मनोरंजन

र, मैले आमालाई जितेँ

१२ वैशाख ०७२ को भूकम्पपछि धेरै फाउन्डेसन जन्मिए । त्यस्तै फाउन्डेसन खडा गर्ने मेरो सोच थिएन । चौतारा साँगाचोकगढी नगरपालिका–१० को भीमटारस्थित माझी बस्तीमा पहिलोपटक पुग्दा घरमा लगाइएका जस्तापातामा प्वालैप्वाल थिए, वर्षाको पानी घरभित्र चुहिन्थ्यो । मुसाले खनेर भुइँ पनि धुजाधुजा थियो । त्यो दृश्यले मलाई आफूले कमाएको केही पैसा सहयोग गरी बस्ती बसाउने निर्णयमा पु-यायो । दोलालघाटबाट १० किलोमिटर टाढा पर्ने यो ठाउँ टेलिशृंखला ‘अविरल बग्दछ इन्द्रावती’को सुटिङस्थल पनि हो ।

म श्वेता खड्का अफिस र परिवारमा सीमित थिएँ । अहिलेको मेरो नाम श्रीमान् श्रीकृष्ण श्रेष्ठले बनाइदिनुभएको हो । र, फिल्म ‘कहाँ भेटिएला’ले बनाइदिएको हो । उहाँ र म एक–अर्काकै लागि बनेका थियौँ । उहाँको निधन मेरो जीवनमा खत बनेर बसेको छ । यो मेरो जीवनको ट्याटु हो, जो म मर्दा मात्र जान्छ । श्वेताश्री फाउन्डेसन खडा गरेपछि मैले ठूलो चुनौती सामना गर्नुप-यो । मैले जसबाट सहयोगको अपेक्षा गरेकी थिएँ, पाइनँ । जसबाट अपेक्षा नै थिएन, उहाँहरूको ठूलो साथ पाएँ । श्वेताश्री फाउन्डेसन उहाँहरूकै हौसलाको परिणाम हो । यो नामसँग मेरो आफ्नै किसिमको मोह छ ।

म माझी बस्तीसँग मात्र नभई त्यहाँका बासिन्दाको मनसँग जोडिएकी छु । कुनै विदेशी दाताको पैसाबाट चल्ने गैरसरकारी संस्थाले त्यो बस्ती बसाउँथ्यो भने मनसँग जोडिन मुस्किल हुन्थ्यो होला ।

माझी बस्ती निर्माणलाई निरन्तरता दिएकी छु । फिल्म ‘कान्छी’को अन्तर्राष्ट्रिय च्यारिटीबाट प्राप्त आम्दानी पनि फाउन्डेसनलाई दिएकी छु । विदेशका कार्यक्रमबाट प्राप्त हुने सबै पैसा फाउन्डेसनमै जान्छ । त्यसो भन्दैमा धेरै महत्वाकांक्षी बन्ने मेरो सपना छैन । त्यसो हुँदो हो त कुनै विदेशी संस्थासँग सहकार्य गरेर काम अगाडि बढाउँथेँ होला । त्यसो गरेको भए ६ महिनामै काम पनि सकिन्थ्यो । माझी बस्ती निर्माण परियोजना दुःखले अगाडि बढेको हो । त्यहाँ माझी समुदायकै पसिना छ ।

मलाई यो बस्ती हरेक सुविधाले भरिपूर्ण होस् भन्ने छ । माझी बस्तीका बासिन्दाले भूकम्पको पीडा बिर्सिऊन् भन्ने चाहन्छु । म माझी बस्तीसँग मात्र नभई त्यहाँका बासिन्दाको मनसँग जोडिएकी छु । कुनै विदेशी दाताको पैसाबाट चल्ने गैरसरकारी संस्थाले त्यो बस्ती बसाउँथ्यो भने मनसँग जोडिन मुस्किल हुन्थ्यो होला । म त्यहाँका बासिन्दाको मनसँग जोडिएकैले होला, कोही बिरामी पर्दा पनि मलाई नै सम्झिनुहुन्छ । मैले उहाँहरूबाट एकदमै धेरै माया पाएकी छु ।

मैले माझी बस्ती निर्माणको योजना सुनाउँदा आमाले ‘तुरुन्तै निर्णय नलेऊ, गाह्रो हुन्छ’ भन्नुभएको थियो । अरूले पनि त्यो सहज निर्णय नभएको बताएका थिए । तर, मैले आमालाई सम्झाएँ र उहाँलाई पनि जितेँ ।

केही दिनअघि बस्तीमा पुगेकी थिएँ । कार्यक्रम सकिने वेलामा एक बच्चाले साथीलाई भने, ‘पख न, म्यामले चकलेट दिनुहुन्छ ।’ उनीहरूले त्यत्रो लामो समय चकलेट कुरेका रहेछन् । त्यो कुराले एकदमै भावुक बनायो । बस्तीमा जाँदा प्रायः चकलेट बोकेकी हुन्छु । यसपटक भने कार्यक्रमको अन्त्यमा मात्र चकलेट बाँडेँ । चकलेट दिएपछि ती बच्चाले भने, ‘म्याम, बस्ती बसिसकेपछि पनि आउनुस् है ।’

चाहना भएपछि हरेक कुरा सम्भव हुँदोरहेछ । मैले माझी बस्ती निर्माणको योजना सुनाउँदा आमाले ‘तुरुन्तै निर्णय नलेऊ, गाह्रो हुन्छ’ भन्नुभएको थियो । अरूले पनि त्यो सहज निर्णय नभएको बताएका थिए । तर, मैले आमालाई सम्झाएँ र उहाँलाई पनि जितेँ । आमाले मलाई त्यसक्रममा आइपर्ने चुनौतीबारे बुझाउन खोज्नुभएको थियो । हुन पनि पहिलोपटक त्यहाँ पुग्दा यस्तो ठाउँमा कसरी मानिस बस्न सक्छन् भन्ने लागेको थियो । त्यही पिरलोले मलाई बस्ती निर्माणमा अगाडि बढ्न प्रेरणा दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *