प्रमुख समाचार

सामाजिक सदभाव र जनताको खुसी देख्दा हर्षित भएको छु, बढीभन्दा बढी नाकाहरु खाेल्नेछाैँ : राष्ट्रपति सी

काठमाडौँ, २६ काठमाडाैं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सगरमाथा र हिमाली क्षेत्रको रक्षा गर्न चीन सदैव तयार रहेको बताउनुभएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले होटल सोल्टीमा आयोजना गरेको विशेष रात्रिभोज समारोहलाई सम्बोधन गर्दै साझा गृहस्थल पृथ्वी र विशेष गरेर सगरमाथा र हिमाली क्षेत्रको रक्षा गर्न आफूहरु सदैव तयार रहने बताउनुभयो ।

उहाँले नेपाल र चीनबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको पनि बताउनुभयो । ‘हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ।’ चिनियाँ राष्ट्रपति सीले भन्नुभयाे । उहाँले दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्ने पनि उल्लेख गर्नुभयो ।

राष्ट्रपति सीले सीमापारीको रेल सम्भाव्यता अध्ययन सुरु गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयाे, ‘हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं ।’ केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग गर्ने र अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्ने पनि प्रतिबद्धता गर्नुभयाे ।

‘बढीभन्दा बढी नाकाहरू खाेल्छाैँ’

बढीभन्दा बढी नाकाहरु खाेल्ने र नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्ने पनि सीले बताउनुभयाे । ‘बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं’, उहाँले भन्नुभयो ।

राष्ट्रपति सीले कान्तिपुरी नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरूलाई भेटेको र नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा आफू हर्षित भएको पनि बताउनुभयो । उहाँले भन्नुभयाे, ‘नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु ।’

उहाँले दुई देशका जनताबीचको समझदारी बढ्ने पनि विश्वास लिनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘मलाई आशा छ, दुई देशका जनताबीचको समझदारी अझ बढ्नेछ ।’

संस्कृति र पर्यटनले जाेड्ने

नेपाल भ्रमण वर्ष २०२० काे अवधिमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपाल आउन उत्प्रेरित गर्ने पनि उहाँले बताउनुभयाे । साथै शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरुमा लगानी बढाएर जनताबीचको समझदारी बढाउने पनि बताउनुभयाे ।

चीनमा बुद्ध धर्म मान्ने र नेपालमा जस्तै बुद्ध धर्म चीनमा पनि स्थानीय धर्म बनेको उहाँकाे भनाइ थियाे । सीले भन्नुभयाे, ‘भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्ध धर्म मान्ने मान्छेहरुको संख्या संसारमा सबैभन्दा बढी छ । नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्र नभएर बौद्धदर्शनको उद्गमस्थल पनि भएकाे बताउनु भएकाे थियाे ।

नेपाली नेताहरुसँग मिलेर चीन र नेपालबीचको सम्बन्धका नयाँ खाका र योजनाहरु बनाउन पाउँदा आफू अत्यन्तै खुशी भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचारको आदान-प्रदान गर्नेछु ।’

बनाएका योजनाहरुलाई पूरा गरेरै छोड्ने प्रतिबद्धता समेत सीले व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *