प्रमुख समाचार

मौसममा सुधार हुँदैछ, दसैंमा चिन्ता लिनुपर्दैनः मौसमविद्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको मध्य भूभागमा सामान्य बदली हुनुका साथै पूर्वी तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । मौसमविद् बरुण पौडेलले पहाडी भूभागका कतिपय स्थानमा छोटो समयको लागि छिटपुट वर्षा हुने सम्भावना भए पनि अब तत्काललाई झरी नै भने नपर्ने बाह्रखरीसँगको कुराकानीमा बताए ।

उनको भनाइ थियो,‘‘अब हिले दसैं नै हुने हो कि भन्ने आशंका नगर्दा हुन्छ । केही स्थानमा सामान्य वर्षा हुन सक्छ । तर, त्यो छोटो समयका लागि मात्रै हुने हो । त्यसले जनजीवनमा कुनै पनि असर गर्दैन ।’’

उनले जुन १० तारेखमा मनसुन भित्रिनुपर्नेमा यसपालि जुन २० मा मात्रै भित्रिएकोले पूर्वनिर्धारित समय भन्दा केही बढी मनसुन कायम रहेको उनले जनाए। मनसुन अक्सर सेप्टेम्बर २३मा जानुपर्नेमा यसपालि आज अक्टोबर ३ भइसक्दा पनि कायम रहेको छ ।

आज मध्य तथा पूर्वका थोरै स्थानमा साथै पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो महाशाखाले भारतको उत्तर प्रदेश आसपासमा न्युनचापीय प्रणाली रहेको र यसले नेपालमा सामान्य प्रभाव परेको जनाएको छ ।

आउँदो शनिबार सम्म नै मौसम आंशिकदेखि सामान्य बदली हुने समेत महाशाखाको बुलेटिनमा उल्लेख छ । आगामी २४ घण्टा देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

उता बाढी पूर्वानुमान महाशाखाले आगामी एक हप्तासम्म प्रमुख नदीहरुमा बहाव घट्ने तथा आज पश्चिम राप्ति र बबईका केही सहायक नदीमा बहाव सामान्य बढ्ने जनाएको छ । दसैं आसपाससम्म केही स्थानमा क्षणिक मध्यम वर्षाको सम्भावना रहेकोले कच्ची सडकमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *