोमा खुसी व्यक्त गरिन् ।देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् ।

‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ । देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं,’ खानेपानी मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले बताएका छन् ।

‘राउटेका छैनन् शौचालय’

कार्यक्रममा सम्बोधन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा पनि सवै घरमा शौचालय बनाएको भन्दै राउटे समुदायका लागि भने स्थायी शौचालय बनाउन नसकेको बताए ।

उनले राउटेहरु स्थायी रुपमा नबस्ने भएकाले त्यो समस्या आएको उनले बताए । उनले कर्णाली प्रदेशमा खानेपानी अभाव भएको भन्दै त्यसका लागि सरकारले प्रयास गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *