प्रमुख समाचार

आजबाट नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौं । नेपाल प्रहरीले आज महाअष्टमीदेखि विजया दशमीसम्म तीन दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । दसैंमा यात्रुको सहजताका लागि भन्दै प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकामा दुई ओटा बस सेवा सञ्चालन गर्न लागेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार। आज बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्ने बस सेवाको रूट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नपार्क, नागस्थान, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन् ।

यस्तै, रूट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक र बालुवाटार रहेका छन् ।

बुटवलमा सवारी चेकजाँच कडा, दोहोरो टिकट काटेको यात्रुको गुनासो
प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ ।

चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाहरुको समन्वयमा बसपार्क क्षेत्रमा सवारी जाँच र अनुगमन गरिएको हो । दशैँका समयमा पुख्र्यौली घर फर्किने यात्रुहरुको यात्रा सहज होस् भन्ने उद्देश्यले बसपार्कमा सवारी साधनको उपलब्धता, काउण्टरले प्रदान गरेको सेवा, बसमा सवार यात्रुहरुको अवस्थाबारे जाँच र अनुगमन गरिएको समितिका संयोजक तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले जानकारी दिए ।

समितिले दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारी साधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन यात्रु, चालक, सवारीधनी एवं आम नागरिकमा अपिलसमेत गरेको उनले बताए । अनुगमनका क्रममा कतिपय यात्रुहरुले समयमा गाडी नछुटेको, एउटै सिटमा दोहोरो टिकट दिएको, गाडी नम्बर उल्लेख नगरी टिकट दिँदा समस्या भएको गुनासो गरेको समितिका संयोजक खरेलले बताए ।

यसैबीच विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरेर रुपन्देही प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा योजना मजबुत पारिएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा आपराधिक गतिविधि हुनसक्ने भएकाले विशेष सुरक्षा सतर्कता अपनाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ‘सर्वसाधारण ठगिने, लुटिने र रमाइलोका नाममा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, जुवातास खेल्नेजस्ता क्रियाकलाप हुन सक्छन्, त्यसको नियन्त्रणका लागि प्रहरी सतर्क छ ।’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *