प्रमुख समाचार

सी भ्रमणबारे नेकपा विदेश विभागको यस्ताे छ समीक्षा

काठमाडौं । नेकपाको विदेश विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपालप्रति अन्तर्राष्ट्रिय सरोकार र चासो बढेको निष्कर्ष निकालेको छ । विभागको मंगलबार बसेको बैठकले सीको भ्रमणका कारण अमेरिका र भारतजस्ता देशहरूको नेपालप्रति रुचि बढ्नुलाई सकारात्मक भनेको छ ।

विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार शक्ति राष्ट्रहरूले देखाएको चासोलाई उपयोग गर्ने अवसर आएको र यसबाट मुलुकमा वैदेशिक लगानी बढाउने वातावरण तयार भएको निचोड पनि विभागको छ । ‘हामीले हाम्रो अन्तर्राष्ट्रिय छवि बनायौँ,’ उनले कान्तिपुरसँग भने, राज्यको व्यवस्थापकीय क्षमता बढेको महसुस पनि सी भ्रमणले गराएको छ । सीको भ्रमण कुनै बाधाबिना सम्पन्न हुनु राज्य परिपक्व भयो भन्ने पुष्टि हो ।’

दुई मुलुकबीच भएका समझदारी/सम्झौताले नेपालमा विकासको ढोका खोलेको र यसलाई नेपालले जतिसक्दो धेरै उपयोग गर्नुपर्ने निचोड पनि नेकपा विदेश विभागको छ । आपसमा भएका समझदारी/सम्झौतालाई कार्यान्वयन गर्न दुवै मुलुकले प्राविधिक बैठकहरू सुरु गर्नुपर्ने रिजालले बताए ।

सी भ्रमणको समीक्षा गर्न नेकपा सचिवालयको बैठक बुधबार बिहान बस्दै छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय सदस्यहरूको अनौपचारिक छलफलले समीक्षा बैठकको समय तय गरेको हो । ‘हामीले चीनका राष्ट्रपति सीको नेपाल भ्रमण अत्यन्त सफल भएको निष्कर्ष निकालेका छौँ, औपचारिक छलफलका लागि बुधबार बिहान बैठक बस्दै छ,’ नेकपा वरिष्ठ नेता झलनाथ खनालले भने । उनले बैठकले पार्टी एकीकरणको बाँकी काम पनि टुंगो लगाउने सम्भावना रहेको जानकारी दिए । (कान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *