काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका नेपाली कराँते खेलाडी उत्साहित बनेका छन्। लामो समयदेखि सागको तयारीमा रहेका खेलाडी विदेशी प्रशिक्षकको प्रशिक्षणले थप उत्साहित बनेका हुन्। खेलाडीलाई मलेसियाका प्रशिक्षकले एक साता प्रशिक्षण दिएका थिए। एसियन कराँते टेक्निकल कमिटीका संयोजकसमेत रहेका मलेसियाका प्याट्रिक लिमले नेपालको साग कराँते टोलीलाई प्रशिक्षण दिएका थिए। लिम काताका विशेषज्ञ हुन्। नेपाली खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजानुभन्दा विदेशका राम्रा प्रशिक्षक झिकाएर नेपाल कराँते महासंघले खेलाडीलाई प्रशिक्षण दिएको हो।
सागका लागि कराँतेमा दुई वैकल्पिकसहित ३४ खेलाडी छनोट भएका छन्। छनोट भएका खेलाडीको बन्द प्रशिक्षण ललितपुरको सातदोबाटोस्थित कराँते एकेडेमीमा भइरहेको छ। नेपाल कराँते महासंघले कातामा दुई वैकल्पिकसहित १२ र फाइटमा २२ खेलाडी छनोट गरेको छ। जसमा एकल कातामा महिला र पुरुषमा समान एक एक तथा टिम कातामा महिला र पुरुषमा समान तीन तीन जना खेलाडी छनोट गरिएको छ। फाइटमा महिलामा १० र पुरुषमा १२ खेलाडीले सागमा प्रतिस्पर्धा गर्नेछन्।
सागका लागि एकल काता पुरुषतर्फ आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ र महिला एकल कातामा आठौंकै स्वर्णधारी चञ्चला दनुवारले प्रतिस्पर्धा गर्नेछन्। मन्डेले टिम कातामा पनि प्रतिस्पर्धा गर्नेछन्। महिला टिम कातामा निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले प्रतिस्पर्धा गर्नेछन्। कोपिला विष्ट वैकल्पिक खेलाडीमापरेकी छन्।
फाइटमा पुरुषतर्फ विनोद शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द महर्जन, विनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बू, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लव श्रेष्ठ, शेखर श्रेष्ठ, सुशील पौड्याल र वीरबहादुर रनेनीले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ विभूषा थापा, अमृता शाक्य, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाइवा, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, पूजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। यसपटक टोलीमा पुराना खेलाडी अमृता शाक्य, विनोद शाक्य, विनोद महर्जन र राम लिम्बूले टिममा पुनरागमन गरेका छन्। नेपाल कराँते महासंघले आठौं राष्ट्रिय खेलकुदपछि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रशिक्षणमा राखेको थियो। त्यसपछि खुला छनोट प्रतियोगिता आयोजना गरी सागका लागि खेलाडी छनोट गरिएको थियो।
खेलाडीले राम्रो तयारी गरेकाले नेपालले सबै विधामा पदकको आशा गरेको टोलीका मुख्य प्रशिक्षक मदन उप्रेतीले बताए। ‘सागमा फेरि कराँते खेल समावेश भएपछि देशभरका खेलाडी उत्साहित भएका छन्। युवा खेलाडीको आगमन र केही गरौं भन्ने भावना सबैमा छ। आठौं सागमा जस्तै यसपटक कराँतेले राम्रो गर्र्नेमा हामी विश्वस्त छौं’, प्रशिक्षक उप्रेतीले भने।
सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौंं दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गरेको हालसम्मकै ठूलो खेलकुद प्रतियोगिता हो। साग खेलकुद आयोजनाका दृष्टिले मात्र होइन, पदक र देशको साख जोगाउने हिसाबले पनि विशेष छ। दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो खेलमेला सागको १३औं संस्करण आगामी डिसेम्बर १ देखि १० सम्म नेपालमा हुँदैछ।
नेपाललाई सागमा सर्वाधिक सफलता दिलाउने खेल कराँते पनि हो। नेपालमै आयोजना भएको सागको आठौं संस्करणदेखि कराँते खेल समावेश भएको थियो। त्यसपछि लगातार तीन संस्करण कराँतेले प्रवेश पायो। भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं संस्करणमा कराँते खेल समावेश नहुँदा नेपाल पदक तालिकामा निकै तल परेको थियो। आयोजकको हिसाबले नेपालले यसपटक १३औं सागमा कराँतेलाई समावेश गरेको छ। सागमा कराँतेको समावेश र विदेशी प्रशिक्षकको समेत आगमनले नेपाली कराँते टोली उत्साहित देखिएको छ।