मनोरंजन

छ माया छपक्कै : पानी र प्रेम राजनीति

काठमाडौं : ‘पहिले पानी अनि मात्रै नानी,’ चलचित्र ‘छ माया छपक्कै’ मा बारम्बार सुनिने संवाद हो यो। यही संवादले पनि प्रस्ट पार्छ, चलचित्रको मूलकथा पानीसँगै जोडिएको छ।

देशका अधिकांश सहर र गाउँघरहरू पानीकै राजनीतिले चलायमान छन्। काठमाडौंमा पनि मेलम्ची आउने भनेको दशकौं भइसक्यो। मेलम्चीकै बहानामा दर्जनौं ठेकेदारले मनग्गे सम्पत्ति कमाए। तर काठमाडौंवासी रित्ता भाडा र जारको पानीमै बाँच्न विवश छन्। काठमाडौंमा मेलम्ची ल्याउँछौं भन्ने दर्जनौं नेताको वाचा चुनावी नारामैै सीमित रह्यो।

यस्तै पानीसँगैको राजनीतिमा प्रेम घुसाइएको एउटा पूर्ण चलचित्र हो ‘छ माया छपक्कै’। चलचित्र कञ्चनपुरको घडेरी गाउँबाट सुरु हुन्छ, जहाँका महिलाहरू झिसेमिसेमै उठेर चार घण्टा हिँडेर पानी बोक्न विवश छन्। स्कुल जाने बच्चाहरू स्कुलबाट फर्कंदा पानीको गाग्री बोकेर आउन बाध्य छन्। पानीको गाग्री बोकेर लड्दा कैयौं दिदीबहिनीले ज्यान पनि गुमाएका छन्।

यही गाउँको एक क्रान्तिकारी नेताको छोरा हो, बीपी पौडेल अर्थात् दीपकराज गिरी। उसको ४२ वर्षको भइसक्यो तर बिहे भएको छैन। राजनैतिक सिद्धान्तमा आस्था र विश्वास राख्ने एक नैतिकवान् नेता हुन् कमरेड प्रकाश। प्रकाश घिमिरेको छोरा बीपीमा पनि बुवाकै राजनैतिक छाप परेको छ। ऊ बुवाकै पदचाप पछ्याउँदै हिँड्छ। चुनावको बेला बुवाले टिकट पाएपछि बुवालाई चुनाव जिताउने र गाउँमा पानी ल्याउने महŒवाकांक्षी सपना बोकेर हिँड्छ। बीपीको आमाको भूमिका रमा थपलियाले निभाएकी छिन्। छोराले बुहारी ल्याउला र पानी बोक्न सहज होला भन्ने आशमा छन् उनी। उता प्रकाश भने गाउँका युवाहरूलाई माया, प्रेम र विवाहभन्दा राजनीतिमा लाग्न प्रेरित गर्छन्।

घडेरी गाउँमा २०४५ सालमा ठूलो भूकम्प जान्छ। भौतिक संरचनासँगै गाउँमा खानेपानीको मुहान पनि सुक्छ। त्यसैले, त्यहाँका युवाहरूलाई कसैले छोरी दिन मान्दैनन्। सबैले नर्कको रूपमा तुलना गर्छन्। यही मारमा परेको छ प्रवीण अर्थात जितु नेपालको प्रेम। उसले टोड्के गाउँको पूजा अर्थात् सुपुष्पा भट्टसँग प्रेम गर्छ।

पूजाका बाबुले पानी नभएको गाउँमा छोरी दिन्न भनेपछि उनीहरूको प्रेमले पूर्णविराम लिन्छ। पूजा अर्कोसँग विवाह गरी अमेरिका पुग्छे भने प्रवीण पूजाकै यादमा देवदास बन्छ। उता टोड्के गाउँका अध्यक्षको छोरी जल अर्थात् केकी अधिकारीसँग बीपीको प्रेम बस्छ। उनीहरूको प्रेममा पनि उही पानीको समस्या मुख्य अवरोध बन्छ। फरक राजनैतिक विचारधाराका बीपी र जलका परिवारले उनीहरूको सम्बन्ध स्विकार्दैनन्। बरु चुनाव जित्ने हतियारका रूपमा सम्बन्धलाई प्रयोग गर्न चाहन्छन्।

चुनावको बेला निर्णायक भोटका रूपमा घडेरी गाउँको मतलाई लिइन्छ। पानी ल्याइदिने आश्वासन दिँदै अनेकौं नेताले चुनाव जित्छन्। तर पानी आइपुग्दैन। कर्मचारीतन्त्रको भ्रष्टाचार र ढिलासुस्तीलाई पनि चलचित्रले समेटेको छ। कर्मचारीले नेता र मन्त्रीका आदेश कसरी बेवास्ता गर्छन् भन्ने प्रस्ट पारिएको छ।

बीपी र जलको प्रेममा अनेक उतारचढाव आउछ। ती दुवैको अग्रसरता र युवाहरूको सक्रियतामा चुनावको बेला ‘नो भोट’को आन्दोलन चल्छ। यो आन्दोलनले चुनाव बिथोलिन्छ। सबै नेताहरू घडेरी गाउँमा पानी ल्याउन लिखित सहमतिमा जुट्छन्। चुनावलगत्तै गाउँमा पानी पनि आउँछ। बीपी र जलको विवाहसँगै फिल्म सकिन्छ।

‘छ माया छपक्कै’ फिल्म गत शुक्रबारदेखि देशभर प्रदर्शनमा छ। सबै हलहरूमा हाउसफुल यो चलचित्रले दर्शकको मन जितेको छ। छक्का पञ्जा सिरिज फिल्म बनाएर व्यावसायिक सफलता कमाएको दीपकराज गिरी र दीपा श्री निरौलाको टिमले चलचित्र तयार गरेको हो। हास्यव्यंग्य फिल्मबाट चर्चा कमाएको टिमले यो फिल्मबाट सामाजिक र राजनैतिक कथालाई समेटेका छन्। दीपेन्द्र लामाले निर्देशकीय दायित्व पूरा गरेका छन्।

‘छक्का पञ्जा’ सिरिजका फिल्मले दर्शक तान्न सके पनि कमजोर कथाको आरोप झेल्दै आएको थियो। दर्शक हँसाउनकै लागि उखान टुक्काको प्रयोग र हलुका संवादको आरोप सुनिँदै आएको थियो। तर दीपक–दीपाको टिम आफ्नो चौथो फिल्मसम्म आइपुग्दा परिष्कृत देखिन्छ। पात्र चयन, संवाद, दृश्यहरूमा मेहनत देखिन्छ। गीतसंगीतले मनोरञ्जन प्रदान गर्छ। फिल्मले गहन समस्या सहज ढंगले उठान गरेको छ। घडेरी गाउँको समस्यामार्फत देशका प्रायः गाउँसहरको समग्र समस्यालाई चलचित्रले समेटेको छ।

फिल्ममा प्रवीण र पूजाको प्रेमको वियोगान्त दृश्य पनि छन्। बीपी र जलको रोमान्टिक किस्सा पनि उनिएको छ। राजनीतिक दाउपेचमा क्रान्तिकारी योद्धाको नैराश्यताले पनि स्थान पाएको छ। सामाजिक आन्दोलनको शक्तिलाई पनि समेटिएको छ। यसर्थ सवा दुई घण्टाको यो फिल्मले दर्शक बाँधिराख्छ।

चलचित्रका दुर्बल पक्ष पनि छन्। चलचित्रमा राजनीतिलाई नकारात्मक तरिकाले प्रस्तुत गर्दै नेतृत्वलाई गलत व्यक्तित्वको रूपमा चित्रण गरिएको छ। बीपीको काकाको रूपमा आएको पात्रलाई सुरुआतदेखि नै जँड्याहाको रूपमा देखाइएको छ। उसले श्रीमतीसँग बोलेका संवाद सहज लाग्दैन। सुरुआतदेखि नै बीपीको समूहमा आबद्ध भएका युवाहरू अन्तिमसम्म ऊसँगै सक्रिय देखिन्छन्। व्यावहारिक रूपमा यो काल्पनिक लाग्छ।

समग्रमा फिल्म सललल बगेको छ। सिरियस विषयमा पनि दर्शकलाई पेट मिचिमिची हँसाउन सक्नु फिल्मको सफलता हो। परिवारैसँगै बसेर हेर्न सकिने चलचित्रमा भद्दा दृश्य र संवादले स्थान पाएको छैन। सफल पारिवारिक फिल्मको रूपमा यो चलचित्रले स्थान लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *