आर्थिक

सरकार भन्छ, बर्जर टेर्दैन

काठमाडौं : सरकारले राजपत्रमै सूचना निकालेर मापदण्ड तोकेको छ– ‘नेपालमा आयात एवं उत्पादन हुने रंगहरूमा लिडको अधिकतम मात्रा ९० पीपीएम वा ९० एमजी/एल हुनुपर्ने, बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देशसमेत उल्लेख गर्नुपर्ने (हेर्नुहोस्, राजपत्रको सूचना)।

‘सम्पूर्ण मापदण्ड पूरा गरेको’ दाबी गर्ने बर्जर पेन्ट्सले बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश लेख्ने गरेको छैन। ‘९० पीपीएमभन्दा कम लिड भएको भए मात्रा खुलाएर बट्टामा किन नलेखेको ? ’, गुणस्तर तथा नापतौल विभागका एक वरिष्ठ अधिकारी भन्छन्, ‘परीक्षण गर्दा झुटो सावित हुने भएकाले नलेखिएको प्रस्टै छ।’

यसमा सरकारी निकायको भूमिकासमेत शंकास्पद पाइएको छ। लिडको मात्रा नलेखिएको मात्र होइन, कति छ भनेर सरकारी निकायले निक्र्योल गरी कारबाही गर्न सकेका छैनन्। वातावरण विभागका प्रवक्ता इन्द्रविक्रम जोशीले प्रयोगशाला नभएकाले लिडको परीक्षण हुन नसकेको स्वीकार गरे। ‘उपकरण थन्किएको छ, प्रयोगशाला नै छैन’, उनले भने, ‘त्यही भएर लिडको परीक्षण हुन सकेको छैन। यो वर्ष प्रयोगशाला बनाउन बजेट छुट्याइएको छ। अनुगमन पनि गरिनेछ।’

बर्जरले भने आफ्नै विज्ञप्तिमा लिडबाहेक अन्य घातक रसायन प्रयोगबारे पनि स्विकारोक्ति जनाएको छ। उसको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा भोलाटाइल अग्र्यानिक कम्पाउन्ड (भीओसी) को कुनै मापदण्ड नरहे तापनि हाम्रा अधिकतम ब्रान्डहरू लो (कम) भीओसी मापदण्डभित्र रही उत्पादन भएका छन्।’

भीओसी अत्यधिक घातक वायु–प्रदूषक रसायन हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई प्रमुख ‘इन्डोर’ (घरभित्रको) प्रदूषक भनेको छ। बेल्जियमको ब्रसेल्समा सन् १९९५ अक्टोबर २ देखि ६ सम्म डब्लूएचओको संयुक्त कार्यसमूहले भीओसीबारे मापदण्ड बनाएको थियो। २५ वर्षअघि नै उक्त टोलीले भनेको थियो, ‘भीओसी घातक हो, उपयोग नगरौं।’

नेपालले मापदण्ड बनाएको छैन भन्दैमा बर्जरले कम भीओसी प्रयोग गरिरहेको खुलेरै सुनाएको छ। खासमा भीओसी शून्य हुनुपर्ने हो। किनकि, यो मानव स्वास्थ्य र वातावरणीय दुवै हिसाबले घातक पाइएको छ। भीओसी पेन्ट्समा प्रयोग हुने रसायन हुन्, जुन भित्तामा लगाएको रंगबाट बिस्तारै उडेर हावामा मिसिन्छन्। र, कोठाको वातावरण दूषित मात्र होइन, घातक बनाउँछन्। यसको जोखिम पक्ष यो छ कि– यस्ता रसायन रंगाएको वर्षौंसम्म उडिरहन्छन्। जोखिम रंग नफेरुञ्जेल रहिरहन्छ।

विभागका प्रवक्ता जोशीले भीओसी हानिकारक भएको बताए। ‘भीओसीको मापदण्ड नभएकैले मनपरी बढेको हो’, उनले भने, ‘यसले रंग लगाउने कामदारलाई पनि असर पार्छ।’ उनले भीओसीको मापदण्ड मन्त्रालयबाटै बन्नुपर्ने धारणा राखे।

अमेरिकी सरकारको ‘इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सी’का अनुसार धेरै कारणले भीओसी घातक छ। यो बेन्जाइन, मेथिलिन क्लोराइड, बुटाडाइन, डाइक्लोरोमेथान, पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन, स्टिरिन, टेट्राक्लोरोइथिलिनलगायत रसायनको समष्टिगत रूप हो। यो क्यान्सरको एक मुख्य स्रोत हो। हिउनोक चोईलगायत वैज्ञानिकले अनुसन्धान गरी सन् २०१० अक्टोबर १८ मा पीएलओएस जर्नलमा प्रकाशन गरेको शोध–सामग्रीका अनुसार टाउको दुख्ने, दम बढ्ने, जीउ चिलाउनेजस्ता रोगको जड पनि भीओसी हो।

धेरै देशले ‘लो भीओसी’ होइन, ‘नो भीओसी’ कानुन बनाएका छन्। बर्जरले नेपाली उपभोक्तालाई भीओसीका घातक रसायनसहितको रंग उपयोग गराइरहेको उसैले देखाएको छ।

अन्नपूर्ण पोस्ट्ले असोज १४ मा ‘बर्जर पेन्ट्समा घातक रसायन’ उजागर गरेपछि बर्जर जेन्सन एन्ड निकोल्सन नेपाल प्रालिले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको थियो। त्यसमा उसले आफ्ना उत्पादनहरूको प्रयोगले मानव स्वास्थ्यमा कुनै असर नगर्ने जिकिर गरेको थियो।

भारतको विज्ञान तथा वातावरण केन्द्रले गरेको अध्ययनमा बर्जर पेन्ट्समा १ लाख ६२ हजार ५ सय ५९ पीपीएम लिडको मात्रा पाइएको थियो। नेपालमा जनसंख्या तथा वातावरण प्रवद्र्धन केन्द्रले पनि यससम्बन्धी अध्ययन गरेको थियो। त्यसमा बर्जरको नमुनामा ९९ गुणा बढी अर्थात् ८ हजार ९ सय १९ पीपीएम लिडको मात्रा पाइएको थियो। त्यसयता यसबारे अध्ययन भएको छैन। सरकारले बनाएको मापदण्ड सरकारी निकायले कार्यान्वयन÷अनुगमन गरेका छैनन्।

नेपाल गुणस्तर तथा नाप तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बहुराष्ट्रिय कम्पनीले मापदण्डकै नाममा बेइमानी गरिरहेको उक्त समाचारमा बताएका थिए।

उपभोक्ता रुष्ट

अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशनपछि बर्जर पेन्ट्सले आफ्नो फेसबुक पेजमा पनि ‘खण्ड विज्ञप्ति’ राखेको थियो। त्यसको कमेन्टमा उपभोक्ताले उसको दाबीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनीहरूले गुणस्तरहीन रंग बेचिरहेको आरोपसमेत लगाएका छन्।

‘मैले चार लाखको बर्जर पेन्ट्स लगाएँ, यो अति न्यून गुणस्तरको रहेछ’, काठमाडौंका भिएन उपाध्यायले भनेका छन्। धादिङका रामजीप्रसाद सिलवालले बर्जरले ग्राहकलाई ठगेको उल्लेख गरेका छन्। ‘लक्की ड्र भन्छ, अनि ग्राहकलाई उपहार परेको पनि जानकारी गराउँदैन। १०० वर्गफिट कलर पनि गरिदिँदैन’, उनले लेखेका छन्। सामाजिक सञ्जालमा आएका गुनासा बर्जरले तत्काल हटाउने गरेको छ।

गठ्ठाघर निवासी निरञ्जन केसीले आफ्नो घरमा ‘रोयल पेन्ट्स’ गरिदिन्छु भनेर बैठक कोठाको भित्तामा बेस कलर मात्र लगाएर अलपत्र छोडिदिएको बताए। रोयल पेन्ट्स भनेको घरभरि रंग लगाउँदा कम्पनीले दिने सुविधा हो। बर्जरका डिलरले ठेक्का लिएका थिए। उनले घरको कम्पाउन्डसमेत रंग नै नलगाई अपुरै छाडिदिएका छन्। ‘बैठक कोठा कति न राम्रो बनाउँछु भनेर सपना देखेको थिएँ’, उनले भने, ‘भित्तामा अमिल्दा रंग देख्दा कोठामै छिर्दा विरक्त लाग्छ।’ तीनकुनेस्थित बर्जरको केन्द्रीय कार्यालयमै गुनासो गर्दा बेवास्ता गरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *