आर्थिक

फौजी किरा प्रकोप : बाँके र बर्दियामा ९० प्रतिशत धान बाली सखाप

सुइँया (बाँके) : नेपालगन्ज उपमहानगरपालिका-१९ सुइँयाका राधेश्याम कुम्हारको ९ कठ्ठा जग्गामा लगाएको धान पाक्न नपाउँदै किराले काटेर ठुटो मात्र बाँकी छ। धानको डाँठ भने हरियो नै देखिन्छ। नपाकेको धानको बाला जति किराले काटेर भुँइभरी छरिएको छ।

उनका छिमेकी मुन्नी यादवको १५ कठ्ठामा लगाएको धान ९० प्रतिशत किराले खाएको छ। ‘किराले खायो भनेर हिजो काटेकी थिए। काटेको धानमा पनि अझै काटेको छ’, उनले धान देखाउँदै भनिन्, ‘हेर्नुस् यो धान होइन। अब पराल मात्र हो।’

सोही टोलका ७० वर्षका राधेश्याम यादवको ३२ कठ्ठा जग्गाको धान पनि किराले सोत्तर पारेको छ। ‘यो वर्ष धेरै धान फल्छ भनेर मख्ख थियौं। किराले सत्यानास बनायो। अब के खाने ?’, यादवले दुःखेसो पोखे। उनले ५० वर्षअघि यस्तो किराले दुःख दिएको सम्झे, ‘सबै धान नै सखाप पार्ने गरी किरा लागेको यो पहिलो पटक हो। यो वर्ष त गाउँभरी अनिकाल पर्छ।’

राधेश्याम, मुन्नी र राधेश्याम यादव मात्र होइन, एउटै टोलका अहद अलि शेख, जामल खाँ, मोहम्मद इस्लाम खाँ, नन्दकुमार यादवलगायत सबैको ९० प्रतिशतभन्दा बढी पाक्नै लागेको धान बाली फौजी किराले नोक्सान गरेको छ। पाँच सय रुपैयाँ प्रति किलोमा सुपरकल्पना, गोरखनाथ, ६४४४, ६४५१ जातका हाइब्रिड धानको बिउ रोपेका किसान लागत नठ्नेभन्दा वर्षभरी के खाने भन्नेमा चिन्तामा छन्। ‘धान यति सप्रेको थियो कि एक कठ्ठामा तीन क्वीन्टल फल्ने अनुमान थियो। सबै किराले सिध्यायो’, नन्दकुमार यादवले भने।

नेपालगन्ज १९ कै छिमेकी टोल मन्नीपुरमा फेरन काँदु हरियो धान काटिरहेका थिए। उनको धान ३० प्रतिशत किराले काटिसकेको छ। ‘कम्तीमा पनि पन्ध्र दिनपछि धान काट्न तयार हुने हो। हरियोमा काट्दा केही बचाउन सकिन्छ कि ?’, उनले आशा व्यक्त गरे। उनी जस्तै खेतमा रमेश काँदु लगायतका छिमेकीहरु हरियो धान काटिरहेका भेटिए। सबै क्षति जोगाउने भन्दै थिए।

कृषि ज्ञान केन्द्रले धान बालीमा कालो तथा खैरो किसिमका लार्भाले पात खाने, काट्ने तथा बाला काटेर नोक्सान गर्ने फौजी किरा भएको जनाएको छ। फौजी किरा दिनभर धानको बोटको फेंदमा लुकेर बस्छ र रातमा धान काट्छ। ज्ञान केन्द्रले नेपालगन्ज उपमहानगरपालिकाका साथै डुडुवा र राप्ती सोनारी गाउँका केही वडाहरुमा फौजी किराले बाली नोक्सान पारेको जनाएको छ। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाको बकोटियामा पनि फौजी किराको प्रकोप छ।

‘जिल्लामा कम्तीमा पनि तीन सय हेक्टरमा क्षति पुगेको छ। किसानको बढीमा ७० देखि ७५ प्रतिशतसम्म क्षति भएको हामीले पाएका छौं। क्षतिको एकिन विवरण भने संकलन भइरहेको छ’, केन्द्रका प्रमुख सागर ढकालले अन्नपूर्णसँग भने, ‘एउटै किसानको कम्तीमा ५ कठ्ठादेखि बढीमा २ विगाहसम्म क्षति भएको छ।’

केन्द्रले २२ असोजदेखि प्रकोप प्रभावित क्षेत्रको अवलोकन गरी विषादि वितरण गरिरहेको जनाएको छ तर मन्नीपुर र सुँइयाका किसान भने अझै पनि विषादी कहाँ पाइन्छ भन्नेमा अनभिज्ञ छन्। मन्नीपुरका रमेश काँदुले संवाददातासँग जिज्ञासा गरे, ‘ज्ञान केन्द्रमा वडाको सिफारिस लैजानुपर्छ कि त्यत्तिकै विषादी पाइन्छ सर ?’

फौजी किराको क्षतिबाट धान जोगाउन प्रभावित क्षेत्रमा सिँचाइ गर्न, ८० देखि ८५ प्रतिशत धानको दाना पहेंलो भए पछि काट्न, मट्टितेल र विषादी छर्कन किसानसँग ज्ञान केन्द्रले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *