प्रमुख समाचार

दसैंको समयमा झापामा बम बिस्फोट गराउने विप्लव माओवादीको योजना असफल

झापाका स्थानीय तहमा बिस्फोट गर्ने गरी प्रतिबन्धित नेकपा माओवादी ‘विप्लप’ समूहले माटोमा गाडेर राखेको ठूलो परिमाणको बिस्फोटक पदार्थ झापा प्रहरीले बरामद गरेको छ। अर्जुनधारा१ सिस्ने स्थित एउटा गाईगोठमा माटोमा पुरेर राखिएको उक्त पदार्थ झापा प्रहरीले बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार राति प्रहरीले बिस्फोटक पदार्थ बरामद गरिएको हो। बीस दिनअघि गाडेर राखेको उक्त बिस्फोटक पदार्थ प्रहरीले बरामद गरिएको झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।

उनका अनुसार प्रहरीसहित सिस्नेमा चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोली समेत पुगेको थियो। सो टोलीले जमिनमुनि गाडेको २५ केजी बिस्फोटक पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार उक्त पदार्थ अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।प्रहरीको अनुसन्धानका क्रममा यो सामग्री झापाका स्थानीय तहमा पड्काउनको लागि राखिएको बुझिएको छ। प्रहरीका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी हाइ एक्सप्लोसिभ लगायत बरामद भएको हो।

झापामा दुई साताअघि पक्राउ परेका विप्लप समूहका जिल्ला सेक्रेटरी प्रवीण मिश्र ‘मनिष’को समूहले उक्त सामग्री चियाको विषादी भन्दै आफन्तको घरमा सुरक्षित राखिदिन त्यहाँ पुर्‍याएको प्रहरी उपरीक्षक मैनालीले बताए। मिश्र पक्राउ परेको समाचार सुनेपछि आफन्तले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई शंकास्पद सामग्रीबारे आइतबार दिउँसो जानकारी गराएका थिए।

विप्लप समूहका सेक्रेटरी मिश्रको समूहले दुई बोरा यस्तै प्रकृतिको सामग्री त्यो घरमा पुर्‍याएको प्रहरीले बताएको छ। त्यो पदार्थ राख्ने समूहले एक बोरा त्यहीँ राखेर अर्को एक बोरा सँगै लिएर गएको घरधनीले सुरक्षा अधिकारीलाई जानकारी दिएका छन्।

दसैंको व्यस्त समय पर्खेर उनीहरूले बिस्फोट गराउन एक बोरा सामग्री त्यहाँ सुरक्षित राखेको हुन सक्ने अनुमान प्रहरीको छ।‘दसैंको बेला बिस्फोट गराउने योजना उनीहरूको थियो भन्ने बुुझिएको छ,’ झापाका प्रहरी उपरीक्षक मैनालीले सेतोपाटीसँग भने। बम बिस्फोटमा प्रयोग हुने सामग्री बरामद भएसँगै विप्लव समूहबाट हुने सम्भावित क्षति कम भएको मैनालीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *