प्रमुख समाचार

नेपालबाटै जिनपिङकाे चेतावनी : चीन विभाजन गर्न खाेज्ने प्रयास ‘भाँचिएका हड्डीहरू’मा टुङ्गिनेछ

बिबिसी । चीनका राष्ट्रपति सी जिन्पिङले चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन् । हङ्‍कङमा केही समययता जारी विरोध प्रदर्शनलाई सङ्केत गर्दै उनले यस्ताे चेतावनी दिएकाे त्यहाँकाे सरकारी टेलिभिजन सीसीटीभीले जनाएकाे छ ।

नेपालको २ दिने राजकीय भ्रमणमा रहेकै बेला आइतवार सीले उक्त प्रतिक्रिया व्यक्त गरेकाे सञ्चार माध्यमहरूले जनाएका छन् । उनले चीन विभाजन गर्ने खोज्ने प्रयास ‘किचिएका शरीर र भाँचिएका हड्डीहरू’ मा टुङ्गिने चेतावनी दिएका हुन् ।

आइतवार सी नेपालमा रहँदा हङ्‌कङमा पछिल्लाे झडप भएकाे छ । त्यहाँ शान्तिपूर्ण र्‍यालीहरू निकालिएकाे थियाे तर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भए । स्थिति उग्र बनेपछि आइतवार दिउँसोसम्म हङ्‌कङ मेट्रो रेल सेवाका कम्तीमा २७ वटा स्टेशनहरू बन्द गरिएकाे जनाइएकाे छ ।

चिनियाँ सरकारको पक्षमा भएको भन्ठानिएका सार्वजनिक यातायातका स्टेशन र पसलहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरी क्षति पुर्‍याएका छन् । स्थिति नियन्त्रणमा लिन त्यहाँकाे प्रहरीले प्रदर्शनकारीप्रति नरम बल प्रयोग गरिएको बताएको छ ।

केही समययता हङकङकाे प्रदर्शन उग्र बन्दै गएकाे छ । केही समयअघि त्यहाँ प्रस्तुत गरेकाे एउटा विधेयकमा मुख्यभूमि चीन, ताइवान र मकाऊबाट आपराधिक सुपुर्दगीको अनुरोध आएमा हङ्‌कङ अदालतले प्रत्येक मुद्दाका आधारमा गरेको निर्णयमा टेकेर सुपर्दगी गर्न सकिने व्यवस्था राखिएको थियो ।

चीन सरकारले राजनीतिक विपक्षीहरूलाई तारो बनाउन सो विधेयकका आधारमा बन्ने कानुनको दुरुपयोग हुने त्रासका कारण हङ्‌कङमा त्यसको विरोध भएको थियो । ठूलो विरोध भएपछि सो विधेयक फिर्ता भयो । तर हङ्‌कङमा पूर्ण प्रजातन्त्र र ‘प्रहरी बर्बरता’को अनुसन्धानको मागसहित विरोधप्रदर्शन जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *