राजनिति

योगेशलाई विश्वप्रकाशको प्रस्ताव– डिक्सनेरी पार्सल गरुँ ?

काठमाडौं । तनहुँमा आइतबार कांग्रेस नेता डा. मीनेन्द्र रिजालमाथि भएको आक्रमणलाई लिएर कांग्रेस नेता विश्वप्रकाश शर्मा र नेकपाका नेता योगेश भट्टराईबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।

कांग्रेसका प्रवक्तासमेत रहेका शर्माले पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका भट्टराईलाई तीतो नबोल्न सुझाव दिएका छन् । भट्टराईले कांग्रेसलाई इंगित गर्दै अराजकताको घोडा चढ्न नसुहाउने टिप्पणी गरेपछि शर्माले यस्तो सुझाव दिएका हुन् ।शर्माले आज ट्विट गर्दै मन्त्री भट्टराईलाई सरकारमा रहेका अन्य मन्त्रीहरु भन्दा फरक बन्न पनि आग्रह गरेका छन् । शर्माले उनलाई २०४८–०५० मा तत्कालीन नेकपा एमाले प्रतिपक्षमा रहँदाको अवस्था पनि स्मरण गराएका छन् ।

“तपाईं अलि फरक बन्नोस् । सरकारमा बसेर तितो बोल्ने ‘बहादुरी’ अरुले गरिरहेकै छन् नि ! अधिनायक आकांक्षाको घोडामा थपिएर शालिन प्रतिपक्षलाई अराजक देख्न थाल्दाचैँ कमरेड म सम्झन्छु०४८०५० को प्रतिपक्षको ध्वंस । के गरुँ शब्द परिभाषा बुझ्न ‘डिक्सनेरी’ पार्सल गरुँ ?,” कांग्रेस प्रवक्ता शर्माले भनेका छन् ।

यसअघि मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेसलाई इंगित गरेर अराजकतावादको घोडा चढ्न नसुहाउने लेखेका थिए, “लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम ।”भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको कुटपिटको घटनामा कांग्रेसले विरोध गरेपछि मन्त्री भट्टराईको यस्तो टिप्पणी आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *