प्रमुख समाचार

महरालाई मन परेन मानमनितोः पानी माग्दा भने- अभियुक्तलाई के काे गिलास नि बाेतलबाटै पिउँछु

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडाैंमा उपस्थित गराइँदा केही हास्य दृश्य देखिएको थियो । मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पुर्याइएका महराको बयानपछि म्याद थप गर्न न्यायाधीश दीपककुमार दाहालको इजलास तोकिएको थियो ।

इजलास अधिकृतले म्याद थपसम्बन्धी फाइल न्यायाधीश दाहालको च्याम्बरमा पुर्याएका थिए । बयानपछि पूर्वसभामुख महरालाई इजलासनजिकै रहेको स्रेस्तेदारको कोठामा केहीबेर राखिएको थियो । स्रेस्तेदारको कोठामा पुगेका महराले जिल्ला अदालतमा लागेको भीड देखेर अचम्म मानेका थिए ।

उनले सँगै रहेका आफ्ना सहयोगी, कानुन व्यवसायी, सरकारी वकिल र सुरक्षाकर्मीलाई प्रश्न गरेका थिए– ‘हैन यहाँ दैनिक यति धेरै मानिस मुद्दाका लागि नै आएका हुन् त ?’ उनीसँग नजिकै रहेकाहरूले यहाँ दैनिक हजारौंको संख्यामा मुद्दा मामिलाका लागि नै आउने गरेको जानकारी गराएका थिए ।

आदेश आउन समय लागेपछि उनीसगै रहेका सरकारी कर्मचारीले चिया खाने सर भनेर उनलाई सोध्दा उनले आफूले कहिल्यै चिया पिउने नगरेको जानकारी गराउँदै ‘बरु पानी छ भने खाऊँन’ भनेर आग्रह गरेका थिए । कार्यालय सहयोगीले तुरुन्तै महराका लागि बोतलमा पानी ल्याएका थिए ।

ती कार्यालय सहयोगीलाई नजिकै रहेका एक अधिकृतले गिलास ल्याउन आग्रह गर्नासाथ महराले ती अधिकृतलाई भने–‘अभियुक्तले पनि के गिलासमा पानी खानु ?’ उनले ‘पर्दैन बोतलबाटै खान्छु’ भनेर बोतलबाटै पानी खाएका थिए ।

उनले पानी पिएको केही क्षणमा नै अदालतले ३ दिन म्याद थप गरेको पत्र थमाएपछि उनी नर्भिक अस्पतालतर्फ प्रस्थान गरेका थिए । मंगलबारको म्याद थपका लागि महराको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसहित ४ जना र सरकारको तर्फबाट एक जना सरकारी वकिलले बहस गरेका थिए । (नेपाल समाचारपत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *