आर्थिक

खसिबोका प्रतिकिलो ५ सय ६० र च्यांग्रा ७ सय ४० रुपैयाँ, सरकारका तर्फबाट प्रतिकिलो १० रुपैयाँ छुट

काठमाडौं । दसैं, तिहार र छठका लागि सरकारले खसी, बोका र च्याङग्राको बिक्रीवितरण सुरु गरेको छ । सोमबारदेखि सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय परिसरबाट खसिबोका तथा च्यांग्रा बेच्न सुरु गरेको हो ।

खाद्य संस्थान र नेसनल ट्रेडिङ कम्पनी गाभिएर बनेको नयाँ कम्पनीले दसैंको लागि छुटमा मासुजन्य जिउँदो पशु बेच्न थालेको हो । कम्पनीले खसी तथा बोका तथा च्यांग्राको मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । जसअनुसार खसिबोका प्रतिकिलो ५ सय ५० रुपैयाँ तथा च्याङग्रा प्रतिकिलो ७ सय ३० रुपैयाँमा उपलब्ध हुनेछ । कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए ।हाल बजारमा जीउँदो खसी बोका प्रतिकेजी ६ सय ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ । कम्पनीले बजारमा मासुको मूल्यमाथि नियमन गर्ने योजनासहित मासुको मूल्य निर्धारण गरिएको छ । कम्पनीले मूल्य निर्धारण गरेसँग्ै बजारमा मासुको मूल्य सस्तिने बताइएको छ । सरकारले दसैंका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका तथा च्यांग्रा बिक्री गरेको हो ।

यसवर्षका लागि कम्पनीले काठमाडौं उपत्यकामा करीब तीन हजारको संख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि १ हजार ९ सय २० च्यांग्रा र करिब एक हजार खसी, बोका राजधानी ल्याइँदै छ ।

हालसम्म केही खसी, बोका तथा च्यांग्रा काठमाडौँ आइसकेका छन् । अरु एकदुई दिनभित्र ल्याइने योजना छ । कम्पनीले सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्यांग्रा बिक्री गर्ने छ ।सरकारले खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागेको हो । खसी, बोका ढुवानीबाहेक जीउँदो प्रतिकिलो बढीमा ५ सय ७० रुपैयाँमा खरिद गरिएको बताइएको छ ।त्यस्तै च्यांग्रा जीउँदो प्रतिकिलो ५ सय ६० रुपैयाँमा खरिद गरिएको छ ।

यसैबीच कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले यस वर्षको दसैंमा मासुको अभाव नहुने जिकिर गरेका छन् । उनले बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्न खोजे कालोबजारी ऐनअनुसार तत्काल कारवाही गरिने चेतावनी पनि दिए ।

मन्त्री खनालले दसैंमा मासुको अभाव हुने भन्ने उपभोक्तामा अनावश्यक हल्ला सिर्जना गरेकाले कालोबजारीलाई सलबलाउन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त अनुगमन समिति गठन गरिएको बताए । उनले आवश्यक परे आफू पनि अनुगमनमा जाने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *