प्रमुख समाचार

स्वदेश फर्कन हतारमा थिएनन् निनियाँ राष्ट्रपति सी

काठमाडौंः नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् ।

बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो, उनलाई कुनै हतारो थिएन र उनी सबैसँग संवाद गर्न चाहन्थे ।

अति विशिष्ट कक्षबाहिर निस्कनेबित्तिकै उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सलाम गरेका थिए । लगत्तै सीले थापासँग कुराकानी गरे । साथमा रहेकी राष्ट्रपति भण्डारी मुस्कुराइन् । स्कुलका बालबालिकाले गरेको बिदाइलाई चासो दिँदै सीले रोकिएर आफ्नो प्रतिक्रिया दिए । बालकालिकाले चिनियाँ भाषामा भनेका थिए, ‘धन्यवाद, बाईबाई’ ।

सीले पनि आफ्नो हात उठाउँदै बाईबाईको संकेत गरे । त्यसपछि सीले नेपाल प्रहरीले देखाएको विभिन्न वेशभूषा, भाषा झल्कने सांस्कृतिक नाच अवलोकन गरे । नाचबारे चाख राख्दै सीले राष्ट्रपति भण्डारीसँग जानकारी लिए । सीले अघि बढ्ने क्रममा संवैधानिक निकायका पदाधिकारीहरू,सचिव, सुरक्षा निकायका प्रमुख, मन्त्रीगण, प्रतिनिधिसभाकी उपसभामुखलगायतसँग बिदाइ लिए । बिदाइका क्रममा सीलाई नेपाली सेनाको टुकडीले सम्मानगारत (गार्ड अफ अनर) र २१ तोपको सलामी दिएको थियो ।

त्यसपछि सेनाका उपरथीहरू, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनासँग बिदाइ संवाद गर्दै सी आफ्नो विमानतर्फ लागेका थिए । राष्ट्रपति भण्डारीले उनलाई विमानसम्मै पुगेर बिदाइ गरेकी थिइन् । जाने क्रममा सीले पटक–पटक आफ्नो हात उठाउँदै बाई–बाई गरेका थिए ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिलाई बिदाइ गरेपछि फर्केका प्रधानमन्त्री ओली निकै प्रफुल्ल मुद्रामा देखिन्थे ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री पोखरेलसँगै अति विशिष्ट कक्षमा फर्कंदै गर्दा ओली ठाउँ–ठाउँमा रोकिँदै दुवैसँग कुरा गरिरहेका देखिन्थे । ओलीले सीको बिदाइमा प्रस्तुत प्रहरी नाच टोलीको प्रदर्शन हेर्ने इच्छा व्यक्त गरेपछि उक्त टोलीले फेरि नाच देखाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *