प्रमुख समाचार

आम्दानीको स्रोत बन्दै हस्तकला

धादिङ – जंगलबाट सल्लाको गोटा, सुकेका बिरुवाको जरा, बाँस ल्याएर विभिन्न आकृति बनाउनु बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, मलेखुका सुरेन्द्रप्रसाद त्रिपाठीको दैनिकी बनेको छ। उनले पृथ्वी राजमार्ग छेवैमा विभिन्न डिजाइनका हस्तकला सामान बनाउने गर्छन्। घरमै बसीबसी मासिक ४० हजार कमाई हुने उनले बताए। ‘आफ्नो हातमा भएको सीप नै यही हस्तकलाका सामान बनाउने हो,’ उनले भने, ‘पहिले मानिसले बुझ्दैनथे, अहिले सबैको रोजाइमा पर्छ।’

उनले २०५७ सालमा घरेलु कार्यालय, धादिङबाट तीन महिने तालिम लिएका थिए। त्यही तालिम नै उनको मार्गदर्शन बन्न पुग्यो, आम्दानी स्रोत बन्यो भने पहिचान पनि। तालिम पश्चातको ६ वर्ष काठमाडौँका विभिन्न ठाउँमा हस्तकलाका सामान बनाए। त्यतिबेला मानिसको रोजाइ प्लास्टिकका सामानमा भएका कारण त्यति धेरै हस्तकला रुचाइँदैनथ्यो।
‘मेहनतको फल मिठो हुन्छ’ भनेझैँ उनले मेहनत गर्न भने छाडेनन्। र, सफलता कमाउँदै गए।

कुनै पनि निर्जिव वस्तु आफैंमा पूर्ण आकृति हुँदैन। त्यसमा विभिन्न सीप सिकेका व्यक्तिको श्रम, सीप र समय खर्च भएपछि त्यसले पूर्णता पाउँछ। त्यही आकृति कोर्ने काम उनले हरेक दिन गर्छन्। हस्तकलाका सामान बनाउन आवश्यक सल्लाको गोटा, जरा सिद्धलेकको आदामारा, कुम्पुरका जंगलबाट ल्याउने गर्छन्। यसबाट चरा, सिंह, जरायो लगायतका आकर्षक सामग्री बनाउने गर्छन्।

बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, मलेखुका सुरेन्द्रप्रसाद त्रिपाठी हस्तकलाका सामान बेचेर मासिक ४० हजार कमाई गर्छन्।
५ दिनमा ३० वटा हस्तकलाका सामग्री बनाउने गरेको उनी बताउँछन्। उनी हस्तकलाका सामग्रीलाई ७ सयदेखि ४ हजारसम्ममा बिक्री गर्छन्। पहिले–पहिले आफैले बेच्थें। अहिले व्यापारी आफै लिन आउँछन्। उनले बनाएका सामग्री काठमाडौं, नवलपरासी, चितवन लगायतका बजारमा पुग्ने गर्छन्। मेला, महोत्सवमा पनि उनले प्रदर्शन गर्न/बेच्न राख्ने गर्छन्। उपहारका लागि पनि अर्डर आउने गरेको उनले बताए।

उनी २०६३ सालमा रोजगारीका लागि कतार पनि गएका थिए। कतारमा दुई वर्ष काम गरिसकेपछि फर्किए। स्वदेश फर्केर फेरि हस्तकलाका सामान बनाउन थाले। ‘आफूसँग सीप र जाँगर छ भने स्वदेशमा नै राम्रो कमाई हुन्छ, विदेश गइरहनु पर्दैन,’ उनले भने, ‘अरुलाई पनि सिकाउनका लागि तयारी गरिरहेको छु।’

नेपालका ७२ जिल्लामा बाँस पाइन्छ। सदुपयोग गर्न नसकेर त्यतिकै खेर गइरहेको छ। बाँसको महत्व बुझेर सरकारले यसमा संलग्नलाई आर्थिक, सीपसम्बन्धी र बजारको लागि सहयोग गर्ने हो भने नेपाली हस्तकलाको भविष्य राम्रो भएको उनले बताए। विदेशमा सिकेको सीपलाई स्वदेशमै गुणस्तरीय र नयाँ–नयाँ डिजाइन गर्न सके सजिलै बिक्री गर्न सकिने उनको अनुभव छ। यसले मुलुकको व्यापार घाटा घटाउन पनि मद्दत पुग्छ।

नेपाललाई विश्वमा चिनाउनेमध्ये हस्तकलाबाट निर्मित सरसामान हो। छोटो समयमा धेरै आम्दानी गर्न सकिने व्यावसायिक क्षेत्र भएकाले पछिल्लो समय यसको माग पनि बढेको छ। घर, कोठा सजावटका लागि पनि हस्तकलाका सामान आकर्षकको रूपमा देखिन्छ। मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलालाई विकसित गरी प्रविधिको प्रयोग गर्न सके रोजगारी वृद्धि र निर्यात वृद्धि हुँदै जाने उनको भनाई छ।

हस्तकला व्यवसायका लागि चाहिने कच्चा पद्धार्थको सहजताले गर्दा समग्रमा नेपालमा हस्तकलाको भविष्य राम्रो रहेको सम्बद्ध व्यवसायी बताउँछन्। पछिल्ला दिनमा यसमा मानिसहरुको आर्कषण पनि बढेको छ। अधिकांशले आफै उद्योग संचालन गरेका छन् भने केही उद्योगीले लगानी गरेर रोजगारी समेत दिएका छन्। हस्तकलाका सामानको स्वदेशी तथा विदेशी बजारमा माग बढ्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *